संस्कार आडम्बरी बनाउने विकास विरोधीहरु

 गणेश लम्साल

दुईजना पेशाकर्मी प्रगतिशिल अग्रजका आफन्तको मृत्यु शोकमा समवेदनासहित श्राद्धञ्जली ब्यक्त गर्न पुगेछन् । खाली हात शुद्ध मन मात्र लिएर पुगेका उनीहरुलाई अग्रजले एकान्तमा बोलाएर भनेछन्, ‘हैन क्या हो ! तपाईहरु संगठनको नेता नभएर २०÷३० जना मान्छेसहित फ्रेममा समवेदना लिएर आउनुपर्दैन ? दाजुभाईका हुरुरु मान्छे आइरहेका छन्, आफ्नो त बेइज्जत नै भइसक्यो ।’ सत्य घटनाका भुक्तभोगी पेशाकर्मीहरुका अनुसार यसो भन्ने ती अग्रज चाही प्रगतिशिल विचार फैलाउने प्रशिक्षक नै थिए । उनी सदाचार र बैज्ञानिक संस्कार अनि प्रगतिशिल र सांस्कृतिक रुपान्तरणको बखान गरेर निक्कै लेख लेख्थे । सदाचारी संस्कारको पालनालाई विर्सेर समाज आडम्बरको आडमा कदाचारी बन्दै गएकोमा चिन्ता व्यक्त्त गर्थे । उनले सामाजिक परम्परा, मूल्य मान्यता र संस्कारहरुमा सुधार आवश्यक छ भन्दै धेरै पुस्तकहरु पनि लेखेका थिए । संगठनका प्रशिक्षणहरुमा पनि उनी अतिथिका रुपमा बोलाइन्थे । साँचो भन्दा उनी र उनीजस्तै अग्रजले दिएको विचारले ती दुई जना पेशाकर्मीहरुले प्रगतिशिल कर्मलाई व्यहारमा पालना गराउन सिकेका थिए ।

तर, जब अग्रजले मृत्यु संस्कारमा पनि शक्ति प्रदर्शनको आवश्यकता महशुस गरे तब ती दुई पेशाकर्मी निरास त भए नै अगुवाहरुले नै भनाईलाई व्यहारमा कार्यान्वयन नगराएकोमा चित्त पनि दुखाए । त्यत्तिमात्र हैन, समाजको शुद्धताका लागि सदाचारी ढंगले संस्कार पालना गर्न गराउने अभियानलाई अग्रजले नै अपमान गरेको पनि महुसस गरे । बाहुनबादी प्रवृत्तिको विरोध गरेर नथाक्ने ती अग्रजप्रति उनीहरुको हेर्ने र बुझने दृष्टिकोण नै परिवर्तन गरे । यो एउटा उदाहरण मात्र हो । आजकल समाजमा हुने संस्कारहरु खर्चिला, भड्किला मात्र भइरहका छैनन्, मानप्रतिष्ठाका लागि शक्ति प्रदर्शनको माध्यम पनि बन्न थालेका छन् । मृत्युपछि दाहसंस्कार गराउन कसकोमा कति मलामी पुगे भन्ने भन्दा पनि कति र कस्ता मान्छे ? कत्रा–कत्रा, कस्ता–कस्ता, कति महङ्गा समवेदना फ्रेम बोकेर कुन–कुन सवारीमा आए ? भन्ने ख्याल गरिन थालिएको छ । अझै आफन्तको मृत्यु शोकमा बसेका दाजुभाई र छोरीबुहारीहरुमा आ–आफना पक्षका मान्छे कसरी र कहाँ–कहाँबाट शोक व्यक्त गर्न कति धेरै आए भन्ने होडबाजी नै चल्ने गरेको छ । अर्थात जसका जति धेरै मान्छे जति महङ्गा, ठूला, रंगीचङ्गी समवेदना फ्रेम बोकेर आउँछन, उ समाजमाा उति नै प्रतिष्ठित भएको छ भन्ने भानले उनीहरु गजक्क पर्ने गरेका छन् ।

एउटै घरमा सँगै पित्तृको अन्तिम संस्कारमा बसेकाहरुले पनि जसका कम मान्छे र कम ठर्रा गरेर आउँछन्, उसले आफूलाई ग्लानी र निरिह महशुस गर्ने गरेका छन् । त्यति मात्र हैन समाजले उसलाई प्रतिष्ठा नै आर्जन गर्न नसकेको व्यक्ति भनेर होच्याउने खिसिटिउरी गर्न थालेको छ । सुनिन्छ धेरैले अन्तिम संस्कारका बेलामा आफना यति धेरै मान्छे आउँछन् भनेर पहिले नै आंकलन गरेका हुन्छन् रे । र, आएनन् भने आफैले फोन गरेर वा गर्न लगाएर पनि बोलाउने गर्छन रे । ‘उसका यति बस र कारमा आइसके, यति धेरै यस्ता यस्ता समवेदना पत्र भइसके । तर, खै हाम्रा आएका भनेर ?’

हरेक धर्म, समुदायका आ–आफ्ना संस्कारहरु हुन्छन् । हिन्दु धर्म सम्प्रदायमा जन्मअघि तीन र मृत्युपछि एक अनि जीवनमा १२ वटा संस्कार मान्ने चलन छ । जसलाई १६ संस्कार भन्ने गरिएको छ । तीमध्ये मुख्य नामाकरण, अन्नप्रहासन, चुडाकर्म, उपनयन, विवाह र मृत्यु संस्कार हुन् । संस्कार पालना गर्नुको उद्देश्य हो, समाजलाई प्रगतिशिल र व्यक्तिलाई असल बनाउनु । किनभने असल संस्कारले नै समाजलाई सभ्य सुसंस्कृति र नागरिकलाई देशप्रति जिम्मेवार बनाउँछ । असल संस्कारको पालनाविना समाजको उन्नती र विकास हुदैन । यसैले पनि संस्कारमा पवित्रता, त्याग र दिगोपना हुनुपर्छ भनिएको हो ।

संस्कारहरु यथाशक्य सादाचारी ढंगले मान्नुपर्नेमा आधुनिकताको ढर्रासँगै खर्चिला र भड्किला हुँदै गएका छन् । बिहे, ब्रतबन्ध, उपनयनजस्ता उत्सवहरु त ढर्रामा पहिलादेखि नै भड्किला र शक्ति प्रदर्शनको साधन बनिसकेका छन् । तर, मृत्यु संस्कार भने सदाचारी नै थियो । धर्मपरम्परा अनुसार अन्त्येष्टि सकेपछि पित्तृको नाममा पाटीपौवा बनाउने वा अन्य कुनै परोपकारी कार्य गर्ने चलन थियो । तर, आजकल ती सबै हराएर धेरै मान्छेहरुलाई भोजमा बोलाउने, धेरै परिकार पकाउने, पुरोहितलाई धेरै दान दिने र तडकभडकसहित देखावटी शोक व्यक्त गर्ने खोक्रो आडम्बर प्रदर्शन गर्ने चलन पनि फस्टाउन थालेको छ । पढेबुझे अनुसार मानव समाजमा संस्कारको महत्व अमूल्य हुन्छ । संस्कारले नै मानव समाजलाई जोगाएर राख्छ । परिवर्नन गराउँछ । सँस्कृति निर्माण गर्छ । किनकी संस्कार भनेको अनुशासित जीवन पद्दतिमा डो¥याउने माध्यम हो । असल सदचारी संस्कारको पालनाले विनम्रता, मर्यादा र अनुशासनप्रति प्रतिबद्ध बनाउँछ ।

पुरातन चेतकालमा लोकपरलोकलाई पवित्र बनाउनुपर्छ, खुसी तुल्याउनुपर्छ भनेर संस्कार मान्नुपर्ने बाध्यता थियो । तर, बैज्ञानिक समाजमा सभ्य, सुशासनमुखी र नैतिकवान् र आदर्श जीवनका लागि संस्कार मान्ने गरिएको छ । यसैले संस्कार आडम्बरी हैन, सदाचारी हुनुपर्छ भन्ने मान्यता बनाइएको हो । असल संस्कारको पालनाले सोच विचार, चिन्तन र व्यावहारमा गतिशिलता थप्छ । सामाजिक मूल्य, मान्यता, आचार प्रबृत्ति र संरचनामा परिवर्तन ल्याउन सघाउँछ । किनभने संस्कार जति सदाचारी हुन्छ, सामाजिक अन्तर्घुलन उति नै बढ्दै जान्छ । समाजमा वर्गभेद घट्दै जान्छ र समाज र संस्कृति सर्बोत्तम मानवमुखी हुँदै जान्छ । यसैले मेरो निष्कर्ष छ– ‘आफूलाई प्रतिष्ठित देखाउने अभ्यासमा आडम्बरलाई बढावा दिनेहरु सदाचारी संस्कारका विरोधी मात्र नभएर विकास विरोधी पनि हुन् ।’

सोमबार, १९ असोज, २०७७

प्रतिक्रिया:

सम्बन्धित खवर