मणि दाहाल
व्यक्तिवादी अवसरवादले मान्छेलाई अन्धो बनाउँछ । राजकीय शासकमा हावी भएको अवसरवादले नीति नियम र नैतिकता सबै सखाप पार्छ । जनताबीचका प्रतिबद्धताहरु खेलौना बन्दछन् । राजकीय निकायमा आसीन जिम्मेवारहरु द्रव्य पिचास बन्दछन् । सशासन बन्धक बन्दछ । अराजकताले सीमापार गर्छ । राजनीतिक दलहरुले जनताको विश्वास गुमाउँछन् । आम सरोकारवाला निकायहरुमा भ्रष्टाचारको संजाल खडा हुन्छन् । समाज विकासको चरण उल्टो गतिमा प्रवाहित हुन्छ । जनता करदाता र मतदातामा सीमित रहन्छन् । अनिकष्टकर, जनजीविका नियति बन्छ । हाम्रो दिनचर्या उल्लेखित कुराहरुभित्रकै कारुण परिवेश हो ।
हामीले नेता पायौं, तर राजनेता पाउन सकेनौं । तन्त्र पायौं तर जनतन्त्र पाउन सकेनौं । गणतन्त्र पायौं तर, जनवादी गणतन्त्र पाउन सकेनौं । हाम्रा विश्वास पात्रहरु भस्मासुरको अवतारमा प्रकट भए । हजारौं पात्र फेरिए तर, प्रवृत्ति फेरिएन । राजकीय ढिकुटीको दोहन र व्यक्तिगत व्यवस्थापन नै पात्रहरुको व्यक्तिगत व्यवस्थापन नै पात्रहरुको नियति बन्यो । व्यक्तिगत व्यवस्थापन नै पात्रहरुको नियति बन्यो । जीविकाको सहजता नारामात्र बने । दलीय शीर्ष नेताहरु नव महाराजको रुपमा उदाए । घुम्टोभित्रको साधुवाद प्रतिनिधिपात्रको रुपमा प्रकट भयो ।
हाम्रा विधि विधान अत्यन्तै फितलो र पहँुचविहीनका लागि मात्र बने । अनुशासनहीनताले समाजलाई आक्रान्त बनायो । विधि बन्धक बन्यो । राज्य निरिह अवस्थाबाट गुज्रियो । कर्तब्य बोध शब्दमा सीमित भयो । शासक उन्मत्त हुनु सनातनी संस्कृतिजस्तै बन्यो । जोगी धेरै आए तर, कान चिरेर मात्र । सबै नक्कली उल्लेखित सवालहरु हाम्रा भोगाइका नमिठा पक्षहरु हुन् ।
जनअभिमत मालिक जन्माउने कारखाना बन्यो । नराम्रा मध्येका राम्रा छान्नु बाध्यताको उपज बन्यो । सक्कली मुहार पाउन सकिएन र पाए पनि चिन्न सकिएन । अनि चिनेर पनि विकल्प पाउँन सकिएन । चिप्ला कुरामा मख्ख पर्नु नियति बन्यो । दलीय आवरणको विवेकहीनताले झोलेवादको जन्म गरायो । झोलेवादले जनतालाई व्यक्तिगत स्वार्थ सिद्धीको साधन बनायो । अनेकौं आवरणका नक्कली पण्डाहरुले जनतालाई झुक्याउने सृङ्खला आजसम्म कायम छ ।
बौद्धिक नामको दरिद्रतार जनताको अल्पचेतना सामाजिक पछौटेपनको अर्को कारक हो । हामीसँग किताबी बुद्धिजीविको कमि छैन । तर, बौद्धिकताको अभाव छ । मानसिक दरिद्रतारुपी बौद्धिक पण्डाको घेराबन्दी र अनुकुलताको खेती राजकीय नियती बन्यो । पेशेवर अधिकारकर्मीहरुले बुज्रुकताको सस्तो लोकप्रियतावादी कम्बल ओढे । एनजीओ तथा आइएनजीओहरु समाज बिखण्डन र डलर खेतीका साधन बने । मिडिया शक्तिको भजन केन्द्र बन्यो । अनि हामी उडन्ते पारामा पक्ष र विपक्षको खेलमा निरर्थक समय बिताउँदै छौँ । यो पनि हाम्रो वास्तविक धरातल हो ।
राजनीति निस्वार्थ समाज सेवा बन्न सकेन । राजनीतिज्ञहरु सेवक भन्दा मालिक बन्न मन पराए । हामीले मालिकलाई सम्मान दियौँ । घोर सामाजिक अपराधीहरुलाई चिन्न सकेनौं । उनीहरुलाई बाबु र मैंया उपनामले सम्मान गर्ने परिवेश बन्यो । हामी फूल गुच्छाले स्वागत गर्न लामबद्ध भयौँ । वर्षभरि सर्प मारेर नागपन्चमीमा पूजा गर्ने सनातनी संस्कार झंै पाँच वर्षसम्म गाली गर्ने र चुनावमा भने तिनैको ताली बजाउँन पछिपरेनौं । भ्रष्ट, तस्कर, डन र माफियालाई माला र दोसल्ला ओढायौं । समाजसेवीको पगरी भिरायौं । अल्पज्ञानको भुमरीभित्र हामीले ठिक बेठिक चिन्न सकेनौं । हामी मौन ब्रतालु मात्र भयौं । हाम्रो मौनता शासकको हतियार मात्र बन्यो । हाम्रो ताली पथभ्रष्टताको साधन बन्यो । हामीले हाम्रो मात्र देख्यौं । हाम्रा भित्रका नराम्रा देखेनांै ।
हामी जनता बन्न सकेनौं । रैतीमै रमायौँ । यो देशलाई बर्बाद पार्ने भ्रष्ट प्रशासक, राजनीतिज्ञ र जामाखोर व्यापारी मात्र हैनन् । यसको कारक भनेका हामी जनता र कार्यकर्ता पनि हौं । किनकि हामी कार्यकर्ताले नेतालाई कहिलै नीतिमा चल भनेर खबरदारी गरेनौं । जे गर्दा पनि तालिमात्र बजायौं । आदेशमा आँखा चिम्लियौँ । अध्ययन, चिन्तन र दर्शनका ठेलीलाई पन्छायौं । दारु, मासु र पैसामा विवेक बन्धक बनायौं । यस्तो अवस्थामा नेता पथभ्रष्ट नभएर स्वामी बन्छ ?
हामी प्राप्तिमा मख्खै पर्छाै । प्राप्तिको स्रोत खोज्दैनांै । लुटको धन चन्दा दिएवापत समाजसेवीको पगरी भिराएर उसको जय जयकार गर्छौ । पथभ्रष्टहरुलाई दलमा हाबी गराउन हानाथाप गर्छौ । यस्तो मानसिकता बोकेको जनता भएको देशमा भ्रष्ट, तस्कर, डन, माफिया मिटरब्याजे जस्ता समाजिक अपराधी नेता नभएर को हुन्छ ? इमान्दारहरु हुन्छन् ?
राजनीतिक अपराधीकरण हाम्रो नियति बन्यो । अपराध संरक्षण केन्द्रको रुपमा दलहरुलाई नियाल्नु हाम्रो बाध्यताको उपज बनिरहेकै छ । समाजको चुसाहा वर्गलाई पूजा नगरी हामी सभ्य र कुलीन बन्न सकिरहेका छैनौं । पथभ्रष्टताले विचार शून्यता जन्माएको छ । तर हामीले त्यसलाई भाग्यवादको खेल ठान्दै छांै । विचारशून्य भीडले राजनीतिक दलहरुलाई कब्जा गरेको छ । तर, हामी आँखाको पर्दा खोल्न चाहिरहेका छैनौं । इमान हरेक निकायको मूल प्रवाहबाट गलहत्तिएको छ । तर, हामी कारण खोज्न डराइरहेका छौं । मानसिक अपराधिको सम्मानमा हामी लामबद्ध हुन्छौं । लुटको दानमा गर्वित छौं । लुटाहालाई समाजसेवी ठान्छौं ।
व्यवस्था फेरियो । अवस्था उस्तै छ । दलहरु असफल बन्दै छन् । विगतमा जनपूज्य बनेका दलीय शीर्ष नेताहरुको अवस्था आज अत्यन्तै टीठलाग्दो बन्दै छ । दलहरु असफल हुँदा राजनीति असफल हुन्छ । राजनीति असफल भयो भने देशले संकट भोग्नुपर्छ । बलिदानबाट प्राप्त लोकतन्त्रको चीरहरण हुनसक्छ । तर, हामी यतातर्फ फर्कनै चाहन्नौं । समर्थनको नाममा एकोहोरो ताली र विरोधको नाममा पूर्ण नकारात्मक परिवेशको दास बन्दै छौं ।
देश अनेकांै प्रतिकुलताको सामना गरिरहेको छ । राष्ट्रिय अस्मिता खतरामा छ । जनजीविका तहसनहस छ । जनशक्ति पलायन छ । खोरिया बाँझै छन् । कोरिया रोजगारको गन्तव्य बन्दैछ । सक्नेहरु युरोप अमेरिकातिर बसाइँ सर्दैछन् । नसक्नेजति खाडीमा पसिना बगाइरहेका छन् । छोराछोरीको डिभी र ग्रिनकार्डलाई हामी भाग्यवाद ठानिरहेका छौं । सन्तान विदेशमा छन् भनेर गर्वीलो छाती फुलाउँदै छौं । राज्यका तमाम साधनश्रोतमा सीमित वर्गको हालिमुहाली चलिरहेको छ । तर, यस्ता यावत सवालमा चिन्ता गर्न कहिलै आवश्यक ठानिएन । कोरा लोकतन्त्रको रटानमा राज्यले हामीलाई हली बनायो । हामी बाँझो खेत जोतेर आफू भोकै बसेर भएपनि छोटे र बढे महाराज पाल्नमै जीवनको सार्थकता ठान्दै छौं ।
जनविश्वास प्रप्त राजनीतिक दलहरु माफिया, तस्कर, डन र भ्रष्टाचारीको घेरामा छन् । दलको कार्यालय तिनैको घेराबन्दीमा छ । जेलमा बस्न लायक अपराधी पात्रहरुलाई नेता मान्नु पर्ने दुर्भाग्य परिवेश हाम्रो दैनिकी भएको छ । मानव तस्कर, सहकारी माफिया र ठगहरुलाई माननीय, मन्त्री तथा राज्यका जिम्मेवार निकायमा आसिन छन् । आम सरोकारी निकायहरु लम्पटहरुले साम्राज्य जमाएका छन् । उल्लेखित सबै बेथितिको कारक भनेको हाम्रो दासवादी अल्पचेतना नै हो । हाम्रो रैती मानसिकताकै कारण लुटको बजार फस्टाउदै । तर, हाम्रा बन्द चेतनाको बिर्को खुल्न सकेन । जहिले खुल्छ त्यस अवस्थामा समयले डाँडा काटिसकेको हुनेछ ।