भोला लम्साल
मुठी खाएर मुरी उब्जाउने अर्थात मानो खाएर मुरी उब्जाउने, असार १५ गते राष्ट्रिय धान दिवश । नेपालमा हिलो खेल्दै, दहीचिउरा खाँदै धान रोपेर मनाउने परामपरा छ । असार १५ कृषि पेशामा लाग्ने कृषकका लागि व्यस्तता अनि थकाई र रमाइलो गर्ने चाडको रुपमा लिन सकिन्छ । दही चिउरा, आँप, केरालगायतका परिकारहरुले असार १५ लाई अझ रसिलो, स्वादिलो, भरिलो मात्र होइन, बाउसे र रोपाहारबीचको हिलो छ्यापाछ्याप र असारे गीतको भाका र लयले रमाइलो रंगिन अनि एक आपसमा सद्भावको दीयो जलाएको देखिन्छ । नेपालमा धान दिवस २०६२ असार १५ गतेदेखि मनाउन थालिएको देखिन्छ । विश्वको जनसंख्याको आधारलाई मान्ने हो भने साँढे दुई अर्ब मासिनको मुख्य खानाको रुपमा चामललाई लिने गरिन्छ । दक्षिण एसियाली मुलुकमा चामललाई दैनिक उपभोग्य वस्तुका रुपमा उपभोग गर्दै आएका छन् । ९० प्रतिशत धान एसियामै उत्पादन हुने एक तथ्यांकले देखाउँछ । बढी धानको उत्पादनको आधा हिस्सा एसियामै खपत हुने गरेको देखिन्छ ।
नेपाललाई कृषिप्रधान देशका रुपबाट लिने गरेतापनि नेपालको कुल गाहस्र्थ उत्पादनमा २७.५ प्रतिशत योगदान कृषि क्षेत्रको छ । नेपाल कृषिप्रधान देश हो भनिन्छ । तर, कृषिमै परनिर्भरता बढ्दो छ । ६५ प्रतिशतभन्दा बढी जनसंख्या कृषिमा आश्रित रहेको देखिन्छ । नेपाल कृषि उत्पादनमा परनिर्भर हुनु मुलुकका लागि दुर्भाग्य हो । खाद्यान्नदेखि तरकारी, फलफुल अन्य वस्तुको आयात उच्चदरमा बढ्दै जाँदा आार्थिक दृष्टिकोणले देशले ठूलो व्यापार घाटा व्यहोर्नु परेको वस्तुगत यथार्थलाई लुकाएर लुक्दैन ।
कृषि क्षेत्रमा उत्पादन बृद्धिका लागि राज्यले आर्थिक लगानी अनुदान र प्रविधिमैत्री बनाउन सकेमात्र बाहिरी वस्तुको आयातमा कमी हुने निश्चित छ । जेष्ठ महिनाको अन्तिम सातादेखि भदौको दोश्रो सातासम्म किसानहरुले खेतमा धान रोप्ने गरेको देखिन्छ । किसानहरु करिब एक महिना अघि धानको बीउको खोजी र ब्याड राख्ने काममा लागेका हुन्छन् । कतिपय किसानले आफ््नै ढुकुटीमा धानको बीउ जोहो गरेका हुन्छन् भने कतिपय किसा कृषि सामग्री संस्थान, कृषि सहकारी केन्द्रमा उन्नतजातको बीउको खोजीमा जाने गरेपनि कृषि सामग्री संस्थानले समयमा नै बीउ बिजन, मलको उचित व्यवस्थापन र प्रवन्ध मिलाउन नसक्दा किसानहरु त्यसको प्रत्यक्ष मारमा परपेका छन् । देशका विभिन्न भु–भागमा कृषिसँगै सम्बन्धित सहकारी संस्थानद्वारा वितरण गरिएका धान अन्य बीउबिजन गुणस्तरहीन हुने गुनासाहरु राज्यपक्षले सम्बोधन गर्न आवश्यक छ । कृषि क्षेत्रलाई व्यवसायिक रुपबाट अगाडि बढाउन नसक्दा कयौं हेक्टर जमिन बाँझो बनेर मरुभूमिमा परिणत हुनुको मुख्य कारण हो । सिंचाइको असुविधा मलको अभाव, जनशक्तिको अभाव, बजारको अभाव र न्यून मूल्यको दररेट कायम गर्न नसक्नु कृषि क्षेत्रको मुख्य चुनौति रुपमा देखिएका छन् ।
सिँचाई विभागका अनुसार नेपालमा कुल खेतीयोग्य जमिन २८ लाख हेक्टर छ । जसमध्ये १६ लाख हेक्टर जमिन मात्र सिँचाई सुविधा पु¥याउन सकिएको विभागले जनाएको छ भने जनशक्तिको अभावले कृषि क्षेत्र धरापमा परेको देखिन्छ । कृषि क्षेत्रमा आत्मनिर्भरता घट्दै जानु, युवा जनशक्ति विदेश पलायन हुनुले त्यसको प्रभाव कृषि क्षेत्रले भोग्नुपरेको छ । स्वदेशमा नै कृषि पेशालाई मर्यादित बनाउँदै युवा जनशक्तिलाई कृषि क्षेत्रमा प्रोत्साहन गरी वातावरण तयार पर्ने हो भने हाम्रा उत्पादन नेपालमा मात्र होइन अन्य बाहिरी देशमा निर्यात गर्न सकिन्छ । खेतीयोग्य जमिन प्रसस्त रहेपनि सिँचाईको अभावमा बाँझो रहेको आकाशे पानीको भरमा बस्नुपर्ने बाध्यता किसानको सामुन्ने ठूलो चुनौति बनेको छ ।
नेपालमा उत्पादित कृषिवस्तु बजारीकरणको समस्या र व्यवस्थापनको जटिलताले किसानहरु मारमा परेका छन् । आफूले उत्पादन गरेको वस्तुले बजार नपाउँदा र त्यको उचित मूल्य नपाउँदा उत्पादन लागतभन्दा बजार मूल्य न्यून रहने हुँदा किसान कृषि पोशाको विकल्पको खोजी गरिरहेको देखिन्छ । तसर्थः कृषि बजारको सहजीकरण, कृषिलाई आधुनिकीकरण, बजारीकरण, व्यवसायीकरण गर्नेतर्फ अब राज्य लाग्नुको विकल्प छैन । र कृषि क्षेत्रको विकास गरी परनिर्भरता होइन आत्मानिर्भरता बनाउने दिशातर्फ राज्यले ठोस योजनाका साथ अगाडि बढ्न आवश्यक छ ।
विराटनगर–४