सांसदपुत्र रोबिन पक्राउ, सवारी ज्यान मुद्दामा म्याद थप

विराटनगर । एक जना मजदुरकोे मृत्यु र अर्का एक गम्भीर घाइते हुने गरि भएको सवारी दुर्घटनाका आरोपी रोबिन भनिने रबिन कार्की पक्राउ परेका छन् ।

आईतबार अपरान्ह विराटनगरको बरगाछीस्थित आफ्नै निवासबाट कार्की पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङ खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका कार्कीलाई प्रहरीले अहिले मोरङ अदालतमा म्याद थप गर्न लगेको मोरङ प्रहरीका एस.पी सन्तोष खडकाले बताउनुभयो । प्रहरीले दिएको जानकारी अनुसार कार्कीलाई ‘सवारी ज्यान मुद्दामा’ म्याद थप गरिने भएको छ । म्याद गरेपछि थप अनुसन्धान प्रक्रिया अघि बढाईने मोरङ प्रहरीको भनाई छ ।

बिहीबार राती साढे सात बजे सवारी ज्यान मुद्दाका आरोेपी रबिन कार्कीले प्रयोेग गर्दै आएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले पैदल यात्रीलाई ठक्कर दिदाँ ३५ वर्षीय भारतीय नागरिक मुकेश शर्माको उपचारको क्रममा मृत्यु भएको थियो । मोरङको कटहरी गाउँपालिका– २ का २७ बर्षीय राजकुमार राजवंशी भने गम्भीर घाइते भएका थिए ।

दुर्घटनामा परेको कारमा सवारहरुको बयान र प्राप्त प्रमणका आधारमा चालक कार्की नै रहेकाे देखिएकाले पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय माेरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

पैदल यात्रीको ज्यानै जाने गरी भएकाे दुर्घटनापछि रोबिन कार्की फरार थिए । प्रदेससभा सदस्य कार्कीले घटनामा आफ्नो छोरा सम्लग्न नभएको दाबी गर्दै आएकी थिइन ।

मृतकको शव बुझेर आफन्तले भारततिर लगिसकेका छन् । मृतक परिवारलाई सांसद कार्कीले भारु ५० हजार दिएर पठाएको बताइएको छ । यस्तै घाइतेको नोबेल शिक्षण अस्पतालबाट डिस्चार्ज भइसकेको छ ।

मुनालपथमा रहेको एडमायर होटलमा मदिरा सेवनपछि रविनले कार चलाएको बेला दुर्घटना भएकाे थियाे । कारमा सवार प्रत्यक्षदर्शी र प्रमाणका आधारमा पक्राउ रविन नै रहेको देखिएपछि पक्राउ गरेको प्रहरीले बताएको छ ।

दुर्घटना भएका बेला गाडीमा दुई युवती र रविनसहित तीन युवक थिए । तीव्र गतिमा हुइँकिएको कारको ठक्करबाट दुर्घटना भएर मानिसको मृत्यु हुँदा पनि चालक परिवर्तन गरेर कार्कीलाई बचाउने जोडबल भएको थियो ।

आइतबार, २३ जेठ, २०७८, साँझको ०५:२० बजे

प्रतिक्रिया

  1. यस्ता धनीवर्गका दुर्व्यसनी पुत्रहरूलाई नै लकडाउनमा दुईदुई जना ‘एस्कर्ट’ बगलमा राखेर सवारी चलाउन छुट छ । गरीबको सिटी रिक्सा रोक्छ प्रहरी । मदिरालयबाट पैसा असुल्ने प्रहरी पनि यस्को जिम्मेवार छ । सांसद विन्दिया घर सामुन्ने बसेर मासु च्यूरा बाँड्दैछिन् अचेल । पुत्रमोह त भै हाल्छ तर जस्को ज्यान गयो ती कसैका पुत्र थिएनन् ?

प्रतिक्रिया:

सम्बन्धित खवर