ग्रामथान उपनिर्वाचन : त्रिपक्षीय प्रतिस्पर्धामा लैजाँदै माओवादी उम्मेदवार नमोनारायण

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका बस्तीहरुलाई चुनावी माहोलले छपक्कै छोपेको छ । धान थन्क्याएर हिउँदे खेतीमा जुट्नु पर्ने किसानहरुलाई यतिबेला चुनावको चटारो थपिएको छ । चुनाव प्रचारप्रसारका क्रममा दलहरुले घरदैलो कार्यक्रम सञ्चालन गरिरहेका छन् । उम्मेदवारहरु मत माग्दै मतदाताहरुका माझमा पुगिरहेका छन् ।

ग्रामथानमा यतिबेला विभिन्न १५ वटा राजनीतिक दलहरुले उम्मेदवारहरु घरदैलोमा ब्यस्त बनेका छन् । बिहीबार नेकपा एमालेले ग्रामथान ५, नेकपा माओवादी केन्द्रले ग्रामथान ६ र नेपाली कांग्रेसले ग्रामथान १ मा घरदैलो गरेको थियो । यहि मंसिर १६ गते ग्रामथानमा अध्यक्ष पदका लागि हुने उपनिर्वाचनमा उम्मेदवारहरु टोलबस्तीमा पुग्नथालेपछि चुनावी परिणामको परिचर्चा र अनुमानहरु पनि सुरु भइसकेको छ ।

गाउँबस्तीमा देखिएको चुनावी माहोलले ग्रामथानमा हुन लागेको उपनिर्वाचनमा प्रमुख तीन राजनीतिक दलबीचमै प्रतिस्पर्धा हुने देखाइरहेको छ । ग्रामथानको साविक विजेता नेपाली कांग्रेस, निकटतम प्रतिस्पर्धी नेकपा एमाले र तेस्रो अवस्थामा रहेको दल नेकपा माओवादी केन्द्रले नै ग्रामथानको चुनावी माहोल तयार पारेका छन् । त्यसबाहेक राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि यस पटक चुनाव प्रचारप्रसारलाई अलि व्यवस्थितरुपमा अगाडि बढाइरहेको देखिएको छ । जसले गर्दा गत २०७९ साल वैशाख ३० मा सम्पन्न निर्वाचनमा ती दलहरुले प्राप्त गरेको मतको हिसाब यस पटक ग्रामथानमा ठ्याक्कै मेल नखाने सम्भावना ज्यादा छ ।

ग्रामथान गाउँपालिका अध्यक्ष पदमा पहिलो दल बनेको नेपाली कांग्रेसलाई यसपटक ३० महिनाअघि प्राप्त गरेको मत जोगाउने निकै सकस पर्ने देखिन्छ । नेपाली कांग्रेसको उक्त मतबाट यस पटक नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुले केही हिस्सा चुँडिदिने सम्भावना देखिएको छ । त्यसमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार नविनकुमार विश्वास नेपाली कांग्रेसमा योगदान गरेको पुरानो परिवारसँगै जोडिएका कारण उनले कांग्रेस मतलाई केही प्रभावित गर्न सक्ने सम्भावना रहेको ग्रामथान ६ नेताचोकका स्थानीयहरु बताउँछन् । नागरिक उन्मुक्ति पार्टीले पनि जनस्तरमा चुनाव प्रचारलाई तीब्र बनाउँदै गएको छ । कांग्रेससँग लामो सम्बन्ध राखेका र धेरै पटक नेपाली कांग्रेसलाई भोट दिने थारु समुदायमै आधारित भएर नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले प्रचारलाई केन्द्रित गरिरहेका कारण कांग्रेसले पछिल्लो स्थानीय तहको निर्वाचनमा प्राप्त गरेको मत जोगाउने चुनौती छ ।

कांग्रेसको चुनौती त्यतिमात्र होइन कांग्रेस पार्टी छोडेर गएका तर कांग्रेसमा रहँदा एक प्रकारको नेटवर्क बनाएका दुई युवाहरु प्रतिस्पर्धी पार्टीबाट उम्मेदवार बनेका छन् । कांग्रेस छोडेका तुलसीराम विश्वास नेकपा एमाले र नमोनारायण माझी नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका कारण पनि कांग्रेसलाई गत निर्वाचनमा प्राप्त भएको मत जोगाउन कठिन पर्नसक्ने अनुमान तेतरीयाका राजेन्द्रकुमार चौधरीको छ । कांग्रेस कार्यकर्तामाझ तुलसीराम र नमोनारायण माझी दुवै परिचित अनुहार भएका कारण उनीहरु दुबैले कांग्रेस मत प्रभावित गर्नसक्ने नै देखिन्छ ।

गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले प्राप्त गरेको मतभन्दा झण्डै १५ सय बढी मत कांग्रेस उम्मेदवारले प्राप्त गरेका थिए । नेकपा माओवादी केन्द्रका उम्मेदवारले प्राप्त गरेको मत एमालेको भन्दा आधा र कांग्रेसले प्राप्त गरेको मतको करिव ३५ प्रतिशत मात्र थियो । त्यतिबेला राष्ट्रिय प्रजातन्त्र पार्टीले ४४७ मत मात्र प्राप्त गरेको थियो ।

अहिले चुनावी माहोल अघि बढ्दै जाँदा अवस्था भने फरक देखापर्न थालेको छ । चुनावी माहोलमा माओवादीका उम्मेदवार नमोनारायण माझीले सजिलैसँग नेकपा एमालेसँग प्रतिस्पर्धा गरिसकेको देखिन्छ भने कांग्रेसको मतलाई आफूतिर आकर्षित गर्ने प्रयासमा माओवादी उम्मेदवार माझीले पहल बढाइरहेका छन् । मोरङको क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सांसद अमनलाल मोदी अनवरतरुपमा चुनावमा खटिनु र त्यस क्षेत्रको जनताबीच राम्रो सम्बन्ध राखिराखेका माओवादीका नेता तथा पूर्व राज्यमन्त्री विजयकुमार विश्वास थारु, वडा नम्बर ३ का वडाध्यक्ष रमेशकुमार भगतलगायत पुराना सबै माओवादी कार्यकर्ताहरु यसपटक एकजुट भएर चुनाव प्रचारमा जुटेका छन् । यसै कारणले गर्दा पनि ग्रामथानमा माओवादी उम्मेदवारप्रतिको समर्थन अघिल्लो निर्वाचनको उम्मेदवारको तुलनामा निकै बढेको देखिन्छ ।

नेकपा एमालेलाई भने यस निर्वाचनमा अघिल्लो पटक स्थानीय तहमा प्राप्त गरेको मत जोगाउन सक्नु नै उपलब्धि हुने देखिएको छ । यतिबेलासम्म केही क्षेत्रमा बाहेक एमालेले आफ्नो मत जोगाउने नै देखिएको छ । तर गत निर्वाचनमा ४ नम्बर वडाबाट प्राप्त गरेको मत भने यसपटक एमालेले गुमाउनसक्ने स्थानीयहरुको अनुमान छ । त्यस वडाका नेता शिवनारायण माझी उम्मेदवार बन्न नसकेका कारण उक्त वडाका एमाले मतदाताहरुको मत बाँडिएर जानसक्ने अनुमान गर्ने स्थानीयहरु धेरै छन् । संघीय सरकारको नेतृत्व गरिरहेका एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको पछिल्ला गतिविधिप्रति स्थानीयस्तरसम्मकै जनतामा नकारात्मक भावना पैदा भएको पाइएको छ । त्यसले गर्दा ग्रामथानमा एमालेले केही मत गुमाउनसक्ने सम्भावना देखिन्छ । ग्रामथान ७ की देबका घिमिरेले केपी ओलीकै कारण यसपटक यस ठाउँको मत एमालेमा कम जाने सम्भावना रहेको सुनाइन् । उनले भनिन् ‘हामीले पहिले एमालेलाई नै भोट दिएका हौं तर केपी ओलीको पछिल्लो व्यवहार हामीलाई चित्त बुझेको छैन, हाम्रो एरियाबाट यसपटक एमालेलाई सहयोग हुने सम्भावना कम छ ।’

यद्यपी ग्रामथान नेपाली कांग्रेसको पुरानो आधार क्षेत्र नै हो । पछिल्लो समय नेकपा एमालेले पनि त्यहाँ राम्रो जनमत संकलन गरेको छ । सातमध्ये उपाध्यक्षसहित पाँच वडाध्यक्ष जितेर कांग्रेसको जनाधारलाई भत्काएको एमाले अहिलेको उपनिर्वाचन आफू जित्नेमा ढुक्क जस्तै देखिन्छ । एमालेका एक स्थानीय कार्यकर्ताले भने ‘ग्रामथानमा संगठनको हिसाबले जे भएपनि एमालेको मत कमजोर छैन, यद्यपि २०७९ को भन्दा मत बढाउन सक्ने अवस्था चाहिँ छैन, त्यो मत जोगाउन सक्दा एमालेले अध्यक्ष जित्नसक्छ, किनभने कांग्रेसको मत यस पटक बढी यताउता चल्ने सम्भावना बढी छ ।’

नेकपा माओवादी केन्द्रका मोरङ इन्चार्ज कुशल लिम्बू भने यसपटक ग्रामथानमा माओवादी केन्द्रले अध्यक्ष पद जितेर विजयको झण्डा गाड्ने दाबी गर्छन् । माओवादीप्रति देशब्यापी बढेको समर्थन, सहानुभूति, भ्रष्टाचारको विरोधमा उभिएको पार्टीको रुपमा जनतामा परेको प्रभाव ग्रामथानमा पनि राम्रोसँग अभिव्यक्त भइरहेको भन्दै उनले चुनाव जित्ने आधार तयार भएको बताए । उनले ग्रामथानका सातवटै वडामा माओवादीले आफ्नो मतमा उल्लेख्य वृछि गरेको र सबै समुदायमा पार्टी पुगेका कारण चुनावी परिणाम आफ्नो पक्षमा आउने बताए । लिम्बूले चुनाव जित्ने दाबी गरे पनि ग्रामथानमा यस पटक त्रिपक्षीय प्रतिस्पर्धा भने मज्जैले हुने चुनावी माहोल ग्रामथानमा सहजै देख्न सकिन्छ । कांग्रेस र एमालेको केही मत घट्ने र माओवादीको मत बढ्ने अवस्थाले ग्रामथानमा तीन प्रमुख पार्टीबीचमै प्रतिस्पर्धा हुने अनुमान धेरैको छ । त्रिपक्षीय प्रतिस्पर्धामा जुनसुकै दलले पनि विजयको माला पहिरिन सक्ने भएकोले केही दिनको चुनावी माहोलपछि मात्र अझ निकट अनुमान गर्न सकिन्छ ।

शुक्रबार, ०७ मंसिर, २०८१, दिउँसोको ०३:४४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर