नरेन्द्र बस्नेत
कोभिड–१९ को महाव्याधीले मानव समाज, अर्थतन्त्र, राजनीति सबै तहसनहस भएको छ । होटल, पर्यटन, यातायात र शिक्षा क्षेत्र उठ्नै नसक्ने गरी थलिएका छन् । बेरोजगारी र गरिबी बढेको छ । बाढि पहिरोले ठुलो जनधनको विनाश गर्दै वितण्डा मच्चाउदैछ । सयौंैको मृत्यु र हजारांै घरबारविहिन भएका छन् । कृषिले रोजगारी सृजना गर्नसक्ने सकारात्मक बहस हुँदैगर्दा सलहका कारण कृषि क्षेत्रमा नयाँ संकट थपिएको छ । आत्महत्या दर अत्याधिक बढेको छ । जनता रोग, भोक र शोकमा डुबेका छन् । ३७ खर्ब ६७ अर्बको सानो अर्थतन्त्र भएको मुलुक कोभिड–१९ को महाव्याधिसँगै बहुआयमिक संकटमा फसेको छ । लकडाउन खुलेसँगै जनजीवन सामान्य र अर्थतन्त्र चलायमान हुँदै गएको छ । अब नेपालमा नयाँ संविधानको मूल्य र मान्यतामा आधारित शान्ति सुशासन, विकास र समृद्धि सुनिश्चित गर्नुपर्छ । सामाजिक न्यायमा आधारित समतामुलक समाज निर्माण गर्नुपर्छ ।
राष्ट्रिय युवा नीति २०६६ मा युवा भन्नाले १६ देखि ४० वर्ष उमेर समूहका महिला, पुरुष तथा तेस्रोलिङ्गीहरुलाई जनाउने उल्लेख छ । नेपालको पछिल्लो जनगणना २०६८ अनुसार नेपालमा १६ देखि ४० वर्ष सम्मको युवाको संख्या १ करोड ६ लाख ९० हजार ८ सय ४२ रहेको छ । यो नेपालको कुल जनसंख्याको ४०.३४ प्रतिशत हो । युवा सहकारी भनेको त्यस्तो सहकारी हो, जसमा युवाहरुले आफै सहकारी संस्थाहरु बनाएर युवाहरुको पक्षमा विभिन्न कार्यहरु गर्नेछन् । विश्वमा युवा सहकारी आन्दोलनमा आफ्नै महत्व र भुमिका रहेको छ ।
युवा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तनका संवाहक शक्ति हुन् । यिनीहरु राष्ट्र निर्माणका प्रमुख स्रोत हुन् । यिनीहरुमा सिक्ने क्षमता, साहस, सिर्जनशीलता तथा आत्मविश्वास प्रचुर मात्रामा हुन्छ । यिनीहरुलाई राष्ट्रिय विकासको मुलधारमा ल्याई उनीहरुमा निहित क्षमताहरुको विकास, परिचालन र सहभागिता बढाउन सके राष्ट्रिय विकासको प्रक्रियासमेत तीब्र हुनेछ । नेपालमा युवा बेरोजगारीको समस्या भयावह बन्दै गएको छ । नेपालको श्रम बजारमा प्रतिवर्ष करिब ५ लाखको हाराहारीमा श्रमशक्ति युवाको प्रवेश हुन्छ भने स्वदेशभित्र ५० हजारले पनि रोजगारी प्राप्त गर्न कठिन देखिन्छ । सरकारी क्षेत्रमा निजामति सेवा प्रवेशका लागि लोकसेवा आयोगले विज्ञापन खोल्दा होस् कि शिक्षक सेवा आयोगले, रोजगारी खोज्ने भिड थामिनसक्नु हुन्छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोलेको विज्ञापन मात्र होइन, सरकारी स्वामित्वका संस्थानहरुले मागेको दरखास्तमा पनि आवेदन भर्नेको भिड देखिन्छ । मुलुकमा उत्पन्न बेरोजगारीलाई निजी क्षेत्रको उद्योग व्यापार र सेवा प्रतिष्ठानमा सिर्जना हुने सिमित अवसरले पनि थेग्ने अवस्था छैन ।
मुलुकमा रोजगारीको अवसर न्युन भएकाले, युवाहरुहरुमा देश र राजनीतिप्रति वितृष्णा, आक्रोस, असन्तुलित र नकारात्मक धारणाको विकास भएको छ । हरेक युवाको चाहना असल, समृद्ध नागरिक बन्ने हुन्छ । हरेक युवाको चाहना परिवार पाल्न सक्ने र समाजमा शीर उचो पारेर जीवन जिउने वातावरणको खोजी हो । तर, चाहना, आवश्यकता र वातावरणबीच सन्तुलन नहुँदा आज धेरै युवाहरु लक्ष्यविहिन र दिशाहिन बन्न पुगेका छन् । बेरोजगारी, अशान्ति तथा असुरक्षाका कारण करिब ५० लाख युवा विदेसिन बाध्य भएका छन् । देश छोडेर विदेशिने युवायुवतीहरुको बाध्यता मुलुकको लागि ठूलो घाटा हो । रेमिटान्समुखी अर्थतन्त्रलाई उन्नत भएको देख्नु “मुतको न्यानो” बाहेक अरु केही होइन । युवा शक्तिको विदेश पलायन रोक्न जरुरी छ । शैक्षिक क्षेत्रको त्यस्तै अवस्था छ । हजारौं विद्यार्थीहरु विदेशमा पढ्न गएर देश फर्कदैनन् । प्रतिभा पलायनको यो तीब्रताले देश उजाड र नालायक भ्रष्टहरुको अखडा मात्र बन्नसक्ने दिशामा उन्मुख छ । नेपालको अधिकतम् श्रमशक्ति आज खाडी मुलुकमा छ । त्यसैगरी नेपालको मध्यमखालको श्रमशक्ति जापान, कोरीया लगायतका देशमा श्रम बेच्न बाध्य छ । नेपालका बौद्धिक शक्तिहरु युरोपियन देशहरु र अमेरिकामा छन् ।
अब युवा शक्तिहरु विदेशमा गएर अरुको देश मात्र बनाएर भएन, आफ्नो देश पनि बनाउनु पर्दछ । तसर्थ युवा शक्तिहरु आफैं जुटेर देशमा काम सृजना गर्नुपर्दछ । यहि, उन्नती, प्रगति गरौं र देशमा शान्ति तथा समृद्धि ल्याऊँ । युवा शक्तिहरु एक भएर सहकारीको माध्यमबाट रोजगारी, शान्ति तथा समृद्धि ल्याउन सकिन्छ । परिवर्तन र युगको उत्थानको जिम्मेवारी लिने युवाहरु शोषणरहित समाज निर्माण्का सम्बाहक हुनुपर्दछ ।
विदेश जान र त्यसको लागि खर्च गर्ने रकम जम्मा गरेर ५÷१० जना वा बढि संख्याको समूह बनाएर सहरी क्षेत्रमा ममः पसल, भोजनालय, लज, होटल, रेष्टुरेन्ट, क्यान्टिन वा अन्य विविध प्रकारको व्यवसाय गर्न सकिन्छ । सामूहिक रुपमा कृषि, वन, पर्यटन व्यवसाय आदि क्षेत्रमा काम गर्न सकिन्छ । कृषिमा सामूहिक खेति प्रणाली गर्न सकिन्छ । कृषिमा उत्पादन, प्रशोधन, प्याकेजिङ्ग र बजारीकरणसम्मको काम गर्न सकिन्छ । कृषकहरुलाई आवश्यक पर्ने विउ, विजन, मलखाद, किटनासक औषधीलगायत कृषि उपकरणहरुको आपुर्ति गर्न सकिन्छ । बन सम्बधमा वृक्षारोपण गर्न सकिन्छ । त्यसैगरी काष्ठमिल सञ्चालन गर्न सकिन्छ । जडिबुटी उत्पादन, प्रशोधन र विक्रि–वितरण गर्न सकिन्छ । बोट विरुवाहरुको नर्सरी सञ्चालन गर्न सकिन्छ । काठका विभिन्न सामानहरु निर्माण गरी बिक्री वितरण गर्न सकिन्छ । यसैगरी युवाहरले सहकारीमार्फत होटल, लज, रिसोर्ट, रेष्टुरेण्ट, ट्रेकिङ्ग, पर्वतारोहण, ट्राभल गाइड, पर्यटक ट्याक्सी, होम–स्टे जस्ता व्यवसायहरु गर्न सकिन्छ ।
क्याम्पस तथा विश्वविद्यालयको अध्यन सकेका युवाहरुले समूह बनाएर विभिन्न किसिमका कामहरु गर्न सक्छन् । तिनीहरुले विद्यालय, उच्च मावि तथा क्याम्पसहरु सञ्चालन गर्न सक्छन् । विभिन्न किसिमका पसलहरु सञ्चालन गर्न सक्छन् । जस्तैः पुस्तक पसल, स्टेशनरी पसल, पत्रिका पसल इत्यादि । युवाहरुले सञ्चार, पत्रपत्रिका, एफ.एम. रेडियो, टेलिभिजन, साइवर क्याफे सञ्चालन गर्न सक्दछन् । युवा सहकारितामार्फत कुखुरा, सुंगुर, बुंगुर, भैंसी, गाई, बाख्रा, माछा, मौरी पालन सम्बन्धि कार्य गर्न सकिन्छ । त्यसैगरी मैनवत्ति, अगरबत्ति, मसी, गम, रिफिल उत्पादन तथा बिक्री वितरण गर्न सकिन्छ । तरकारी खेती, फलफुल खेती गर्न सकिन्छ । घरेलु उद्योगहरु सञ्चालन गर्न सकिन्छ । बरफ, तथा पाउरोटी कारखाना सञ्चालन गर्न सकिन्छ । टपरी, पिरा, मुढा, गजरा, बुनाई सम्बन्धि कार्यहरु गर्न सकिन्छ । विभिन्न प्रकारका हस्तकलाका सामाग्रीहरु उत्पादन तथा विक्रि वितरण गर्न सकिन्छ । घर सजावटका सामानहरुको उत्पादन तथा बिक्री वितरण गर्न सकिन्छ । सिलाई बुनाई सम्बन्धि कार्यहरु सञ्चालन गर्न सकिन्छ । ग्रामिण लघुवित्त कार्यक्रमहरु सञ्चालन गर्न सकिन्छ । बचत तथा ऋण सम्बन्धि कार्यहरु सञ्चालन गर्न सकिन्छ ।
युवा सहकारीको माध्यमवाट महिला स्वास्थ्य, सुरक्षित मातृत्व, पोषण आदि कुरामा ज्ञान, शिप तथा सेवाको व्यवस्था गर्न सकिन्छ । शिक्षा, स्वास्थ्य र वातावरणको बारेमा जानकारी गराउन सकिन्छ । महिला हिंसा, बेचविखन, दाइजो प्रथा, अन्ध विश्वासलगायत सामाजिक कुरिती विरुद्ध संगठित पहल गर्न सकिन्छ । विभिन्नखाले शोषण, दमन, थिचोमिचो हटाउन सकिन्छ । धनि–गरिब, जात–जाति, महिला–पुरुष, भाषा–भाषी, ठुला–साना, कालो–गोरो आदि विभेदको अन्त्य गर्न सकिन्छ । भ्रष्टाचार र कुशासनको विरुद्ध आवाज बुलन्द गर्न सकिन्छ । लैङ्गिक विभेदको अन्त्य गर्न सकिन्छ । लैङ्गिक विभेदका कारण जन्मिएका थिचो–मिचो, आर्थिक शोषण, श्रम शोषण, यौनशोषण र मनोवैज्ञानिक शोषणको अन्त्य गर्न सकिन्छ । निरक्षेरता उन्मुलन, प्रौढ तथा शिशु शिक्षा सम्वन्धि कार्यहरु गर्न सकिन्छ । युवा सहकारितामार्फत स्थानीय श्रोत, साधन र प्रविधिको विकास र परिचालन गर्न सकिन्छ । स्थानीय तहमा रोजगारीको अवसर सृजना गर्न सकिन्छ । स्थानीय प्रकृति, वातावरण, जीवजन्तु तथा वनस्पतिको संरक्षण विकास र उपभोग गर्न सकिन्छ ।
अब नेपाली युवाहरुले खाडी मुलुक बनाउने हैन, नेपाल बनाउनुपर्दछ । खाडी मुलुकमा सिकेको शिप तथा आर्जन गरेको पूँजीलाई युवा सहकारितामार्फत राष्ट्र निर्माणमा लगाउनुपर्दछ । राष्ट्रको हरेक क्षेत्रको विकासमा युवा सहकारिता आवश्यक छ । युवाविना यो राज्य कहिले पनि आर्थिक रुपमा सम्पन्न हुन सक्दैन । त्यसैले आजको राष्ट्रको आवश्यकता भनेको युवा सहकारिता हो । राष्ट्र निर्माणमा युवा सहकारिताको माध्यमबाट अगाडि बढ्न अब ढिलो गर्नुहुदैन । युवा सहकारीताको माध्यमबाट युवा विकास बैंकको स्थापना गर्नुपर्दछ । युवा विकास बैंकको माध्यमबाट युवाहरुको सर्वाङ्गिण विकास गरी समृद्ध र शान्त राष्ट्र निर्माण गर्नुपर्दछ ।