विराटनगर । नेकपा (एमाले) तेह्रथुमको अध्यक्षमा शिवप्रसाद ढुङ्गाना निर्वाचित भएका छन् । गोविन्दराज श्रेष्ठलाई पराजित गर्दै ढुङ्गगाना अध्यक्षमा निर्वाचित भएका हुन् ।
श्रेष्ठलाई अध्यक्ष केपी शर्मा ओलीनिकटका नेताहरूले समर्थन गरेका थिए । श्रेष्ठलाई उपाध्यक्ष गुरु बराल, प्रदेश इन्चार्ज शेरधन राई, प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडालगायत नेताको समर्थन थियो भने ढुङ्गानालाई भने प्रदेश कमिटीका सदस्य लक्षण तिवारीलगायत नेताहरूको समर्थन थियो ।
ढुङ्गानाले २२६ मत पाए भने श्रेष्ठले २०४ मत पाएका थिए । उपाध्यक्षमा सन्तोष तिगेला सर्वसम्मत निर्वाचित भएका थिए । सचिवमा भने श्रेष्ठ प्यानलका तारामान मादेन निर्वाचित भएका छन् ।
मादेनले ढुङ्गाना प्यानलका छत्रप्रसाद रिमाललाई २६ मतले पराजित गरेका हुन् । मादेनले २२६ र रिमालले २०२ मत प्राप्त गरेका हुन् ।
खुला उपसचिवमा ढुङ्गाना प्यानलका यादवबहादुर खापुङ निर्वाचित भएका छन् । मेन्छेयायेम गाउँपालिकाका अध्यक्षसमेत रहेका खापुङले २२० मत पाउँदा श्रेष्ठ प्यानलका उपसचिवका उम्मेदवार म्याङलुङ्गका अर्जुन ढुङ्गानाले २०८ मत प्राप्त गरेका छन् । अध्इष ढुङ्गाना १० बुद्धेपक्षधर हुन् ।
त्यसैगरी महिला उपसचिवमा पनि श्रेष्ठ प्यानलकी तारा ढकाल निर्वाचित भएकी छन् । ढकालले १७५ मत प्राप्त गरेकी छन् । ढुङ्गाना प्यानलकी सरिता खड्काले १६५ मत ल्याएकी थिइन् ।
उपसचिवमै विद्रोह गरेकी तारा कार्की गुरुङले ७८ मत प्राप्त गरेकी हुन् । उपाध्यक्षमा निर्वाचित भएका तिगेला र महिला उपसचिवमा निर्वाचित भएकी ढकाल छथर गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष हुन् ।
ढुङ्गाना यसअगाडि जिल्ला समन्वय समिति तेह्रथुमको अध्यक्ष थिए भने श्रेष्ठ भर्खर मात्रै रिटायर भएका शिक्षक हुन् ।