दिपेन नेउपाने
यो त असार हो । सबैलाई अवगतै छ । यसपाली त मनग्गे पानी परेको पनि छ । यतिखेर किसान त व्यस्त हुने नै भए । तथापी किसानबाहेक अरु पनि व्यस्त हुन्छन् भन्ने हेक्का राख्नुपर्ने हुन्छ । अहिले असारे विकासले राम्रै फड्को मारेको छ । यस्तो विकास गाउँघरतिर भन्दा शहरबजारतिर बढी केन्द्रीकृत छ । टोलबस्तीका गल्लीहरु हिलाम्मै छन् ।
जताततै नालाहरु खनिदैछन् । कच्चीबाटाहरु गिटीबालुवाले पुरिंदैछन् । पक्की बाटाहरुमा कालोपत्रे गरिंदैछ । पुलपुलेसाहरु मर्मत सम्हार गरिंदैछ । बाँध र तटबन्धनहरु धमाधम निर्माण हुँदैछन् । यी हुन्, विगतमा हुने परम्परागत विकासे ढाँचाहरु । यसरी गरिने विकासले आम नागरिकलाई कति फाइदा छ वा बेफाइदा छ, त्यसको यहाँ लेखाजोखा छैन । सिर्फ विकास गर्नुछ । यसखाले विकास गणतन्त्र अघि पनि हुने गरेकै हो । अहिले पनि हुन्छ । किनकि यसो नगरे विकासको बिँडो थामिदैन भन्ने धर्मसंकट छ, नीति निर्माताहरुमा ।
अझ यसपटक त नोबेल कोरोना भाइरसको महामहारीबाट उत्पन्न परिस्थितिले असारे विकासलाई राम्रै मलजल गरिदिएको छ । त्यस्तो मलजल त राजनीतिक दलका विकासे ठेकेदार र तीनका ग्यानेचुनेका कार्यकर्ताहरुले नै प्राप्त नगर्ने त कुरै भएन । त्यसो त इमानदार र निष्ठावान ठेकेदार पनि नभएका होइनन् । तिनको त निधो काढिएको छ । उनीहरुले त कुनै कुनामा थन्किनु परेको छ ।
भन्नु उसो होइन । यहाँ त कोरोना भाइरसको पूजा गर्नेहरुको पनि कमी छैन । यो भाइरस चाँडै नहटोस् भनेर बिहान बेलुकी नियमित धुपवातीहरु गर्नहरु पनि मनग्गे भेटिन्छन्, यहाँ । कोरोनालाई त तीनले भगवान पो ठानेका छन् त । कोरोना भाइरसले त उनीहरुका लागि नयाँ भगवानको रुप लिएर जन्मिएजस्तो पो छ । यसअघि भुकम्प आउँदा पनि विकासे ठेकेदार नै मालामाल भएथे । भुकम्प पनि उनीहरुका लागि नयाँ देउताले अवतरण लिएजस्तै भाग्य चम्किएको थियो ।
यसरी झाँगिएर बेस्कन मौलाएको विकृतिको चाङ्ग कुन शासन वा तन्त्रमा हट्छ होला । के यो हट्न सम्भव छ त । महामारीको औषधि खरिददेखि लिएर क्वारेन्टिन र आइसोलेशन निर्माण कार्यमा किन हुन्छ, लुछाचुँडी । मानवभित्रको मानवता के अब रसातलतर्फ उन्मुख हुन थालेको त होइन कतै । यसखाले शंका उपशंकाले पक्कै पनि धेरैको मनमा मनग्गे डेरा जमाएको हुनुपर्छ ।
जब अप्ठ्यारो परिस्थिति उत्पन्न हुन्छ, तब समाजमा ठग र विचौलियाहरुको बिगबिगी सुरु हुन्छ । त्यसपछि उनीहरु कमजोर, अशक्त र निर्धाहरुको शिकार गर्न तम्सिन्छन् भनिन्छ । हाम्रो देशमा पनि त्यस्तै अवस्था देख्न मात्र होइन भोग्न पो थालिसकियो त । विगत र वर्तमान महामारीबीच बन्दाबन्दीले हुँदा खाने वर्ग सबैभन्दा बढी मारमा परेको त पक्कै हो । उनीहरुको टाउकोमा उनीहरुले थेग्नै नसक्ने गरी कति ठूला ऋणको भारीले थिचेको होला । यो हाम्रो कल्पनाभन्दा पनि बाहिरको सवाल हुन नसक्ला कि त ।
यसखाले दुःखद अवस्थाबाट माथि उठ्न राज्यको कुन निकायले उनीहरुलाई कति सहयोग गर्यो होला । के दुईचार पटक छाक टार्ने अनाजले उनीहरुको आधारभूत आवश्यकताको परिपिूर्ति भयो होला त । उनीहरुको नाङ्गो आङ ढाकिएको छ होला त । उनीहरुको रोगले डाँडा काट्यो होला त । अहँ पक्कै पनि हुन सकेन, भएन भन्न सक्नुपर्छ मुख खोलेर पनि ।
यसखाले धेरै अनुत्तरित प्रश्नहरुको समाधानतर्फ सुक्ष्म अध्ययन हुनुपर्दथ्यो । त्यो हुन सकेको छैन । किन त्यो हुन नसकेको त । समस्यालाई क्षणिक रुपले हेर्ने र बिनायोजना काम गर्ने हाम्रो बानीले पक्कै पनि घर गरेको छ । क्षणिक रुपमा समस्याको समाधान गर्न खोज्नेहरुले क्षणिक रुपमै लाभहानीको आँकल गर्दछ न कि दीर्घकालीन ।
देशमा कति योजनाविध होलान् । तर, योजनाविहीन काम मात्र किन हुन्छ । लक्षित वर्गसम्म पुग्ने गरी किन काम हुँदैन । बजेटको कार्यान्वयको पाटो किन फितलो हुन्छ । एउटा योजनाले पूर्णता नपाउँदै किन नीति परिवर्तन गरिन्छ । यसखाले अनगिन्ती प्रश्नहरुको झुण्डले किन सधैं पकड जमाउन पाउँछ हँ ?
सारमा भन्नुपर्दा हामी कहाँ चुक्यौं । गुदी कुरो यही हो । अहिले सार्वजनिक क्षेत्रहरु ठप्प छन् । ती क्षेत्रको जनशक्ति बन्दाबन्दीको अवधिमा के गरिरहेको छ रु त्यो जनशक्तिको शीप र दक्षतालाई राज्यले कहाँ र कसरी उपयोग गर्दैछ त रु यसखाले महामारी त आइरहन्छन् । कसरी सामना गर्ने हो रु अब पनि महामारीकाबीच जीवन पद्दति कसरी सुचारु गर्न सकिन्छ भनेर रचनात्मक भएर जान सकिन्छ कि सकिँदैन । यही हो त गाँठी कुरो ।