सरोज पोख्रेल
गत डिसेम्बर महिनाको अन्त्यताका हाम्रो उत्तरी मित्र राष्ट्र चीनमा देखा परेको कोरोना भाइरस आज मानव जीवनशैलीकै मन्दविष बन्न पुगेको छ । वर्तमान समयमा यो समाजको डर र चिन्ता नै कोरोना भाइरस बन्न पुगेको छ । वुहानको बजारबाट सुरु भएको भाइरसले आज सारा संसारमा नै क्रमशः बजार विस्तार गरिरहेको छ । चरण–चरणमा बजार विस्तार गर्दै समाजको हर कुनामा जीवनको मूल्य प्रचार गर्नमा भाइरस व्यस्त छ । कोरोना भाइरसको सन्त्रासका कारण सुविधा र सम्पत्तिले विभेद लादेको समाजका सबैखाले वर्ग र समुदाय प्रभावित र प्रताडित छन् ।
मानव समुदाय र समाजको विकासक्रम संघर्ष र युद्धकै पेरिफेरीमै हुँदै यहासम्म आइपुगेको हो । पहिलो र दोश्रो विश्वयुद्धले संसारका धेरै देशमा ठूलो हलचल र परिवर्तन ल्यायो । यसरी मर्न र मार्न नडराएको समाज र समुदाय आज पलपल जीवन र जिन्दगीको याचना गरिरहेको छ । प्रथम विश्वयुद्धको अन्त्यताका समाजवादी धार र समाजवादको व्यापक रुपमा वहस, चर्चा र परिचर्चा हुनथाल्यो । त्यहीबेला तत्कालिन रुसमा जार शासनको अन्त्य गरेर लेनिनको नेतृत्वमा सर्वहारावर्गको अधिनायकत्व स्थापित हुने गरि युएसएसआरको गठन भयो । जसलाई संसारको पहिलो समाजवादी सरकार र समाजवाद मानिन्छ । समाजवादको बहस कयौं वर्षदेखि चलेपनि प्रयोगात्मक रुपमा किसान र मजदुरको सरकार गठन भएर समाजवादको यात्रामा प्रवेश गरेको यो नै पहिलो थियो । पछि यसैको अनुकरण गर्दै संसारमा एक किसिमको शासन व्यवस्थाको धारको रुपमा समाजवादलाई विकास गरियो । यो नै माक्सवादी सिद्धान्तको पहिलो सफल प्रयोग भएको थियो ।
त्यसको केही दशकपछि चीनमा पनि माओको नेतृत्वमा क्रान्ति भयो । जहाँ किसानको सरकार गठन गरियो, जुन ग्रामिण परिवेशमा आधारित रह्यो र जनवादी गणतन्त्र चीनको स्थापना भयो । तथापि चीन र तत्कालिन रुसको क्रान्तिमा के फरक रह्यो भने रुसको क्रान्ति मजदुरमा आधारित रही उद्योग र उत्पादनसँग सम्वन्धित थियो भने चीनको विशुद्ध उत्पादन गर्ने किसान लक्षित रह्यो । यसैगरी क्युवामा पनि फिडेल क्यास्त्रोले वाटिस्टाको तत्कालिन कम्युनिस्ट सरकारसँग संघर्ष गरि समाजवादको सुरुवात गरे । जुन आज संसारकै नमुना मानिन्छ । वर्तमान समयमा युएसएसआर नरहेपनि चीन र क्युवालाई समाजवादी सरकार मानिन्छ । जहाँ समाजवाद रहेको विश्वास गरिन्छ ।
समाजवादी शासन व्यवस्था अंगालेका देशहरुले हालसम्म पनि सोचेजस्तो समाजवाद ल्याउन सकेका छैनन् । माटो र समयानुकुल समाजवाद ल्याउन त्यहाँ पनि प्रयत्न जारि छ । हाम्रो देशमा पनि राजनीतिक दलको गणना गर्ने हो भने अधिकांश समाजवादी धारका छन् र अहिले त सरकार पनि समाजवादी धारकै सर्वहाराको प्रतिनिधित्व गर्नेहरूकै रहेको छ । तर, यहाँ समाजवाद चैं सपनाको वायुपंखी घोडा जस्तो भईसकेको छ । त्यही पनि नेपाली जनतालाई आशा र भ्रम छ, एकदिन समाजवाद अवश्य पनि आउनेछ ।
यसरि विभिन्न देशले दशकौं र सयौं वर्ष समाजवादी अभ्यास गर्दा पनि आउन नसकेको समाजवाद मात्र वर्षदिन नपुग्दै कोरोना भाइरसले ल्याइसकेको छ । पहुँचवाला र सम्पन्न व्यक्ति तथा समुदायलाई जुनसुकै शासन व्यवस्था आएपनि फरक पर्दैन । किनकि उनीहरु धन र पहुँचले शासन र शक्ति किन्ने ल्याकत राख्दछन् । त्यस्तै हालसम्म अधिकांशलाई लाग्ने रोगबाट पनि सुविधाभोगी र सम्पन्न समुदाय विरलै असुरक्षित छन् । किनकि उनीहरु संसारमा उपलब्ध सबैखाले सेवा र सुविधा उपभोग गर्न सक्षम छन् । सन् २०१९ को अन्त्यताका समाजवादी मुलुक चीनमा जन्म भएको कोरोना भाइरसले भने आफ्नो चरित्र पनि समाजवादी नै रहेको पुष्टि गरेको छ । आज झुपडी र महल दुवैको साझा शत्रु नै कोरोना भाइरस बनेको छ । हालसम्म संसारमा कयौं प्रकोप आए होलान्, तर यसरी झुपडी र महलको साझा सरोकारको विषय विरलै बने । बाढी, पहिरो, भूकम्प लगायतका प्राकृतिक विपद् पनि झुपडी र महलको साझा सवाल आजसम्म बन्न सकेको छैन ।
२०७२ सालमा गएको भूकम्पले केही समय झुपडी र महललाई एउटै त्रिपालमुनि व्यवस्थापन गरेको थियो । तर, त्यो क्षणिक मात्र रह्यो । आजको समयमा देखिएका प्राणघातक रोगहरु समाजका उच्च र सुविधाभोगी वर्गले जित्न सक्छन् । तर, कोरोना भाइरस मात्र त्यस्तो एक महामारी हो, जसले सबैलाई समान देख्दछ । आउँ, झाडापखालालगायतका रोगहरु लागेर सम्पन्न र सुविधाभोगी वर्ग र समुदायले ज्यान गुमाउदैनन् । ज्यान गुमाउने त केवल निम्न र गरिव समुदायका हुन्छन् । जोसँग सुविधा खरिद गर्ने हैसियत हुदैन । संसारका विभिन्न देशका उच्चपदस्थ अदिकारी, वर्ग, समुदाय र सरकारका हिस्सेदारहरुलाई सामान्य रोग लागेको र यसैकारण ज्यान गएको प्रायः सुन्नमा आउदैन । तर, कोरोना भाइरसले चैं कसैलाई पनि विभेद नगरी सामाजिक व्यवहार गरेको देखिन्छ । नेपालमा पनि क्रमिक रुपमा कोरोना प्रकोप बढ्दैछ । यहाँ पनि उच्च र सुविधाभोगी वर्ग र समुदायलाई अन्य प्रकृतिका रोगले खासै असर पारेको देखिदैन । उनीहरुले हरसम्भव सुविधा खरिद गरिरहेका हुन्छन् । सरकारी अधिकारी, मन्त्री, सांसदलगायत उनका आसेपासेले सामान्य रोगले ज्यान गुमाए भन्ने तथ्य विरलै छन् । प्रायः नेपालमा रोग र सन्त्रासको चपेटामा सर्वसाधारण र सर्वहारा मात्र पर्ने गरेका थिए । तर, आज समाज एउटै लयमा एकताबद्ध बन्न बाध्य भएको छ । किनकि सबैको मूल ध्येय भनेकै कोरोना भाइरसलाई परास्त गर्नु र यसबाट जोगिदै सबैलाई सचेत र सावधान गराउनु हो ।
हाल नेपालमा दूरदराजमा सुलभ मात्रामा स्वास्थ्य सेवा उपलब्ध छैन । सहरको तुलनामा गाउँमा आवादी पातलो र वातावरण स्वच्छ हुन्छ । तर, कुनै भयानक रोग लागिहालेमा जीवन बाच्न ज्यादै गाह्रो छ । हाल देखा परेको कोरोना भाइरसले गाउँमा भन्दा सहरमा बढी बजार विस्तार गरेको छ । सर्वसाधारणसँगै समाजका प्रतिष्ठित र गन्यमान्य व्यक्तिहरुलाई समेत यो देखा पर्न थालिसकेको छ । यसले समाजका कसैमाथि विभेद गरेको छैन । संसारमा उपलब्ध हुने सबै किसिमको सुविधा किन्ने ल्याकत राख्ने गरिव देशका धनि नेपाली पनि यसबाट जोगिन सकेका छैनन् । अझ यो त समाजका सर्वहाराभन्दा भन्दा उच्च र हुनेखाने समुदायतर्फ बढी आकर्षित रहेको देखिन्छ । आम सर्वसाधारणलाई प्रायः सामान्य रोग पनि सधै चिन्ताको विषय बनिरहन्छ । तर, समाजका सबैलाई बन्दैन । स्वास्थ्य जस्तो गम्भीर र संवेदनशील क्षेत्रमा माफिया र राजनीतिको धुमिल छायाँ परेको कारण करोडौं नेपाली अहिले पनि न्यूनतम स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर छन् । ठूला र सुविधा सम्पन्न अस्पतालमा सर्वसाधारणको पहुँच पुग्दैन थियो । तर, अहिले कोरोनाले सबै समान बनाइदिएको छ । सबैलाई जिन्दगीको महत्व सिकाउँदैछ, जनताको रगत र पसिनाले भिजेको कुर्सीमा बसेर सत्ता र शक्तिको माध्यमबाट राज्यकोषको दोहन गर्ने निर्लज्ज नीति निर्माताहरुलाई पनि समाजवाद भनेर बारबार बोल्ने बोलिको व्यावहारिक कार्यान्वयन गर्ने यो उपयुक्त अवसर हो । आम जनता कस्तो पिडामा जिन्दगी काटेका रहेछन् भन्ने महसुस आज हाम्रो देशमा सत्ता र शक्तिमा रहने सबैले गरे । सधैं जनता मात्र सन्त्रासमा दिन समय व्यतित गर्ने गर्दथे । तर, आज सत्ता र शक्ति पनि सन्त्रासमा बाच्न बाध्य भएको छ । किनकि जीवन त यसै पनि अमूल्य छ ।
कोरोना संक्रमित व्यक्ति र परिवारप्रति टोल समाजले एक खुंखार अपराधिजस्तो व्यवहार गरेको देखिन्छ । जुन समाजमा विरलै देख्न पाइन्छ । कोरोना संक्रमितको घर भनेपछि टोल र छिमेकीले अत्यन्तै अमानवीय व्यवहार गर्नु हुदैन । हामी र हाम्रो समाज भ्रष्टाचारी, माफिया, कमिसनखोर, काम गर्छु भनेर ढाट्ने जनप्रतिनिधिलगायतलाई माला र खादा लगाएर अविरजात्रा गर्न पनि पछि नपर्ने यो समाज आज कोरोना संक्रमितलाई एक नामुद अपराधीको जस्तो व्यवहार गरिरहेको छ । हामी सबैले कोरोना संक्रमितलाई पनि मानवीय व्यवहार गर्नुपर्छ । यहि नै नेपाली समाजको आदर्श मूल्य मान्यता हो । रोग त सबैलाई लाग्छ । त्यसमाथि एउटालाई लाग्ने कोरोना अरुलाई नलाग्ने भन्ने हुदैन । किनकि यो एक समाजवादी महामारी हो । कोरोना महामारी हामी सबैलाई सवक सिकाउने एक साझा भोगाई हो । यसैबाट हामी सबैले समाज, समुदाय र जीवनप्रति सकारात्मक चिन्तन गर्न सिक्नुपर्छ ।
संसार परिवर्तन गरेर समाजवाद ल्याउन ठूला हिंस्रक र शान्तिपूर्ण आन्दोलन भए । तरपनि समाज लयवद्ध हुन सकेको थिएन । तर, आज मात्र एक भाइरसको कारण हालसम्मका क्रान्ति र उपलब्धिलाई छायाँमा पार्दै समाज एकताबद्ध र साझा उद्देश्यमा प्रेरित भईसकेको छ । हालसम्म भएका क्रान्तिलाई देशलाई त के समाजका सवैलाई समेट्न सकेको सकेको थिएन र साझा उद्देश्य बन्न सकेको थिएन । समाजवादी मुलुकबाट संसारमा निर्भिकताका साथ सफर गरिरहेको कोरोना भाइरसले सारा संसारलाई एकत्रित गरि साझा लक्ष्यमा मार्गनिर्देश गरेको छ । वर्तमानमा योभन्दा ठूलो क्रान्ति र समाजवाद अरु हुन सक्दैन । किनकि अहिले समाजको लक्ष्य र उद्देश्य पनि कोरोना परास्त गर्नु मात्र रहेको छ ।