आतंक मात्र फैलाउने सरकार

 लीलावल्लभ घिमिरे

कोरोनाको कालो बादल काहालीलाग्दो अवस्थामा मडारिरहेको छ । देशमा तीन तहका सरकार छन् । तर, समाचार सुन्यो भने उल्टै सरकारहरुले नै आतंक फैलाइरहेको जस्तो लाग्छ । चुनावका बेला मत परिणाम सार्वजनिक गरेझैं हरेक दिन स्वास्थ्य मन्त्रालयका प्रवक्ताले कोरोना संक्रमिताको संख्या सार्वजनिक गर्ने कामभन्दा सिन्को भाँचेका छैनन् । वास्तवमा नै भन्ने हो भने विश्व स्वास्थ्य संगठन र यो हाम्रो सरकारले कोरोनाको आतंक नै फैलाउन लागेका हुन् कि जस्तो लाग्छ ।
लकडाउन खुलेसँगै कोरोनाको वाढी आउनेमा कुनै शंका थिएन् । तर, सरकारले तयारीका नाममा सिन्कोसमेत भाँच्ने काम गरेन । तिनै तहका सरकारको ध्यान क्वारेन्टाइनमा गयो । त्यसबेला के–के न गरे जस्तो गरे । मन्त्री, मुख्यमन्त्रीहरु क्वारेन्टाइन उद्घाटनमा व्यस्त भए । केहिपछि कोरोना देखिन लाग्यो । नामका मात्र भएपनि कोभिड अस्पताल बने । मन्त्रीहरु कोरोनामुक्त भएका संक्रमितहरुलाई स्वागत गर्न फुलमाला लिएर पुगे । अहिले अवस्था उल्टो छ । मन्त्रीहरु नै संक्रमित भएका छन् । कोरोनाका संक्रमितहरु घर–घरमा छन् । संघीय, प्रदेश सरकारका कुरा छोडौं आज वडाध्यक्षलाई समेत आफ्नो वडामा कति संक्रमित छन् भन्ने हेक्का छैन । जनता दैव भरोसामा छन् ।

पहिलो पटक चैत्र ११ गतेवाट हाम्रो देशमा लकडाउन भएको हो । लकडाउन भनेको सरकारलाई तयारी गर्ने अवस्थाका रुपमा लिइन्छ । तर, लकडाउनको अबधिमा सरकारले के तयारी ग¥यो भन्ने कसैलाई थाहा छैन । आज बजारमा गुणस्तरहिन मास्कहरु यत्रतत्र छन् । सेनिटाइजरको मूल्य सर्वसाधारणको पहँुचभन्दा धेरै माथि छ । यहाँसम्म कि साबुनको मूल्यसमेत महंगो छ । कोरोनाबाट बच्नका लागि मास्क अनिवार्य लगाउने र साबुनपानीले हात धुने तथा सेनिटाइजर प्रयोग गर्न चिकित्सकहरुले सल्लाह दिइरहेका छन् ।

यतिका लामो समय सम्म सरकारको तलब खाएर शिक्षकलगायत अन्य क्षेत्रका कर्मचारीहरु घरैमा बसे । कमसेकम सरकारले उनीहरुलाई गाउँ–गाउँमा परिचालन गरेर कोरोनाबाट बाच्न मास्कको प्रयोग र हात धुन सिकाउने काममा लगाउन सक्थ्यो । गुणस्तरीय मास्क उत्पादन गरी सस्तो मूल्यमा विक्री गर्ने उद्योगहरुलाई कर छुट दिन सक्थ्यो । जसले गर्दा सबै नेपालीले कमभन्दा कम मूल्यमा गुणस्तरीय मास्क प्रयोग गर्न पाउँथे । त्यसैगरी आज साबुन प्रति गोटा ५ देखि १० रुपैयाँसम्म पाइने भए यसको प्रयोग सबैले गर्नसक्थे । साबुन र सेनिटाइजर उद्योगहरुले एक वर्षसम्मका लागि कर मात्र छुट दिन सकेको भए बजारमा यस्ता वस्तुहरु सस्तो मूल्यमा पाइन्थे ।

सरकारहरुको तयारी भनेको अस्पतामा वेड थप्ने मात्र हैन । जनचेतनाको पाटो प्रमुख हो । यसतर्फ कुनै सरकारको ध्यान जान सकेको छैन । अब विगतमा स्वास्थ्य केन्द्रहरुमा ‘चाहिए जति लग्नुहोस्’ भनेर लेखिएका बाकसमा राखेका कन्डमको ठाउँमा मास्क राख्नुपर्छ । यसरी मास्कका बाकस स्थानीय सरकारहरुले सार्वजनिक स्थानमा राख्न सक्नुपर्छ । अहिले त कोरोना सहरमा छ । यहाँका बासिन्दालाई मास्क प्रयोग गर्नुपर्छ भन्ने पनि थाहा छ र मास्क चाहेको बेला किन्न पनि पाइन्छ । तर, कोरोना अब चाडवाडसँगै गाउँ जाँदैछ । गाउँमा मास्कको प्रयोग गर्नुपर्छ भन्नेपनि कमलाई थाहा छ र भनेको बेला मास्क पनि पाइदैन ।

हुन त बजारतिर हेर्दा मास्कको प्रयोग गर्नेहरुमा पनि जात्रा नै छ । सहि तरिकाले कसैले प्रयोग गरेको पाइदैन र धेरैले त मास्क छ भन्दा छ भन्नका लागि मात्र बोकेका हुन् कि जस्तो लाग्छ । साँझ पर्न नपाउँदै होटलहरु भरिभराउ हुन्छ । त्यस स्वास्थ्यको कुनै मापदण्ड अपनाइएको हुदैन । बजारमा दशैंको भिडभाड सुरु भएको छ । लामो समयसम्म बन्द रहेका पसलहरुलाई २–४ पैसा कमाइहाल्नु छ भने किन्नेहरुलाई पनि सित्तैमा पाएजस्तो भिडम्भिड गरेर भएपनि चाँडै चाहिएको छ । यसको अनुगमन गर्ने फुर्सद कसैलाई पनि छैन ।

जनताहरु आज बरु कोरोना लागेर चाँडै निको भए ढुक्क हुन्थ्यो भन्ने मनस्थितिमा छन् । यसको प्रमुख कारण सरकार हो । जब जनतालाई सरकारको विश्वास हुदैन्, अनि यस्ता भावनाको विकास हुन्छ । अहिलेको अवस्था भनेको आफ्नो सुरक्षा आफै गर्ने हो । यसमा जनता अफै सजग हुनुको विकल्प छैन । मुखमा आएको नेपालीहरुको महान् चाड दशैं र तिहारले कस्तो रुप लिन्छ भन्ने आँकलन गर्न निकै कठिन छ । यसबाट कसरी जोगिने भन्ने प्रमुख चुनौति हो । सरकारले भन्छ तर केहि गर्दैन । आफैले बनाएका नियम आफै पालन गर्न सरकार सक्ने अवस्थामा छैन । संक्रमित हुने र निको हुनेको संख्याबीचको ग्याप २५ हजार नाघ्यो भने लकडाउन हुन्छ भनेर सरकारले नै भन्थ्यो । आज यो ग्याप २७ हजारमाथि पुग्दासमेत सरकार मौन छ । लाग्छ, यो देश पशुपतिनाथले थामेको छ । अब त पशुपतिनाथले पनि सकारले जसरी नै हात खडा गरेजस्तो छ । तीन तहका सरकार छन् । कमसेकम यो चाडवाडमा कसरी संक्रमण फैलनबाट जोगाउने भन्नेबारे एउटा सरकारले त सोच्नु प¥यो नि । सधैंभरी दैव भरोसाले कसरी चल्न सकिन्छ ?

आइतबार, २५ असोज, २०७७

प्रतिक्रिया:

सम्बन्धित खवर