अनन्तराज न्यौपाने
‘स्वतिश्री गिरिराज चक्र चूडामणि नरनारायणेत्यादि विविध विरुदावली……….’ लामो छ । यस पङ्क्तिका लेखकले यसको सबै ‘टेक्स्ट’ बिर्सियो । तर, यसका अन्तमा ‘सदा समर विजयिनाम्’ लेखिएको थियो ।
यो के हो, अहिलेको पुस्तालाई थाहा नहुनसक्छ । पढ्न दियो र सोध्यो भने ‘सराद्दे गर्ने मन्त्र होला’ भन्दिन बेर छैन । इतिहास र संस्कृतिको पढाइ त्यसै पनि नेपालका विश्वविद्यालयबाट रित्तिइसकेको छ । त्यसैले यस्ता जानकारीहरू अब बिस्तारै लोप हुँदै जाने कुरामा शंका छैन ।
खासमा यो पञ्चायती तानाशाह शाहवंशीय राजाको प्रशस्ति हो । नेपालको इतिहासमा राजाको प्रशस्तिको प्रचलन राजतन्त्रको स्थापनासँगै सुरु भएको हो । लिच्छवि वंशका पहिला राजा जयदेव प्रथमले ‘लिच्छवि कुलकेतु’ भनेर आफ्नो प्रशस्ति लेखाएको इतिहासमा पढ्न पाइन्छ ।
प्रशस्ति भनेको अर्को अर्थमा वैधानिक चाकरी हो । राजाको जयगान हो । जयजयकार हो ।
चाकरी शब्द राणाकालमा झन् धेरै प्रचलित भयो । राणाका दरबारमा बिहान–बिहान राजधानीका उच्चपदस्थ कर्मचारी, गुरु, पुरोहित, शिक्षक सबैले चाकरीमा जानै पथ्र्यो । नभए उनीहरूको निर्वाह गर्ने बाटो खोसिन्थ्यो । यही चाकरी प्रथा आजसम्म नेपालमा प्रकारान्तरले विद्यमान छ ।
विक्रम सम्वत् २०६२–६३ को आन्दोलनपछि नेपालको राजतन्त्र सँगसँगै राजाको प्रशस्ति पनि इतिहासका पानामा विलीन भयो । राजाको प्रशस्ति त विलीन भयो तर, प्रशस्ति गाउने संस्कार भने यथावत् देखिएको छ । फरक यत्ति हो, हिजो राजाले शासन गर्थे, आज उही भाँतिमा तानाशाही र अधिनायकवादी शैलीले ओलीले शासन चलाएका छन् । उसबेला आफूलाई प्राध्यापक बुद्धिजीवी भनेर चिनाउन खोज्ने वासुदेव त्रिपाठी, तारानाथ शर्मा र नरेन्द्र चापागाईं आदि राजाको प्रशस्ति गाउँथे आज प्राडा बद्रीविशालहरुले यस प्रवृत्तिको पुनरूत्थान गरेका छन् ।
त्रिपाठी, शर्मा र चापागाईंजस्ता बुद्धिजीवीहरू सत्ताको चाकरीमा सदा मस्त रहे । त्रिपाठी र शर्मा सुरुमा वामपन्थी थिए । राजाको निगाह पाउन पञ्च भए । फाइदा लिए ।
चापागाईंले आफूले स्थापना गरेको एक साहित्यिक संस्थाको विधानमा ‘पञ्चायत व्यवस्थालाई शिरोपर गरी’ भनेर लेखेका थिए । यसैकारण उनले तत्कालीन खुङ्खार अञ्चलाधीश सूर्यबहादुर सेन ओली र सिडिओ बाबुराम पौडेलको छत्रछहारी पाउन सके । प्रगति गरे ।
तर, २०४६ को परिवर्तनसँगै माकुराको रङ्ग झैँ चापागाईंको रङ फेरियो । उनी ठूला वामपन्थी र वरिष्ठ प्रगतिशील साहित्यकारका रूपमा दरिए ।
विद्यावारिधि पूरा गरेको एउटा सेवानिवृत्त प्राध्यापकसित समाजले के आशा गर्छ ? निश्चय पनि उसले समाज र राष्ट्रमा भइरहेका गतिविधिका बारेमा दूधको दूध पानीको पानी छुट्याओस् र दुनियाँलाई यसका बारेमा सचेत गराओस् भन्ने आशा हुन्छ । तर, विडम्बना चाकरी परम्परामा त्रिपाठी, शर्मा र चापागाईंभन्दा पनि माथि उठेर बद्रीविशालहरूको उदय र हालिमुहाली हुन्छ भने तत्पश्चात् आशा गर्ने केही सकारात्मक र रचनात्मक पक्ष बाँकी रहँदैन ।
बद्रीविशाल अहिलेको समाचार र सामाजिक सञ्जालका चर्चित पात्र हुन् । ‘अतुलनीय ओली’ शीर्षकमा उनले लेखेको एउटा लेख चक्रपथ डटकममा गत साउन ७ गते बिहान १० बजेर ४ मिनटमा छापियो । शायद चक्रपथबाट उनले कौडी पारिश्रमिक पाएनन् होला, यिनले यही लेख शीर्षक फेरेर ‘अतुलनीय नेतृत्व’ शीर्षकमा साउन २० गतेको गोरखापत्रको अनलाइनमा पनि छपाए । पङ्क्तिकारले गोरखापत्र पत्रिका हेरेको छैन । सम्भवतः पत्रिकामा पनि छापिएको होला । चाकरीको एउटै लेख एउटै महिनामा २ पटक अलग–अलग मिडियामा छापियो । पत्रकारिताको सामान्य मर्म, मूल्य, मान्यता र आचारसंहिता विपरीत छापियो । हरे ! एउटा प्राध्यापक–डाक्टर चाकरीका लागि कतिसम्म गिर्नसक्छ ? दया लागेर आउँछ ।
लेखमा के लेखिएको छ भनेर संक्षिप्त रूपमा पनि म उल्लेख गर्न चाहन्न । किनकि त्यस लेखका कुनै पनि शब्दहरू उद्धरणयोग्य छैनन् । पाठकहरू यति बुझिदिनोस्, त्यो लेख चाकरी र प्रशस्ति परम्पराको भूतप्रेत हो । बद्रीविशालले चिहान खनेर राणा र पञ्चका प्रेतलाईको नयाँ नेपालको वायुमा जागित्र बनाएका छन् ।
के पनि सुनियो भने बदीविशालले यसअघि नेपाल प्रज्ञा प्रतिष्ठानको सदस्य हुन निकै चाकरी बजाए रे । त्यो नपाएपछि ओलीको आलोचना गरेर गाली गरेर लेख छपाएका थिए रे । छेपाराले त मौसम बदलिएसँगै आफ्नो रङ फेर्छ । तर, यी प्रा.डा.ले त ओलीको मौसम कायमै रहँदा आफ्नो रङ फेरिदिए । प्राज्ञ नपाए पनि छातीमा एउटा पदक झुन्ड्याउन उनको छाती निकै तड्पियो रे । त्यसैले रङ फेरेर भएपनि चक्रपथ र गोरखापत्रमा एउटै लेख छपाएको रे । जसरी होस्, पदक पाए । प्रा.डा.लाई बधाई छ, ओलीको जय होस् ।