माछापुच्छ्रे सहकारी ठगी गर्ने प्रभाकर काँग्रेस महामन्त्री थापाका विश्वास पात्र !

विराटनगर । नेपाली काँग्रेसका महामन्त्री गगन थापाका विश्वास पात्र मानिएका मोरङ विराटनगरका प्रभाकर थापा सहकारीको रकम अपचलन गरेको अभियोग लागेपछि केही महिनादेखि फरार भएको पाइएको छ ।

विराटनगर–७ स्थित माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्था लि.ले सर्वसाधरणको ९ करोड रुपैयाँ बढी बचत हिनामिना गरेको आरोप छ । उक्त सहकारीलाई प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले समस्याग्रस्त घोषणा गर्ने तयारी गरेको छ ।

थापा सोही सहकारीका सचिव थिए । सहकारीका अध्यक्ष अमलेश कर्णलाई भने पक्राउ गरिसकेको छ । गत भदौमा ९५ जना सहकारी पीडितहरुले अध्यक्ष कर्ण, सचिव थापासहित १५ जना संचालक विरुद्ध सहकारी ठगीमा उजुरी दिएका छन् ।

पक्राउ परेका कर्णसहित चार जना संचालकहरुले सहकारीमा निक्षेप गरेको एक हजार बढी बचतकर्ताहरूको ९ करोड २५ लाख ९१ हजार ६ सय १ रुपैयाँ हिनामनिा गरेको छानविन प्रतिवेदनले देखाएको छ । जसमा सहकारी पूर्व सचिव तथा व्यवस्थापक अमित कार्की, बहालवाला सचिव तथा संचालक समिति सदस्य प्रभाकर थापा र सहकारीका कोषाध्यक्ष राधादेवी लिम्बूसहित १५ जनाले सहकारीको रकम हिनामिना गरी ठगी गरेको उजुरीमा उल्लेख छ ।

प्रहरीमा उजुरी दिएपछि अध्यक्ष कर्ण बाहेक अन्य १४ जना फरार छन् । उनीहरुको खोजी भइरहे पनि पक्राउ नपरेको प्रहरीले जनाएको छ । ठगीमा संलग्न रहेका कार्की र थापा दुईजना नै काँग्रेसका स्थानीय नेता हुन् । ‘प्रभाकर थापा त महामन्त्री गगनकुमार थापाका निकट हुन्,’ काँग्रेसकै एक कार्यकर्ताले भने, ‘मोरङमा गगन थापाका चिनिएका नेता भनेकै प्रभाकर र कृष्ण कार्की हुन् ।’ थापा नेपाली काँग्रेसको भातृ संगठन तरुण दल मोरङका पूर्व सभापति पनि हुन् ।

स्रोतका अनुसार सहकारीमा समस्या आएर पक्राउ पर्ने अवस्था आएपछि थापा काठमाडौं पुगेर प्रहरी प्रमुखहरुलाई महामन्त्री गगन थापामार्फत फोन गराउने गरेका छन् । ‘काठमाडौं बसेर गृहमन्त्री रमेश लेखक र महामन्त्री गगन थापा मार्फत जिल्लाका प्रहरी अधिकारीलाई पक्राउ नगर्न दबाब दिइरहेका छन्,’ उक्त स्रोत भन्छ । उक्त सहकारीका विरुद्धमा अहिलेसम्म ९५ भन्दा बढीले उजुरी दिएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अहिलेसम्म कर्णबाहेक अन्य पक्राउ परेका छैनन् ।

जिल्ला सहकारी संघ मोरङका संचालक समिति सदस्य उमेश गुरूङको संयोजत्वमा चार सदस्य समितिले तयार पारेको छानविन प्रतिवेदन अनुसार सबैभन्दा बढी घोटला सहकारीका पूर्व सचिव तथा व्यवस्थापक अमित कार्कीले गरेका छन् । उनले चार करोड ७३ लाख ७४ हजार ९५६ रुपैयाँ हिनामिना गरेको प्रतिवेदनमा उल्लेख छ । यस्तै सचिवसमेत रहेका प्रभाकर थापाले एक करोड ६० लाख ३३ हजार चार सय दुई रुपैयाँ घोटला गरेका छन् । अध्यक्ष अमलेश कर्णले १ करोड ४७ लाख ८३ हजार २७५, कोषाध्यक्ष राधादेवी लिम्बूले १ करोड ४३ लाख ९९ हजार ९६६ रुपैयाँ घोटला गरेको छानविन प्रतिवेदनमा उल्लेख छ ।

प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशक्षिण कार्यालय कोशी प्रदेशले असार २५ गते दुई हप्तभित्रमा सहकारीको हिसाब छानविन गरी प्रतिवेदन बुझाउन समिति गठन गरेको थियो । जिल्ला सहकारी संघ मोरङको संचालक समितिको सदस्य उमेश गुरुङको संयोजत्वमा राष्ट्रिय सहकारी बैंक लि. विराटनगरको प्रमुख प्रभु पोखरेल, माछापुच्छ«े बचत तथा ऋण सहकारी संस्था शेयर सदस्य उत्तम ढुङगेल र सहकारीका सदस्य श्याम राज कोइराला छानविन समितिमा थिए । उक्त समितिले तयार पारेको प्रतिवेदन प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय कोशी प्रदेशका निमिक्त रजिष्ट्रार हरिबहादुर खत्रीलाई बुझाइसकेको छ ।

घोटला गर्ने संचालहरुले सहकारीको नियम, मूल्य मान्यताविपरीत हिनामिना गरेको रकम जग्गामा लगानी गरेको देखिएको छ । उनीहरुले आफन्त र नातागोता व्यक्तिलाई सहकारीको रकम विना धितो कर्जा दिएको पाइएको छ । धितो नराखी २ करोड बढी रकम ऋण दिएको देखिन्छ । चार जना संचालकको नाममा रहेको जग्गा पनि छानविन समितिले रोक्का राख्न सुझाब दिएको छ । प्रभाकर थापाको सबैभन्दा बढी जग्गा रहेको देखिएको छ । थापाको झापाको धुलाबारी २ मा १७ कठ्ठा जग्गा देखिएको छ । कित्ता नम्बर ९६ रहेको ४ कठ्ठा १० धुर र ३०७० किता नं. रहेको ४ कठ्ठा १० धुर जग्गा धुलावरीमा देखिएको छ । यसैगरी थापकी श्रीमतिको नाममा पनि १०६ र ८१२ किता नंं. को १७ कठ्ठा जग्गा देखिएको छ । सहकारीको निक्षेप जग्गामा लगानी गरेको देखिएको छ ।

कार्कीको निजी खातामा सहकारीको ५ करोड
व्यवस्थापक अमित कार्कीको नाममा रहेको बैंक खातामा सहकारीको पाँच करोड बढी रकम देखिएको छ । सिटिजन इन्टरनेशनल बैंकको खाता नं. ००२००२००००९३९ एस. ए. १६ फ्रेब्रुरी २००९ देखि र एक्सल डेभलपमेन्ट बैंक विराटनगर शाखा खाता नंं. ०१२०११०००४७१४३०००००१ मा ४ अक्टुबर २०१२ देखि सहकारीको करिब ५ करोड ७५ लाख जम्मा गरेको देखियो । जुन रकम शंकास्पद र थप छानबिनको घेरामा ल्यानुपर्ने देखिएको प्रतिवेदनमा उल्लेख छ ।

२०७९ मंसिर २८ गते भएको खेला परीक्षण अनुसार १ करोड ४९ लाख ३७ हजार २९३ रुपैयाँ ऋण लगानी भएको मध्ये अधिकांश भाखा नाघेका, पुराना, कागजी प्रक्रिया पुरा नगरी दिएको पाइएको छ । ९५ प्रतिशत लगानीमा देखाएको ऋण जोखिममा रहेको अवस्था छ । ऋण लागनी जम्मा २०५ जनामा देखाएको मध्ये ५ जनाको मात्र धितो जमानिमा ऋण लागनी गरेको देखाएको छ । ऋण लगानीको संयोजकमा अमित कार्की रहेका थिए । कार्कीले २०६९ साउन ५ देखि २०७१ फागुन २९ गतेसम्म ३८ पटक बैठक बसी ऋण लगानी गरेको प्रतिवेदनमा उल्लेखछ । कार्कीले गरेको ऋण लगानी अहिले जोखिममा रहेको छ ।

शुक्रबार, ०४ असोज, २०८१, दिउँसोको ०३:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर