बिहीबारदेखि चार दिन भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह

विराटनगर । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि आइतबारसम्म कोशी प्रदेशसहित देशभर भारी वर्षा हुने प्रक्षेपण गरेको छ ।

बंगालको खाडी र अरब सागरतिरबाट उच्च जलवाष्पयुक्त वायु नेपाल सोझिएकाले भारी वर्षा प्रक्षेपण विभागले बुलेटिन जारी गरेर जानकारी दिएको छ ।

‘बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा साथै त्यस क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको प्रभावको कारण बिहीबार दिउँसोदेखि आइतबारसम्म देशभर साधारणतयादेखि पूर्णतया बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । देशका तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले कोशी, बागमती, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा र गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा अति भारी वर्षाको पनि सम्भावना रहेको पनि जनाएको छ।

महाशाखाले १० गते बिहीबार दिउँसोदेखि देशभर साधारणतयादेखि पूर्णतया बदली रही हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । कोशी, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा मधेस प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । त्यस्तै तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको बताएको छ।

असोज ११ गते शुक्रबारदेखि देशभर साधारणतयादेखि पूर्णतया बदली रही देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेश तथा कर्णालीका केही स्थानहरूमा तथा मधेशका थोरै भूभागमा मेघ गर्जन र चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले बुलेटिनमा जनाएको छ।

असोज १२ गते शनिबार पनि देशभर साधारणतयादेखि पूर्णतया बदली रही अधिकांश स्थानहरू हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका केही स्थानहरू र कोशी, सुदुरपश्चिम र मधेश प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।

विभागका अनुसार असोज १३ गते आइतबार देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । आइतबार पनि देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ ।

मनसुनमा रातिको समयमा पानी पर्ने सम्भावना हुने गरेकोले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको महाशाखाले जनाएको छ । यस्तै ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्नसक्ने, दैनिक जन–जीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

नेपालमा सरदर असोज २१ सम्म मनसुन बाहिरिने सम्भावना नरहेको विभागले जनाएको छ । पछिल्लो २४ घन्टामा इलामको कन्याममा १५१.६ मिलिमिटर वर्षा भइसकेको छ भने झापाको बाहुनडाँगीमा १०९.८, झापाकै अनारमनीमा १३२.८ र चन्द्रगढीमा १११ मिलिमिटर वर्षा भएको छ ।

कोशी प्रदेशका १२ जिल्ला, मधेसका चार जिल्ला, बागमतीका १३, गण्डकीका तीनवटा जिल्ला, लुम्बिनीका तीनवटा, कर्णाली दुई र सुदूरपश्चिमका पाँच जिल्ला वर्षापछिको जोखिममा रहेको महाशाखाले जनाएको छ । त्यसमा पनि कोशीका इलाम र पाँचथर अति जोखिममा छन् ।

बुधबार, ०९ असोज, २०८१, साँझको ०७:५९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर