कोशी मन्त्रिपरिषद्का तीन समिति गठन, स्वास्थ्यका कर्मचारीको सरुवा

विराटनगर । कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले तीन समिति गठन गरेको छ । मंगलबार बसेको बैठकले आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरको संयोजकत्वमा राजनीतिक तथा प्रशासनिक समिति, आन्तरिक मामिला तथा कानूनमन्त्री लीलाबल्लभ अधिकारीको संयोजकत्वमा कानून न्याय तथा प्रदेश मामिला समिति र भौतिक पूर्वाधारमन्त्री भूपेन्द्र राईको संयोजकत्वमा आर्थिक सामाजिक तथा पूर्वाधार समिति गठन गरेको हो ।

बैठकले स्वास्थ्य मन्त्रालयका १० र ११ औँ तहका कर्मचारीको सरुवा गरेको छ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरमा कार्यरत ११ औँ तहका निर्देशक डा.वीरेन्द्रकुमार मण्डललाई जिल्ला अस्पताल उदयपुरमा कामकाज गर्ने गरी सरुवा गरिएको छ भने १० औँ तहका वरिष्ठ जनस्वास्थ्य प्रशासक ज्ञानबहादुर बस्नेतलाई प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाबाट स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरमा सरुवा गरिएको छ । मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा.सुरेश मेहतालाई प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटामा सरुवा गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय कोशी प्रदेशले हरेक वर्ष सञ्चालन गर्दै आएको मुख्यमन्त्रीसँग जनता कार्यक्रम यस वर्षदेखि ‘जनतासँग कोशी प्रदेश सरकार’ नाममा सञ्चालन गर्ने निर्णय पनि भएको छ । मन्त्रिपरिषदको बैठकले कार्यक्रम सञ्चालन कार्यविधि पास गरेको सरकारका प्रवक्तासमेत रहेका मन्त्री अधिकारीले जानकारी दिए ।

बैठकले खानेपानी, सिचाइँ तथा उर्जा मन्त्रालय अन्तर्गत एसियाली विकास बैंकको ऋण सहयोगमा र साउदी फण्ड फर डेभलपमेन्टको सहलगानीबाट कोशी प्रदेशमा सिचाइँ आयोजना सञ्चालन गर्न वार्ता र सहमति गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । यो परियोजना अन्तर्गत कोशी प्रदेशमा करिब २७ वटा सिचाइँ आयोजना सञ्चालन हुनेछन् ।

त्यस्तै खानेपानी सिचाइँ तथा उर्जा मन्त्रालय अन्तर्गतकै जलवायू अनुकुलित वृहद खानेपानी आयोजनामा कार्यरत ३३ जना कर्मचारीको अस्थायी दरबन्दी स्विकृत गर्ने निर्णय पनि सरकारले गरेको छ ।

मङ्गलबार, ०८ असोज, २०८१, दिउँसोको १२:२७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर