भाषा र जातिका नाममा राजनीति नगरौं

 डा.बालकृष्ण साह

प्रजातन्त्रपछि देशमा धेरै गैर सरकारी संस्थाहरु (एन जि ओ) स्थापना भए । समाजिक जनचेतनादेखि लिएर सीप विकास, शिक्षा र दक्षता अभिवृद्धि, नागरिकका हक र अधिकार लगायतका विभिन्न क्षेत्रमा सरकार तथा अन्तर्राष्ट्रिय दातृसंस्था एंव आईएनजिओहरुसँग आर्थिक सहयोग लिएर यस्ता गैर सरकारी संस्थाहरुले समाजमा काम गरे । व्यवसायिक रुपमा नै स्थापना भएका यस्ता गैर सरकारी संस्थाहरुले समाज सेवासँगै राम्रो आम्दानी गरेकाले होला यसप्रतिको आकर्षण राम्रो थियो ।
यस्ता गैर सरकारी संस्थाहरु आफूले सेवा दिने कार्यक्षेत्रका आधारमा नै संस्थाको पनि नाम राख्ने गरे । जातीय कुरीति तथा कुसंस्कारका विरुद्धमा सचेतना दिंदै जातीय संरक्षणका लागि पनि अनेकौं गैर सरकारी संस्थाहरु जन्मे । त्यस्तै भाषाको विकास र संरक्षणका लागि पनि विभिन्न भाषिक संगठनहरुको उदय भयो । यस्ता संगठनहरुले जातीय वा भाषिक नाम राखे ।
यस्तै उद्देश्यले सायद स्थापना भएको हुनु पर्छ ‘मैथिली एसोसिएसन अफ नेपाल ।’ यस संस्थामा आफ्नो संलग्नता नभएकाले धेरै कुरा भन्न सक्दिन । तर, झट्ट सुन्दा नेपाल मेडिकल एसोसिएसन वा नेपाल डेन्टल एसोसिएसन जस्तो देखिए पनि पेशागत हक हितका लागि स्थापित र सम्बन्धित काउन्सिल (नेपाल मेडिकल काउन्सिल)का पदेन सदस्य हुने जस्तो गैर राजनीतिक, गैर व्यवसायिक संस्था पक्कै मैथिली एसोसिएसन अफ नेपाल होइन । जातीय उत्थान, संस्कृति संरक्षणका लागि धेरै जातीय संस्थाहरु छन् । वैधानिक रुपमा यस्ता संस्थाहरुको सदस्य जे जसरी गरिए पनि सम्बन्धित जातका सबै यसका सदस्य बन्न पाउने प्रावधान रहेको हुन्छ । नेपालमा यस्ता विभिन्न जातका सामुदायिक भवनहरु समेत निर्माण भएको हामीले देखेका छौं । एउटा जातको एउटा संस्था हुनु जसले नेपालमा बसोवास गरेका सो जातका सम्पूर्ण जनसंख्यालाई संगठित गर्न सक्नु राम्रो पक्ष हो । खस–आर्य समाजका जातका संस्थाहरु यस्तै छन् ।

तर, मधेसमा रहेक जात र भाषाहरुको नाममा अनगिन्ति संस्थाहरु जन्मे । कति यस्ता संस्थाहरुले दातृ संस्थाहरुबाट आर्थिक सहयोग लिएर सम्बन्धित भाषा र जातको विकास तथा उत्थानमा सहयोग गरे भने कतिले व्यवसायिक रुपमा आफ्ना भूमिका मात्रै राखे । मैथिली एसोसिएसन अफ नेपाल पनि यस्तै गैर सरकारी संस्था हुनु पर्छ । यस्ता संस्थाहरुलाई जातीय नाम वा भाषाको नाम दिनु सायद गलत हो । सायद त्यसैले होला अहिले सो एसोसिएसनले प्रचार गरेको ‘मान अवार्ड’लाई लिएर मैथिली भाषी अन्य संस्थाहरुले विरोध गरेको हुनुपर्छ ।

कस्तो हुनुपर्छ जातीय र भाषिक संगठनहरु

जातीय, समुदाय वा भाषाका नाममा संस्था दर्ता गरिंदा त्यस जात, समुदाय वा भाषाका कति जनसंख्या सो संस्थामा जोडिएको छ, हेरिनु पर्ने थियो । जस्तै उदाहरणका लागि ‘दाहाल प्रतिष्ठान’ भन्ने बितिकै सम्पूर्ण दाहाल थर भएकोहरुको प्रतिनिधित्व गरिनु पर्छ । केही जातीय संस्था यसरी नै देशभर नै केन्द्रीय, प्रदेश, नगररगाउँ समिति गठन गरेर धेरै भन्दा धेरै सो जातका सदस्यहरुलाई संगठित गरेका छन् । मधेसमा रहेका जातहरुको चाहिँ संगठित नभएका होइन । थारु कल्याणकारी सभा एउटा उदाहरण हुन सक्छ, जसको भर्खरै अधिवेशन सम्पन्न भएको छ । विभिन्न जिल्ला र नगरमा समितिहरु छन् । मैले केही जिम्मेवारी पाएको तेली कल्याण समाज नेपाल अर्को उदाहरण हुन सक्छ । यसको २१ वटा जिल्लामा जिल्ला समिति हुनुका साथै नगर र गाउँ, क्षेत्रीय तथा कतै कतै वडा समितिहरु समेत गठन गरेर अधिकाश तेली समुदायलाई जोडेका छन् । तर, सबै जातीय र भाषिक संगठनहरु यस्ता छैनन् । केन्द्रीय समिति वा जम्मा १ समिति छ, र सो जाति वा समुदायका एक प्रतिशत जनसंख्यालाई पनि जोड्न सकेका छैनन् । यस्ता संस्थाहरुमा मैथिली भाषासँग जोडिएका धेरै संस्थाहरु छन् भन्दा फरक नपर्ला ।
नेपालमा कुल जनसंख्याको करिब १२ प्रतिशत जनताले बोल्ने भाषा हो मैथिली । तराईका झापादेखि रौतहटसम्म र काठमाडौं उपत्यकामा समेत मैथिली भाषीहरु रहेका छन् । आफ्नै भाषा रहेका थारु समुदाय, मुश्लिम समुदायको केही क्षेत्रमा समेत मैथिली बोलिन्छ । ठुलो जनसंख्यामा रहेको यादव, कोइरी, तेली लगायत ६० वटा भन्दा बढी जातिहरुले मैथिली बोल्ने गरेता पनि तराईका ब्राह्मण र कायस्थहरुले मात्रै मैथिली भाषाका विभिन्न संस्थाहरुको नेतृत्व गरेको देखिन्छ । यस्तै गैरसरकारी, व्वसायिक संस्थाहरु मध्ये एक हो ‘मैथिली एसोसिएसन अफ नेपाल (मान)’ । मान अवार्डको विरोधमा उत्रेका संस्थाहरु पनि पूर्णरुपले मैथिली भाषीहरुको प्रतिनिधित्व गरेको छ भन्न सकिने अवस्था चाहिँ पक्कै छैन ।

यति ठूलो जनसंख्या रहेको मैथिली भाषीहरुलाई प्रतिनिधित्व गर्ने एउटा अर्को संस्था जन्माउन सम्भव होला वा नहोला भन्न सकिन्न । तर, यसका विकासका लागि स्थापना भएका सबै संस्थाहरुको प्रतिनिधित्व हुने र बढी भन्दा यस भाषीका जनसंख्यालाई जोड्ने गरी छाता संगठन हुनु जरुरी छ ।

गल्ती कहाँ भएको हो ?

आफ्नो मातृभाषा आफूलाई प्यारो हुन्छ । आफ्नो पेशागत र पारिवारिक जीवनबाट केही समय र पैसा निकालेर आफ्नो भाषा र संस्कृतिका विकास र प्रवद्र्धनका लागि खर्चिए । आफू मात्रै नभएर आफ्ना परिवार साथीभाइलाई समेत आग्रह गरेर प्रविण नारायण चौधरी जि संस्थालाई अगाडि बढाएको हुनुपर्छ । उहाँले आयोजना गरेको धेरै नभए पनि २–३ वटा कार्यक्रममा म पनि सहभागी भएको छु । अत्यन्तै धेरै गृहकार्य गरेर लगनका साथ गरेका उहाँका कार्यक्रमहरु सफल र समाजलाई दिशानिर्देश दिने खालका रहेका छन् । तर, आफ्नै पारिवारिक सदस्यहरु सञ्चालक रहेको वर्षौंदेखि तिनै पदाधिकारीहरुद्वारा सञ्चालित र मैथिली भाषीहरुको कुल जनसंख्याको एक प्रतिशत जनतालाई पनि आवद्ध गर्न नसकेको संस्थालाई ‘मैथिली एसोसिएसन अफ नेपाल (मान)’ नाम राख्न सायद मिल्दैन थियो होला ।

यस अवार्डका लागि प्रविण नारायण चौधरीले धेरै मेहनत गर्नु भएको छ । उहाँ र उहाँको पारिवारिक श्रोतको पूर्ण लगानी र मेहनत छ । आफ्नै छोरी आवद्ध संस्थाले स्पोन्सर गरेको, आफू कार्यरत संस्थाले को–स्पोन्सर गरेको र आफूले सञ्चालन गरेको मानले आयोजना गरेको अवार्डका लागि निर्णायक समिति को हुन् ? आधार के हुन् ? मूल्यांकन गरेर वितरण गरेका हुन् या बिक्री गरेका हुन् । अरुको चासोको विषय सायद हुँदैन थियो । उदाहरणका लागि यहि काम अभा फाउन्डेसन वा अप्पन विराटगर परोपकार समाजले गरेको भए कसैको सरोकार रहँदैन थियो होला । तर, यहाँ अवार्डको नामले पूरा मैथिली भाषीलाई प्रतिनिधित्व गरेको भान परेको छ । सायद त्यसैले मैथिली भाषासँग जोडिएको अन्य संघसंस्थाहरुले विरोध जनाएको हुनुपर्छ ।
अब के गर्न सकिन्छ ?

मान अवार्ड जे जस्तो भए पनि यसले एउटा उचाइ लिएको छ । राष्ट्रिय अन्तर्राष्ट्रिय अथितिहरु आमन्त्रित छन् । कमिकमजोरी छन्, तर यसले मैथिली भाषीहरुलाई एउटा नयाँ दिशा दिएको छ । यसका कमजोरीहरु सच्याउन मैथिली संघसंस्थाहरु सहकार्य गरेर यो उत्सवलाई महाउत्सव बनाउन जरुरी छ । संस्थालाई गति दिन आर्थिक पक्ष पक्कै चाहिन्छ । यसमा पनि सहयोग गरेर अगाडि बढ्न सके पक्कै राम्रो हुने थियो । “स्पोन्सर्सिप अवार्ड” हामीलाई नयाँ लागे पनि यस किसिमको परिपाटी अन्तर्राष्ट्रिय जगतमा रहेको छ । यसको सुरुवात गरेकामा मैथिली एसोसिएसन अफ नेपाल”लाई शुभकामना । तर, मातृभाषा सबैलाई प्यारो हुन्छ र सम्वेदनशील पनि । नेपालका सम्पूर्ण मैथिली भाषीहरुलाई नै प्रतिनिधित्व गर्ने कुनै संस्था छैन । त्यसैले मातृभाषाममा राजनीति गर्ने अधिकार कसैलाई हुदैन ।

शुक्रबार, १४ मंसिर, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर