विराटनगर । कोरोना संक्रमणका कारण शनिबार विराटनगरमा एकैदिन दुई जनाको मृत्यु भएको छ । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचार गराइरहेका दुई जनाको मृत्यु भएको हो ।
कोभिड उपचार केन्द्रका संयोजक एपोलो भगतका अनुसार शनिबार साँझ विराटनगर महानगरपालिका १७ की ७० वर्षीया महिलाको मृत्यु भएको छ । मृतक महिला शुक्रबार कोभिड–१९ उपचार केन्द्रमा भर्ना भएकी थिइन् ।
यस्तै शनिबार विहान कोरोना भाइरस सङ्क्रमित इनरुवाका व्यापारीको विराटनगरकै कोशी कोभिड अस्पतालमा मृत्यु भएको थियो । कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत विराटनगर महानगरपालिका–६ ठेगाना उल्लेख गरिएका ४८ वर्षीय पुरुषको घर इनरुवा भएको खुलेको छ ।
रिवारिक स्रोतका अनुसार उनी सुनसरीको इनरुवामा चस्माको व्यापार गर्थे । चस्मा व्यापारी उनलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि वैशाख ३ गते भर्ना गरिएको अस्पतालका संयोजक एपोलो भगतले जानकारी दिएका छन् ।
सङ्क्रमित पुरुषको उपचारकै क्रममा विहान ७ बजेतिर मृत्यु भएको हो । श्वास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना गरिएका उनमा रुघाखोकी र ज्वरोको समस्या रहेको थियो । उनलाई मधुमेहसम्बन्धी पुरानै समस्या पनि थियो ।
केही दिनअघि इनरुवाका १५ जना बालबालिकामा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि हुनेमध्ये दुई बालबालिका मृतक पुरुषकै सन्तान रहेको बताइएको छ । छोराछोरीबाट उनलाई कोरोना सरेको हुनसक्ने आशंका गरिएको छ ।