स्वास्थ्य प्रोटोकलको पालना गरौं

 सुदीप कोइराला

कोरोना भाइरस (कोभिड–१९) को महामारीले हामीलाई छोएको पनि ९ महिना लागेको छ । कल्पना नगरेको महामारी भित्रँदै गर्दादेखि हालसम्म यसका विषयमा विभिन्न अड्कलबाजी भए । बच्न विभिन्न अभ्यासहरु गरिए । कोरोनाको महामारी फैलन नदिन विभिन्न स्वास्थ्य प्रोटोकलहरु पनि जारी भए । मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने, सेनिटाइजरको प्रयोग गर्ने वा साबुनपानीले बारम्बार हातधुने गर्न लगाइयो । देशबाहिरबाट आएकाहरुले क्वारेन्टाइन बस्नुपर्ने, स्वाब परिक्षणपछि कोरोना पोजेटिभ देखिए आइसोलेसन बस्नुपर्नेलगायतका प्रोटोकल राखियो । पछि कन्टयाक्ट ट्रेसिङमा रहेकाहरुको पनि परिक्षणमा ध्यान दिन थालियो । २०७६ माघ ९ मा पहिलो एउटा केश देखिएसँगै थालीएको स्वास्थ्य सावधानी परिवर्तन हुँदै चैत ५ मा ५१२ जना देखिएपछि भने ११ चैतदेखि मुलुक लकडाउनको अवस्थामा पुग्यो ।

१२० दिन लामो लकडाउन पहिलो चरणमा सम्पन्न हुँदैगर्दा मुलुकमा संक्रमितहरुको ग्राफ उकालो लाग्दैथियो । त्यसपछि पनि मुलुकमा विभिन्न स्थान विशेषले लकडाउन, शिल र निषेधाज्ञा लगाई स्वास्थ्य सावधानी अपनाउने काम भयो । सँगै ट्राभल हिष्ट्री र कन्ट्याक्ट ट्रेसिङका आधारमा क्वारेन्टाइन र स्वाब परीक्षणको क्रमलाई तीब्रता दिने काम भयो । क्रमशः संक्रमितको संख्या उकालो लाग्दै गएपछि स्वास्थ्य प्रोटोकल पनि केहि खुकुलो पारियो र व्यापार व्यवसाय पनि चलायमान हुँदै गएको छ । योसँगै कोरोना संक्रमितहरुको संख्या पनि क्रमशः बढ्दै गएको छ । कोरोनाको कारण मृत्युवरण गर्नेको संख्या पनि बढ्दो छ ।

मुलुकलाई बन्दाबन्दीको अवस्थामा राख्दैगर्दा दैनिक जीवनयापनमै समस्या हुने आवाजहरु उठेपछि सरकारले यसलाई खुकुलो पार्दै आम नागरिकलाई स्वनियममा बस्न आग्रह ग¥यो । क्रमशःखुकुलो भएसँगै कोभिड –१९ लाई सामान्य मान्दै स्वास्थ्य सावधानी नअपनाउने क्रम पनि बढ्दै गएको छ । केहि प्रतिनिधिमुलक उदाहरण यस्ता छन्ः

पात्र–१
केहि दिन कोभिडका लक्षण देखिएपछि परीक्षणका लागि गए । उनको आशंका सत्य सावित भयो । कोभिड पोजेटिभ देखिएपछि होम आइसोलेशनमा बसे । लक्षण देखिएदेखि उनको पोजेटिभ रिपोर्ट आउँदासम्म ७ दिन बितिसकेको थियो । देखिएका लक्षण हराउँदै गए । त्यसैले उनले आफ्नै दैनिकी पूर्ववत रुपमा ल्याए । यहाँसम्म कि विभिन्न स्थानको भ्रमण र बेलुका होटलमा बसेर मदिराको चुस्किसम्म लगाउन थाले । उनीबाट कोरोना अरुलाई स¥यो या सरेन अज्ञात छ । तर, भाग्यबस दुई सातापछि उनको भने रिपोर्ट नेगेटिभ आयो ।

पात्र–२
अर्का एक व्यक्तिलाई पनि कोभिडका लक्षण देखिए । उनको ब्यापार थियो । लामो समय थला परेको व्यवसाय कोरोना देखिए बन्द हुने भयले उनले परीक्षण नै गरेनन् । परीवारका सदस्यमा पनि कोरोनासँग मिल्ने लक्षण देखिएको थियो । तर, उनले कसैको परीक्षण गरेनन् । व्यापार निरन्तर चलाए । अन्तत कोरोना पुष्टि नभई लक्षण सबै हराए । उनमा पनि कुनै समस्या देखिएन ।

पात्र–३
अर्का एक व्यक्तिलाई कोभिडका लक्षण देखिए । परिवारका अन्य सदस्यलाई पनि देखिएपछि उनले पनि स्वाब दिए । लक्षण देखिएको १० दिनपछि उनको पनि रिपोर्ट पोजेटिभ आयो । तर, उनलाई पनि देखिएका लक्षण हराइसेकेको थियो । घरका अन्य सदस्यमा लक्षण भएकाले उनैले बाहिरका सबैका काम हेर्न परेकाले घरभित्रै बस्न पाएनन् ।

यी माथिका जस्ता धेरै घटना हाम्रो समाजमा अहिले विद्यमान छ । जटिल नभएसम्म होम आइशोलेसनमा बस्न पाउने र होम आइसोलेशनमा बस्नेको कुनै रेखदेख हुने गरेको छैन । यहि क्रम बढ्दै जाँदा संक्रमितहरुको संख्या बढ्नु स्वभाविक हो । मंगलबार प्रदेश १ कै तथ्याङ्क हेर्ने हो भने ६ सय जनाको परिक्षण गर्दा ३३० जनाको पोजेटिभ आएको छ । कतै कारकतत्व यस्तै त हैन ? मंगलबार विराटनगरमा मात्र १५० जनामा कोरोना पोजेटिभ देखिएको छ ।

एकातर्फ राज्यले कोरोना टेस्टको नाममा ठूलो खर्च गरिरहेको छ । अर्कोतर्फ संक्रमितहरुले पनि स्वनियम पालना गर्न छाडेका छन् । यस्तो अवस्थामा कसरी नियन्त्रण गर्ने हो सम्बन्धित सबैको ध्यान जान जरुरी छ ।

बुधबार, २१ असोज, २०७७

प्रतिक्रिया:

सम्बन्धित खवर