चुनावभरीलाई हतियार बुझाउन सर्वसाधारणलाई मोरङ प्रशासनको आग्रह

विराटनगर । स्थानीय निर्वाचनको सुरक्षा व्यवस्थालाई ध्यान दिन भन्दै मोरङ प्रशासनले आफूसँग भएका हतियार बुझाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

स्थानीय तह निर्वाचन नजिकिँदै गइरहेका बेला जिल्ला प्रशासन कार्यालय मोरङले इजाजत प्राप्त हतियार बुझाउनका लागि सार्वजनिक रूपमा आग्रह गरेको हो ।

प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले चैत मसान्तसम्म हतियार बुझाउन सार्वजनिक सूचनामार्फत अपिल गरेका हुन् । इजाजत लिएर व्यक्तिगत रूपमा राखिएका हतियार निर्वाचन सुरक्षाका लागि चुनौती मानिएपछि प्रशासनको नजर त्यसतर्फ केन्द्रित भएको हो ।

प्रशासन निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउनेतर्फ केन्द्रित बनेको प्रजिअ दाहालले बताए । उनले इजाजत लिएर घर र कार्यालयमा राखिएका हतियार निर्वाचनपछि फिर्ता गर्ने सर्तमा बुझाउन सबैमा अपिल गरिएको जानकारी दिए ।

उनले हतियार बुझाउन आलटाल गरी प्रशासनको निर्णयविरुद्धका गतिविधी गर्नेलाई कारबाहीको दायरामा ल्याइने बताए । राजनीतिक, आर्थिक क्षेत्र तथा विभिन्न पेसामा आवद्ध व्यक्तिहरुले अनुमति लिएरै हतियार राखेका छन् । तर, मोरङमा इजाजत प्राप्त हतियारको यकिन तथ्याङ्क छैन ।

 

बिहिबार, १७ चैत, २०७८, दिउँसोको ०१:१२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर