नेत्र पी अधिकारी
हेर्दा सामान्य विषय । तर, सामान्य विषयको काम पनि कार्यान्वयन नभएको देख्दा भने अनौठो लाग्ने रहेछ । सामान्य विषयमा सम्बन्धित वर्गको ध्यान पुग्न नसकेको सवाललाई आज उठान गरेको छु ।
नेपालमा अहिले विद्यालय दुई संरचनामा छ । पहिलेको पूर्वप्राथमिक, प्राथमिक, निम्नमाध्यमिक, माध्यमिक र उच्च माध्यमिक गरि ५ तहको संरचनालाई संशोधन गरिएको छ । शिक्षा ऐन २०२८ को आठौं संशोधन २०७३ ले विद्यालयको दुई तहको संरचना हुने उल्लेख छ ।
पुरानो संरचनालाई परिवर्तन गरी कक्षा १ देखि ८ सम्मलाई आधारभूत र ९ देखि १२ सम्मलाई माध्यमिक तहको संरचना निर्धारण गरिएको छ । सोही अनुसारको ऐन कार्यान्वयनमा आएको अवस्था छ । तर, विद्यालयमा पुग्दा भने पुरानै संरचनाको अभास हुनेगरि बोर्ड राखेको हामीले देख्दै आएका छौं । बोर्ड पुराना भएका छन्, कोत्रिएका छन्, भत्किएका छन् । संरचना नयाँ भएको छ । तर, विद्यालयले पुरानै बोर्डलाई निरन्तरता दिएका छन् । यसमा उनीहरुको ध्यान पुग्न सकेको छैन । विद्यालयलाई परिचय गराउने बोर्डले भने नयाँपन दिन सकेका छैनन् ।
शिक्षा ऐनअनुसार विद्यालय तहको संरचना परिवर्तन गरियो । तर, विद्यालयले त्यसलाई गम्भीर रुपमा लिएको देखिएन । विद्यालयमा गयो भने पुरानै संरचना अनुसारको बोर्ड हामी देख्न सक्छौं । ऐन कार्यान्वयनमा आएको लामो समय भईसक्दा पनि विद्यालयले नयाँ संरचनालाई आत्मसाथ गर्न नसकेको हामी देख्न सक्छौं । विद्यालयमा प्राथमिक, निमावि, मावि र उच्च माविकै बोर्ड राखिएको छ । विद्यालयमा मात्र हैन, उच्च मावि मात्रै पठनपाठन हुनेको हालत पनि उस्तै छ । अझ प्लस टु पठनपाठन गर्नेले अहिले विभिन्न सञ्चारमाध्यममा दिएका विज्ञापनमा पनि उच्च मावि नै भनेर दिईरहेका छन् । जबकी ऐनमा उच्च माविको प्रावधान नै छैन । उनीहरुले बोर्ड त परिवर्तन गरेनन् गरेनन्, विज्ञापन पनि उच्च मावि भनेर गरेको देख्दा र सुन्दा प्राज्ञिक वर्गमा चेतना नभएको हो वा उनीहरु पुरानैं शैलीमा चल्न खोजेका हुन् वा सरकारी विद्यालयमा बोर्ड परिवर्तन गर्दा लाग्ने खर्च नभएर त्यस्तो भएको हो भन्ने प्रश्न जागेको छ । सामान्य कुरामा पनि विद्यालयले ख्याल गर्न नसक्दा आम रुपमा विद्यालयले दिने शिक्षामा प्रश्न उठ्नु स्वभाविक नै पो हो की जस्तो लाग्ने रहेछ ।
यसमा सबै विद्यालयलाई भनेको हैन । कतिपय विद्यालयले नयाँ संरचना अनुसारकै बोर्ड, भित्तेलेखन गरेका छन् । उनीहरुले नयाँपनको झल्को दिएका पनि छन् । तर, अधिकांश विद्यालयले परिवर्तित संरचना अनुसारको आभास दिन नसक्दा प्राज्ञिक वर्गलाई यो विषयमा जानकारी नै पो छैन की जस्तो पनि देखिन्छ ।
संरचना अनुसारको बोर्ड परिवर्तनका लागि नियमनकारी निकायको ध्यान पनि पुग्न नसकेको देखिन्छ । छिमेकी विद्यालयले परिवर्तन गरेको पनि नदेख्ने विद्यालयहरुले चाँही कहिले बोर्ड परिवर्तन गर्ने ? विज्ञापन कहिले सच्याउने ? यसमा विद्यालय र सम्बन्धित निकायको ध्यान पुग्न सकोस् ।