विराटनगर । व्यावसायिक पत्रकारिताका धरोहर अग्रज पत्रकार एवम् विराटनगर प्रेस क्लबका संस्थापक अध्यक्ष जीवेश्वर लाखे र पत्रकार सुरेश निरौलाको निधनको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्दै शोकसभा गरिएको छ ।

नेपाल पत्रकार महासंघ मोरङ शाखाले शनिबार विराटनगरमा पत्रकारद्धोय लाखे र निरौलाको निधनमा शोक सभाको आयोजना गरेको हो । शोकसभा कार्यक्रममा पूर्व पत्रकार जनार्दन निरौलाले व्यवसायिक पत्रकारिताको विकास र लोकतन्त्र ल्याउनमा पत्रकार लाखेको अतुलनीय योगदान रहेको बताए । पत्रकार लाखेले पञ्चायत अन्त्य गरि प्रजान्त्र ल्याउन पत्रकारितको माध्यमबाट अहम् भूमिका खेलको उनले बताए । ‘लाखे अहिलेको युवा पुस्ताको लागि प्रेणाको स्रोत हुन्,’ उनले भने ।

शोकसभा कार्यक्रममा प्रादेशिक संचार प्रतिष्ठान प्रदेश १ का कार्यकारी निर्देशक यज्ञ शर्मा, पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लिलाबल्लभ घिमिरे, महासंघ मोरङका पूर्वअध्यक्ष तथा अग्रज पत्रकार शिवबहादुर कार्की, अग्रज पत्रकार रामरिझन यादव, प्रध्यापक चक्रमणि खनाललगायतले नेपाली पत्रकारितालाई जीवनता प्रदान गराउन लाखेको ठूलो भूमिका रहेको बताए ।

उनीहरूले पत्रकारितामा लाखेले गरेको योगदानको चर्चा पनि गरे । कार्यक्रममा पत्रकार महासंघ मोरङका अध्यक्ष संजीव खनाल, सल्लाहकार शंकर खरेलले पत्रकारिता क्षेत्रमा अब्बल रहेका एउटा जुझारू युवा पत्रकार निरौला गुमाउँदा नेपाली पत्रकारितामा अतुलनीय क्षति व्यहोर्नु परेको बताए । पत्रकार लाखे र निरौलाको सम्झनामा सहभागी पत्रकारले मौन धारण गर्दै तस्बिरमा पुष्पगुच्छा अर्पण गरेका थिए । लाखेको असार २१ र निरौलाको असार ३० गते निधन भएको थियो ।