सताक्षी धाममा ८७ वटा धारा निर्माण

विर्तामोड । झापाको शिवसताक्षीमा रहेको सताक्षी धाममा ८७ वटा धारा निर्माण गरिएको छ । सताक्षी धाममा तीर्थालुका लागि स्नान गर्न मिल्नेगरी धारा निर्माण गरिएको हो ।

धाराको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार उद्घाटन गरेका छन् । धाराको उद्घाटन गर्दै कार्कीले कोशी प्रदेश सरकारले पर्यटन क्षेत्रको विकासका लागि विशेष कार्यक्रम ल्याउने जानकारी दिए ।

२०८२ साललाई कोशी प्रदेश भ्रमण वर्ष मनाउने तयारी भइरहेको भन्दै मुख्यमन्त्री कार्कीले यस्ता धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएका क्षेत्रहरूको चयन गरेर सरकारले कार्यक्रम ल्याउने बताए । उनले कार्यक्रमहरूमा प्रत्यक्ष सहभागी भएर आफ्ना नजिकका पर्यटकीय क्षेत्रहरूको पर्यटन प्रवर्धनमा सहयोग पुर्याउन सबैमा आग्रह गरेका छन् ।
सताक्षीधाम मन्दिर तथा पर्यटकीय विकास समितिका उपाध्यक्ष उदयप्रकाश राईका अनुसार धारामा स्नान गरेपछि दिगम्बेश्वर महादेवको मन्दिर र शाकम्बरी सताक्षी देवीको मन्दिरमा पूजा अर्चना गर्न सकिने छ । मुख्यमन्त्री कार्कीले ८७ धाराबाट बग्ने जल अभिषेक गर्दै धाराको उद्घाटन गरेका हुन् ।

पौराणिक कथासँग जोडिएको यो धामको वास्तविक नाम सताक्षी हो । सताक्षीको व्याख्या विभिन्न धार्मिक र सांस्कृतिक सन्दर्भमा जोडिएर आउने धार्मिक अगुवाहरुको भनाइ छ ।

सताक्षी धाममा निर्माण भएको ८७ धारामा दिगम्बेश्वर महादेव र शाकम्बरी सताक्षी मन्दिर नजिकैको सताक्षी गंगाको पानी ल्याएर जडान गरिएको हो । यो मुक्तिनाथमा भएका १०८ धारा पछिको दोस्रो मुक्तिनाथको धारा भएको गौ संरक्षक घनश्याम शास्त्रीले बताए ।

चारैतिर चुरे पहाडले घेरेको सताक्षी धाम क्षेत्रमा स्थायी पूर्वाधारहरू निर्माण भइरहेका छन् । मुख्यमन्त्री कार्कीले धाम क्षेत्रमा निर्माण गर्न लागिएको अतिथि गृहको पनि शीलान्यास गरेका छन् ।गोलोक गोवद्र्धन गौशालाका संरक्षक आचार्य नन्दकिशोरजी महाराजले भवन निर्माण सहयोगार्थ १० लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् ।

बिहिबार, १३ मंसिर, २०८१, साँझको ०६:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर