जसपाका नेता लिम्बूसहित ७० जना माओवादीमा प्रवेश

उर्लाबारी । जनता समाजवादी पार्टी (जसपा) का नेता समशेर लिम्बूसहित ७० जना नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्र उर्लाबारीले मंगलबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा ७० जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

नेपाल आदिबासी जनजाति महासंघ उर्लाबारीको अध्यक्षसमेत रहेका लिम्बू पहिचानवादी नेताका रूपमा स्थापित छन् । उनीसहित ७० जना माओवादीमा प्रवेश गरेका हुन् ।

यस्तै, प्रेस चौतारी नेपालको कोशी प्रदेश सदस्य विजय धिमाल पनि प्रेस सेन्टर नेपालमा प्रवेश गरेका छन् । नेकपा एमालेनिटक पत्रकार संगठन प्रेस चौतारी छोडेर धिमाल नेकपा माओवादी केन्द्रनिकट प्रेस सेन्टर नेपालमा प्रवेश गरेका हुन् ।

मोरङको उर्लाबारी–८ निवासी धिमाल डेढ दशकदेखि पत्रकारितामा सक्रिय रहेका छन् । पूर्वी मोरङका पत्रकारहरूको संस्था सञ्चार क्लब नेपालको महासचिव भइसकेका उनी धिमाल पत्रकार मञ्चका केन्द्रीय अध्यक्ष हुन् ।

लिम्बू र धिमालसहित नवप्रवेशी ७० जनालाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य, पूर्वसभामुख तथा प्रदेश सांसद बाबुराम गौतम, केन्द्रीय सदस्य विशेन्द्र चेम्जोङ, प्रदेश कोषाध्यक्ष गगन पुरी, मोरङ सह–इन्चार्ज प्रेम मिभकलगायतले पार्टीमा स्वागत गरेका थिए ।

उक्त कार्यक्रम उर्लाबारी नगर अध्यक्ष गजेन्द्र दंगालको सभापतित्वमा सम्पन्न भएको थियो ।

मङ्गलबार, २४ पुष, २०८०, रातीको ०८:५७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर