विराटनगर । दोस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधिको लागि गोलबजारको प्रतिभा फुटबल क्लब सिरहा र साइनो स्पोर्ट्स क्लब रानी विराटनगरबिच प्रतिस्पर्धा गर्दैछन् ।
विराटनगरस्थित जुट मिलको खेलमैदानमा शुक्रबार हुने फाइनलमा साविक उपबिजेता साइनो र पहिलो पटक फाइनलमा पुगेका गोलबजार उपाधि आफ्नो पक्षमा बनाउन भिड्ने भएका हुन् ।
साइनाले गाइघाट एघार उदयपुर, गोधुली क्लब धरानलाई हराउँदै फाइनलको यात्रा सुरक्षित गरेको हो । यस्तै गोलबजराले एपीएफ र एन्फा एकेडमी धरानलाई रहाउँदै उपाधि नजिक पुगेको हो ।
साविकको उपबिजेता साइना खेल जितेर उपाधि रक्षा गर्ने सोचका साथ मैदानमा उत्रिने छ भने गोलबजार उपाधि आफ्नो हातमा पारेर रेकर्ट राख्ने योजनाको साथ मैदान उत्रिने बताएको छ ।
गोलबजारका म्यानेजर संजीव लामाले पहिलो पटक प्रतियोगितामा भाग लिएकोले उपाधि आफ्नो पक्षमा पार्ने उद्देश्यले खेलाडी मैदान उत्रिने बताए । आफूसँग राम्रो खेलाडी भएका कारण जित निकाल्न सहज हुने उनले बताए । ‘हामीसँग तीन जना विदेशी खेलाडी थिए । फाइनलमा दुई जना विदेशी खेलाडीसहित मैदान उत्रिनेछन,’ उनले भने, ‘४,३, ३ को रणनीअनुसार खेलाडीहरु मैदान उत्रिनेछन् ।’
साइनोका स्पोर्टस क्लबका प्रशिक्षक राजु थापाले अघिल्लो मिल्स गोल्डकपमा उपविजेतामा चित्त बुझाएकाले यसपटक भने उपाधि बाहिर जान नदिने तरिकाले आफ्नो पक्षमा जित निकाल्ने बताए । ‘हामीलाई घरेलु दर्शकहरूको साथ सहयोग रहनेछन् । खेलाडी हरू घरेलु मैदानमा खेल्दैछन् । विगत उपजिबेता भएका थियौ । यो पटक उपाधि आफ्नो पक्षमा पार्नेगरि खेलाडीहरूले खेल पस्किनेछन्,’ उनले भने ।
मिल्स गोल्डकपको बिजेताले नगद २ लाख १ हजार रुपैयाँको साथै ट्रफि प्राप्त गर्नेछन् । उप बिजेताले नगद १ लाख १ हजार रुपैयाँ रहेको छ । यसअघि प्रथम संस्करणमा बिजेताले १ लाख ५० हजार र उपबिजेताले ७५ हजार रुपैयाँ प्राप्त गरेका थिए ।
उत्कृष्ट हुने खेलाडीले २५ हजार, म्यान अफ द म्याच हुने खेलाडीलाई ५ हजार रूपैयाँ रहेको छ । यस्तै उत्कृष्ट हुने खेलाडीलाई १५ हजार, नव उदयमान एक जना खेलाडीलाई २० हजार रहेको छ । प्रशिक्षक, गोल किपर, डिफेन्स, मिड फिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्तालाई जनही ७ हजार रुपैयाँ रहेको छ ।