मानव तस्करीमा जोडिएका अधिकारीलाई मुद्दा नचलाउने सरकारी वकिलको निर्णय

विराटनगर । मानव तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री एवं एमाले सांसद लिलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय सरकारी वकिलको कार्यालयले गरेको छ ।

प्रहरीले भने अधिकारीसहित १२ जनाको अनुसन्धानपछि तीन वटा कसुरमा सबैलाई मुद्दा चलाउन सरकारी वकिललाई राय दिएको थियो । प्रहरीले मानव बेचविखन तथा ओसारपसार, सरकारी कागजात किर्ते र ठगी सम्बन्धी कसुरमा मुद्दा अगाडि बढाउन राय दिएको थियो ।

सरकारी वकिल कार्यालय काठमाडौंले भने अधिकारीवाहेक ११ जनाविरुद्ध मुद्दा चलाउने निर्णय गरेको छ । जिल्ला न्यायाधिवक्ता सिताराम अर्यालका अनुसार सांसद अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय भएको हो । फरार ३ जनासहित ११ जनाविरूद्ध भने जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ ।

जापानमा हुने इन्टरनेसनल कन्फरेन्स अन ओपन एक्सेस टु कल्चर २०२४ को सात दिने कार्यक्रममा पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्रीसमेत रहेका अधिकारीसहित चार जना कात्तिक ११ गते गएका थिए । उनीसहित साथमा गएका जनक राई, दावा शेर्पा र कञ्चन देवकोटालाई जापानको अध्यागमनले डिपोर्ट गरेपछि कात्तिक १६ गते उनीहरु नेपाल आइपुगेका थिए ।

अधिकारीले नै जापान पुगेर सो प्रकरणबारे जानकारी दिएको भन्दै सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको हो । जिल्ला अदालत काठमाडौँमा पेस भएको अभियोग पत्रमा अधिकारी आफैंले मानव तस्करीको सूचना दिएको र विचौलियासँग उनको सम्पर्क नभएको जनाइएको छ । जबकि अधिकारीले जापान जान बिचौलियामध्येका गोपाल गौतमलाई आफ्नो राहदानी बुझाएका थिए ।

गौतम फरार छन् । गौतमले नै उनको जापान जाने टिकको व्यवस्थापन गरेका थिए भने जापानामा खाने र बस्ने व्यवस्था पनि उनै बिचौलियाले मिलाईदिएको अधिकारीले स्वीकार गरेका छन् । तर, सरकारी वकिलको कार्यालयले भने अधिकारीको बिचौलियासँग सम्पर्क नभएको भन्दै उनलाई मुद्दा नचालाउने निर्णय गरेको छ । उनी विचौलियाहरुको प्रभावमा परेर जापान जान खोजेको दावी सरकारी वकिलको छ ।

सरकारी वकिलको कार्यालयले अधिकारी स्वयंले जापानको नारिता विमानस्थलबाट घटनाको सम्बन्धमा नेपाल प्रहरीहरूलाई दिएको जानकारी दिएको विषयलाई मुद्दा नचलाउने अर्को कारण भनेको छ । जबकि अधिकारी स्वयम्ले हङकङ पुगेपछि आफू मानब तस्करको जालोमा परेको बताएका थिए । हङकङमै तस्करको जालोमा परेका थाहा पाएका उनले त्यहाँबाट प्रहरीलाई खबर गरेको देखिएको छैन । बरु जापान पुगेर त्यहाँबाट डिपोर्ट भएपछि मात्र प्रहरीलाई खबर गरेको देखिन्छ ।

त्रिभुवन विमानस्थलको अध्यागमन कार्यायले अधिकारीसहितका प्रतिवादीहरुलाई एउटै पत्रबाट टोकियाको अध्यागमनले डिपोर्ट गरेको यसअघि बताएको थियो । सरकारी वकिलको कार्यालयले भने तीन जनाको मात्र डिपोर्ट भएको र अधिकारी स्वयं अनुरोध गरी फिर्ता भएको जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सीसी फुटेजमा समेत अधिकारी एक्लै सवार भएको देखिएकोले मुद्दा नचलाएको सरकारी वकिलको तर्क छ । अधिकारीको कल डिटेल्स हेर्दा प्रतिवादीहरूसँग सम्पर्क भएको नदेखिएको दाबी अभियोग पत्रमा छ । जवकि काठमाडौंको विमानस्थलमा प्रतिवादी महेश पाण्डे र गोपाल गौतमसँग भेटेर चिया खाएको फोटो अधिकारी आफैंले फेसबुकमा राखेका थिए ।

मन्त्री अधिकारीलाई उन्मुक्ति दिन लिइएको अर्को आधार जनक राई समेतका किर्ते गरी बनाएको हस्ताक्षरसँग नमुना परीक्षण गर्दा मेल समेत खाएको नदेखिएको उल्लेख छ । कार्तिक ११ मा तत्कालीन मन्त्री अधिकारी, खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटा क्याथे प्यासिफिकको उडानमार्फत जापान गएका थिए । सांस्कृतिक कार्यक्रमका लागि त्यहाँ हिँडेका तत्कालीन मन्त्री अधिकारी र कञ्चन देवकोटाका लागि बिचौलियाले टोकियोमा एउटै होटल बुकिङ गरिदिएको भेटिएको थियो ।

मन्त्री अधिकारीसँगै तीन जना युवा नक्कली कागजातका आधारमा जापानको नारिता विमानस्थल पुगेका थिए । तर, नक्कली कागजातको आधारमा जापान जान खोजेको पाइएपछि उनीहरुलाई अध्यागमनले फिर्ता गरिदिएको थियो । कात्तिक ११ गते प्रदेश सरकारको मन्त्रिपरिषद्बाट स्वीकृति पनि नगराई विचौलियाको योजनामा अधिकारी जापान उडेकोमा १६ फिर्ता भएका थिए ।

सोही दिन खोटाङको केपिलासगढी गाँउपालिका ४ का ४१ वर्षीय जनक राई, खोटाङकै ऐँसेलुखर्क गाँउपालिका–२ का ३७ वर्षीय दावा शेर्पा र रसुवाको कालिका गाँउपालिका–५ का २१ वर्षीय कन्चन देवकोटा पक्राउ परेका थिए । उनीहरूको बयानबाट धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–६ का ३४ वर्षीय महेश पाण्डे, नुवाकोटको विदुर नगरपालिका–७ का २२ वर्षीय जुगल रिजाल र दोलखाको जिरी नगरपालिका–९ का ३० वर्षीय वीरबहादुर सुनुवार पक्राउ परे भने अधिकारी कात्तिक २५ गते मात्र पक्राउ परेका थिए ।

पक्राउ परेका युवाहरूले आफूहरूले १० देखि १३ लाख रूपैयाँसम्म बुझाएर जापान गएको बयान प्रहरीमा दिएका छन् । सुरुवातमा प्रहरीले गुपचुप राखेको सो प्रकरणमा अधिकारीको संलग्नता खुलेपछि मात्र प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

सोही प्रकराणमा प्रहरीले खोटाङ घर भएका ४१ वर्षीय नवीन राई र ३२ वर्षीया गुड्डी राईलाई पनि पक्राउ गरेको छ । अझै तीन जनाको सो प्रकरणमा संलग्नता रहेको र उनीहरु फरार रहेको प्रहरीले जनाएको छ । सो प्रकराण्मा जोडिएका एमाले कार्यकर्तासमेत रहेका गोपाल गौतम, विष्णु भट्टराई र दिवाकर भट्टराई फरार छन् ।

प्रहरीले गैरकानुनी रूपमा विचौलियासँग मिलेर अधिकारी जापानसम्म गएको देखिएकाले उनलाई पनि मुद्दा चलाउनु पर्ने राय दिएको थियो । तर, सत्तारुढ दल नेकपा एमालेका सांसद रहेकोले दबाबमा सरकारी वकिलको कार्यालयले उनीमाथि मुद्दा नचलाउने निर्णय गरेको स्रोतले जनाएको छ ।

सोमबार, १० मंसिर, २०८१, दिउँसोको ०४:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर