हिँड्न पनि नजान्ने हामी शिक्षितहरु !

 गणेश लम्साल

स्थानः विराटनगर महानगरको मुख्य बजार
समयः– अपरान्ह्र
दृश्यः बुधहाट चौक उत्तर एक हुल युवाहरु पुरै रोड ढाकेर पंक्तिबद्ध भएर गफिँदै हिँडिरहेका छन् । लाग्छ, सबै राजमार्ग उनीहरुको मात्रै हो । नजिकै पुगेका एकजना साइकल यात्री बाटो माग्दै निरन्तर घण्टी बजाइरहन्छन् । तर, गफमा मग्न युवाहरु थाहा पाएर पनि बाटो छाड्दैनन् । साइकलयात्री मौका हेरेर अगाडि बढ्छन् । तर, साँघुरो भएकोले एउटा युवालाई साइकलले समान्य ठक्कर दिन्छ र यात्री आफैं पनि साइकलबाट लड्न पुग्छन् । घाइते भएका यात्रुलाई उठाएर सहयोग गर्नु त परै जाओस् पंक्तिमा सडक वारपार हिँडिरहेका उनीमाथि मुड्की उज्याउँदै आमाचकारी गाली गर्छन् । कसैले धक्का दिएर अपमान गरेको भन्दै भर्कुन पनि खोज्छन् । विचरा अधबैसे उमेरका सरल जस्तो देखिने साइकलयात्री गल्ती भयो भन्दै क्षमा माग्छन् र लुरुलुरु बाटो लाग्छन् ।
हेर्दा समान्य लाग्ने यस्ता दृश्य विराटनगर महानगरको व्यस्त बजारमा मात्र हैन, सानाठूला सबै शहर बजार र राजमार्गहरुमा देख्न पाईन्छ । यस्तो दृश्य हेर्न मात्र नभएर भोग्ने पटक–पटक अवसर पाएको म साइकल चालकलाई भौतिक विकासले भव्य बनाउँदैमा मानिस सम्भ हुँदैन रहेछ भन्ने लाग्नेगर्छ । तरपनि पढेलेखेका मानिसहरु र समाज शिक्षित हुँदै गएपछि सदाचारी आचारण र कर्तव्य पालना पनि हुँदँजानेछ भन्ने आपेक्षा राख्ने गर्दछु । तर, उमेरले ५० टेकिसक्दा पनि अझै अपेक्षाभन्दा झन् पढेलेखेका शिक्षत र सम्य अनि आधुनिक भनाउन रुचाउन चाहने मानिसहरु नै नैतिक आचरण र कर्तब्य पालनामा अटेर भइरहेको पाइरहेको छु ।
अझैसम्म सडकमा कसरी हिँडनुपर्छ भन्ने सम्म हामीलाई थाहा छैन । सडकमा हिँड्दा बायाँ साइटबाट हिँडनुपर्छ, जहाँ पायो त्यहाँबाट बाटो काट्नुहुदैन । पैदल हिँडने र साइकल कुदाउनेहरुलाई सम्मान गर्नुपर्छ भन्ने हामी हेक्का गर्दैनौं । राजमार्गमा कुद्ने सवारी साधानलाई बाटो छाड्न पनि हामी अटेर गर्छौ । यस्तो लाग्छ, हामीले सवारी हर्नको आफैंले जानेर सम्मान ग¥यौ र बाटो छाड्यौं भने त्यो हाम्रो शहरी सानमानको खिलाफ हुनेछ । समूहमा मर्निङ र इभिनिङ वाकमा हिँड्ने धेरैको तरिका पनि यस्तै हुनेगर्छ ।
हामी साइकल, रिक्सा अनि सिटी र टेम्पो कुदाउने चालकहरुलाई सम्मान गर्न सक्दैनौ । कतिसम्म भने ती सवारीमा सवार हुने यात्रुहरु पनि तल्लो स्तरका हुन् भन्ने हाम्रो सोच अझै कायमै छ । सडकमा हिँडने बटुवाहरुको सम्मान गर्नु त झन परको कुरा । शहरी क्षेत्रमा कलेज जाने र आउने समयमा राजमार्गमा हे¥यौं भने हामी के सिकिरहेका मात्र हैन कसरी के सिकाइरहेका छौं भन्ने पनि प्रष्ट हुन्छ ।
अर्को हिँडनसमेत नजान्ने वा नमान्ने हामी शिक्षित शहरीयाहरुले सडक सभ्यतालाई कहिल्यै सम्मान गर्न जानेका छैनौं । एकातिर हामी सफा सुग्घर फराकिला र चिटिक्क सजाइएका सडक चाहन्छौ । तर, करोडौ खर्चेर बनाइएका ती सडकमा अनुशासित भएर हिँडनुपर्छ भन्ने ख्याल गर्दैनौं । फोहोर फाल्न हुदैन, जथाभावी पान, गुट्खा खाएर थुक्न हुदैन भन्ने कुरा त मानसिक रोगीहरुले मात्र पालना गर्ने हो भन्ने जस्तै हाम्रो व्यवहार हुन्छ । सडकपेटी मिचेर पसल फिजाउनु र हिँडने यात्रीहरुलाई अवरोध गर्नु मात्र हैन पसल अगाडिको राजमार्ग निजी ठानेर अतिक्रमण गर्नु पनि बहादुर बानी हो ।
सवारी कुदाउने शिक्षितहरु पनि कम छैनांै । ट्राफिक नियम पालना गरेर सुरक्षित ढंगले आफनो निजी सवारी कुदाउनु पाखेपन हो भन्ने बुझाई छ । यसैले तीब्र गतिमा हुँइकिन हामी रुचाउँछौ । अर्को नो पार्किङ लेखेको ठाउँमा पार्किङ गर्न पनि हामी खप्पिस छौं । नियम पालना नगरेकोमा प्रहरीले न्युन जरिवाना तिरायो भने हामी आफनो सानमानमा धावा बोलेको ठानेर झगडा गर्न मात्र हैन कुटपिट गर्न पनि पछि पर्दैनौ । किनभने हामीले आफनो सवारीमा हिँडन पनि जानेका छैनौं । लाइसेन्स नबोक्नु, बोकेपनि प्रहरीले चेकजाँच गर्दा नदेखाउनु, लाइसेन्सबिनै सवारी कुदाउनु, मापसे गरेर सवारी चलाउनु पनि हाम्रो अर्को शहरीया संस्कृति हो । हामी सवारीमा सुरक्षित यात्रा चाहदैनौं ।
सार्वजनिक सवारीको कुरा पनि उस्तै हो । भन्नका लागि मापदण्ड, नियम पालना गराएर भरपर्दो र सुरक्षित यात्रा गराउँछौं भनेर प्रतिबद्धता जनाएपनि हाम्रो व्यावहार उल्टो छ । कोचमकोच यात्रु नहालेसम्म र तीब्र गतिमा हुँइकिएर अर्कोलाई नउछिनेसम्म हाम्रो यातायात व्यवसायको धर्म पालनै हुदैन भन्ने हाम्रो ठम्याइ छ । अनि समय अनुसार चल्ने र सुरक्षित यात्रा गराउन रुचाउने चालकहरुलाई हामीले अल्छे र डरछेरुवा भनेर हेप्ने गरेका छौं ।
र, मुख्य कुरो जनताका धेरै समस्या भएको बेला नाथे बटुवाका लागि सडकपेटी खाली गराउनुपर्ने, हरियालीयुक्त सडक बनाउन छाडेर अब साइकल कुदाउनेहरुका लागि लेन बनाइदिनुपर्ने ? शहरको बजारमा भीड नभए कहाँ हुन्छ त ? आफूले जानेर हिँडनुपर्छ त भन्दै अनुगमन गरेर नियम पालना गराउन अटेर गर्ने बानी पनि हामी सुशासनमुखी नियमनकारी निकाय र सरकारहरुको छ । हामीले असल संस्कार र सभ्यताको द्योतक अनुसाशासित भएर हिँड्नु पनि मुख्य हो भनेर पढ्न पढाउन, सिकाउन र बुझाउन चाहिहेकै छैनौं । बरु दुर्घटना न्युनिकरण गराउन करोडौंको परियोजना दाताहरुसँग मागेर देखावटी काम गर्न, घाइतेको उपचारका लागि ठूला ट्रमा सेन्टर निर्माण गर्न गर्व गरिरहेका छौं । एकातिर सडक सुशासनका लागि करोडौं खर्च गरिरहेका छौं भने अर्कोतिर हिँड्न सिकाउनु त हिन काम पो हो त भनेर चासो दिन चाहिरहेका छैनांै ।
हामीले कम्तीमा पहिले हिँड्ने तरिका सिक्न जरुरी छ । सही तरिकाले हामी सबैले अनुशासित भएर हिँड्न सिक्यौ भने हामी आफू त सुरक्षित हुन्छौं नै समाजमा अरुलाई पनि सुरक्षित राख्न सक्नेछौ । राज्य प्रशासनलाई शिक्षत बनाउन सक्नेछौ । त्यसपछि मात्र हामी सडकमा बटुवाका लागि पेटी र अलग्गै साइकल लेन अनि सुरक्षित पार्किङस्थल निर्माण गराउन सफल हुनेछौं । हामीले हिँड्न सिक्यौ भने सभ्य समाजका लागि कर्तव्यपालना गर्नुपर्छ भन्ने संस्कार विकास हुर्कदै जान्छ । अन्तमा मेरो सबैसँग आग्रह छ, ‘सभ्य समाजको शिक्षित नागरिक भनाउन चाहन्छौ भने पहिले हामीले हिँड्न किन नसिक्ने ?’

सोमबार, ०३ कार्तिक, २०७७

प्रतिक्रिया:

सम्बन्धित खवर