अहिलेको प्रमुख समस्या भ्रष्टाचार

 खगेन्द्र सुवेदी

हिजोआज देशभित्र मात्र होइन देशबाहिर पनि नेपाल र नेपालको राजनीति चर्चाको शिखरमा छ । नेपाली सञ्चारमाध्यमले त नेपालको विषयमा बोल्ने लेख्ने नै भए । तर, अहिले नेपाली मिडिया मात्र नभएर पुरै भारतीय मिडिया नेपाल र नेपाली राजनीतिक खबरले ढाकेको हुन्छ । चाहे गलत होस् या सही होस् भारतीय सञ्चारमाध्यम मात्र नभएर भारतको पुरै राज्य संयन्त्र नेपाल र नेपालीको बिरुद्धमा लागेको छन् । नेपाली भूमिमा बाटो बनाउने, भारतीय सेना नेपाली भूमि प्रवेश, संक्रमणको समयमा भारतीयहरु हुल बाँधेर जबरजस्ती नेपाल प्रवेश गर्ने साथमा नेपाली जनतालाई आफ्नो भूमिमैं आवतजावतमा प्रतिबन्ध लगाउनेसम्मका हर्कत गर्न थालेको छ । यसो गर्नु उसको उग्रराष्ट्रवादको परिणाम हो । अर्थात भारतीय नेताहरुको लोकप्रिय बन्ने अनि राष्ट्रवादी देखिने र सहानुभूति मत हाँसिल गर्ने चालबाहेक केहि होइन । यता यहि भारतीय चलखेललाई लिएर नेपाली राजनीतिमा चलखेल शुरू भएको छ । साथै जनतामा पनि ध्रुविकरण भएको देखिन्छ । यतिसम्म कि सरकारको गलत कामको बिरोध गरेपनि भारतीय दलाल भन्न पछि पर्दैनन् । तर, सरकारका कमजोरीहरु नेपाली सञ्चार माध्यममा छताछुल्ल हुँदा चुपचाप रमिते भएर बसेका हुन्छन् ।

सञ्चार माध्यमबाट सरकारका कमजोरी चर्चामा आएका बिषयहरु भनेको कोरोना महामारी र त्यसबाट पीडितहरूको उद्धार तथा राहतलगायत समस्या बाहेक भ्रष्टाचारका खबरहरुसँग सम्बन्धित समाचारहरु हुन् । यीसँग सम्बन्धित समाचार हेर्दा लाग्छ देश पुरै टाट पल्टेको सहज अनुमान लगाउन सकिन्छ । मान्छेहरु खान नपाएको अनि भोकै हिँड्नुपरेको खबर आएका छन् । अनि अस्पतालहरुमा बिरामीहरु जीवनजल खान नपाएर छट्पटाउँदै मरेका भिडियोहरु सार्वजानिक भएका छन् । अनि उपचार नपाएर निराश भएर आत्महत्या गर्नेहरु पनि देखियो । साथमा क्वारेन्टीनभित्र नै महिलाहरु सामूहिक बलात्कारको शिकार भएका घटनाहरु पनि सार्वजानिक भए भने कतै क्वारेन्टीनभित्र नै सर्पले टोकेका घण्टाहरु बाहिर आए यी र यस्ता घटनाहरु सार्वजानिक भएपछि सरकार जनताको स्वस्थ्यमा संबेदनशील नभएको आरोप पनि सरकारले खेप्नु परेको यथार्थ हो । हुन पनि हो, स्वस्थ्य मन्त्री स्वयं भ्रष्टाचार काण्डमा मुछिएको समाचार आउनुले पनि सरकारप्रतिको जनविश्वास घटेको हो ।

अर्काे समस्या भनेको बाढि पहिरोले गरेको जनधनको क्षति र त्यसको उद्धार तथा राहतमा सरकारको निराशापन हो । हुन त कोरोना भाइरस जस्तै बाढी पहिरो पनि दैबिप्रकोप नै हो । तर, यो दैबिप्रकोपको दोष जति सबै प्रकृतिलाई दिएर आफू चोखिने दुस्साहस सरकारले नगरेकै राम्रो हो । पहाडमा ढल निकाशबिनाको विकाश अनि वातावणीय प्रभाब अध्ययन नगरी पहाड खोल्ने अनुमति दिनु पहिरोको मुख्य कारण हो । अनि चूरे र चूरे फेदीतिर गिटी बालुवा निकाल्ने ठेकेदारलाई खोलाको बालुवा गिटी निकाल्न अनुमति दिनु भनेको कटानलाई अनुमति दिनु हो । अनि भारत जोगाउन तराइमा बग्ने खोलालाई अनावश्यक थुनेर तराई डुबानमा पारिएको हो । अब यी बाढी पहिरो र डुबानमा परेकालाई उद्धार र राहत बाडेर नै सरकारको हिउद जाने निश्चित छ । डोजर विकास, बालुवा गिटी उत्खनन् गर्ने माफियालाई नियन्त्रण गरेर दिगो समाधान नखोजेसम्म सरकारको लगानी यसरी नै खेर गईरहने निश्चित छ ।

अर्काे बिकराल समस्या भनेको भ्रष्टाचार हो । जनताले आधा पेट खाएर सरकारलाई देश विकासको लागि छुट्याएर दिएको कर, जनताका छोराछोरीहरु हड्डी पगाल्ने गर्मी अनि रगत जमाउने जाडो हुने देशमा गएर परिवार र देशको लागि गरेको योगदान पसिनाको मूल्य रेमिटेन्स अनि जन्मिदा बिहे गर्दा र मर्दा जनताले तिरेको कर सबै जम्मा गरेर देश विकास निर्माणमा लगानी हुनुपर्नेमा नेता, कर्मचारी, ठेकेदारहरुको घरको मात्र विकास गर्नमा लगानी भएको छ । जताततै भ्रष्टाचार बेतिथिले जरा गाडेको छ, राजनीतिक दलहरुले भ्रष्टाचार गर्नका लागि जनप्रतिनिधि नाम दिएर तीन तहको निकाय बनाएको छ । यो तिनै तह भ्रष्टचार गर्नमा केन्द्रित भएको छ । विकास निर्माण ठप्प प्रायः भएका छन् भएकाहरु पनि कमजोर बनेका छन् । सरकारले गर्ने खरिद र विकास संरचना निर्माणमा घोटाला र भ्रष्टाचार नभएको कुनै योजना नै हुदैन ।

यस्तो अवस्थामा हामी बिदेशीसँग जोरी त खोज्न सक्छौं । तर, जोरी खोजेर पनि लास्टमा हामी नै कमजोर महशुस गरेर घुडा टेक्नुपर्ने हुन्छ । यो अवस्थाको अन्त्य गरेर आफूलाई सवल, समुन्नत र आत्मनिर्भर बनाउनु जरूरी हुन्छ । त्यसका लागि माथि उल्लेखित समस्यालाई न्यूनीकरण गर्ने अनि ती समस्या समाधानमा खपत हुने जनधन र श्रोत साधनलाई विकासँग जोड्ने र कृषि लगायतमा आत्मनिर्भर बनाउने हो र देशमा उत्पादित उपभोग्य सामानलाई प्रोत्साहन दिने हो भने देश विकास हुन समय लाग्दैन । साथै आर्थिक रुपमा पनि सबल बनिन्छ । त्यसपछि आर्थिक, ब्यापरिक र सैन्य हस्तक्षेप गर्न सकिन्छ । हाम्रो हस्तक्षेपको कारण भारतीयहरु तड्पिउन, हामीले नाकाबन्दी लगाए, नाकाबन्दी खोल्न आग्रह गरेर घुँडा टेकुन् । अनि हाम्रो सामान उपयोग गर्न भारतीयहरु तछाडमछाड गरुन् । अनि हाम्रो सैन्य हस्तक्षेप भारतमा नहोस् भनेर प्रत्येक दिन बिहानै उठेर कामना गरुन् । त्यस्तो चाही जोरी दमदार हुन्छ नी ।

त्यसको लागि सबैभन्दा महत्वपूर्ण काम भनेको भ्रष्टाचार नियन्त्रण हो । भ्रष्टाचारी बिरुद्ध निर्मम भएर लाग्नु हो । त्यसको लागि अख्तियार दुरुपयोग आयोगलाई राजनीतिक पहुँचभन्दा बाहिर राख्ने गरी अधिकार सम्पन्न बनाउनुपर्छ । सरकारी कर्मचारी, ठेकेदार राजनैतिक दलका नेताको सम्पती विवरण मागेर छानबिन गरिनुपर्छ । र कसैले भ्रष्टाचार गरेको पाइएमा हदैसम्मको कार्बाही गर्ने परिपाटी विकास गरिनुपर्छ । त्यही भएर भारतलाई गाली गर्न छोडेर नेपाली नेताहरुलाई सुशासन, समृद्धि र समुन्नत समाज तथा देश निर्माणको लागि दबाब दियौं । हामीले दुःख पाएको भारतीयको कारणले भन्दा पनि हाम्रो नेताहरुको कारणले हो । हाम्रो नेताहरुले देशलाई आत्मनिर्भर अनि बिदेशी हस्तक्षेपमुक्त बनाउन चाहना गर्ने हो भने असम्भब छैन । तर, भित्र अध्यारो कोठामा बसेर गाली गर्दै गाला चाट्नेहरुदेखि होशियार हुनुपर्छ । चाहे त्यो बिदेशीलाई होस् या भ्रष्टाचारीलाई होस् । बिदेशी त पराई हुन् । तर, भ्रष्टाचारीहरु काखमा बसेर कोखमा छुरा रोप्ने अपराधी हुन् । भ्रष्टाचारीलाई जोगाउन, आफ्नो कमजोरी लुकाउन र आफ्ना बिरोधिलाई जनताको नजरमा गलत देखाउन गरिने देश प्रेम देश र जनताको लागि नै घातक हुन्छ ।

आइतबार, १८ साउन, २०७७

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर