एमाले विराटनगरको अधिवेशन : संस्थापन र इतर समूहकै प्रतिस्पर्धा

विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीको दोस्रो अधिवेशन आज सोमबार सुरू हुँदैछ । एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईले उद्घाटन गर्ने अधिवेशनमा नेतृत्वको लागि संस्थापन पक्ष र इतर पक्षबीच प्रतिस्पर्धा हुने भएको छ ।
अधिवेशनमा अध्यक्षको लागि संस्थापन पक्षबाट वर्तमान संगठन कमिटी अध्यक्ष रोहित कोइराला र इतर पक्षका संगठन कमिटिका सचिव रहेका बलराम गिरी नविनबीच प्रतिस्वर्धा हुने निश्चित भएको छ ।

कोइरालालाई पार्टीका प्रदेश इञ्चार्ज शेरधन राई, अध्यक्ष घनश्याम खतिवडा, मोरङ इञ्चार्ज जीवन घिमिरे, महानगर इञ्चार्ज पर्शुराम बस्नेत, लेखा समितिका सभापति ऋषिकेश पोखरेलसहितको समर्थन रहेको छ । कोइरालाले आफूलाई पार्टी अध्यक्ष केपी ओलीसहितका नेताहरुको समर्थन रहेको भन्दै संस्थापन पक्ष भएको दावी गरेको छ । गिरीलाई नेता विनोद ढकाल, मोरङ अध्यक्ष अजम्बर राई, उपाध्यक्ष सागर थापासहित पदाधिकारीहरुको समर्थन रहेको छ । मोरङको पार्टी अध्यक्षसहित पदाधिकारीको समर्थन रहेकोले आफू संस्थापन पक्ष रहेको गिरी समूहको तर्क छ ।

एमालेको गत वर्ष भएको कोशी प्रदेश अधिवेशनपछि पार्टी अध्यक्ष केपी ओलीले अगाडि सारेको समूहलाई संगठित रुपमा मोरङका एमाले नेता विनोद ढकालले चुनौति दिँदै आएका छन् । प्रदेश अधिवेशनमा उनी पराजित भएपनि मोरङ जिल्लाको अधिवेशनमा संस्थापन पक्षलाई पराजित गर्दै उनको समूहले जीत निकालेको थियो ।

आइतबार विराटनगरमा आफू निकटका नेता कार्यकर्ताहरू उपस्थित गराएर कोइरालाले अध्यक्षको घोषणा गरेका छन् । उनको समूहबाट सचिवमा नवराज काफ्ले, उपसचिवमा चन्द्रशखेर विश्वास, उपसचिव (महिला) मा कला डाँगी उम्मेदवार बन्ने निश्चित भएको छ । उपाध्यक्षमा भने राम पोखरेल उम्मेदवार बनेका छन् ।

कोइरालाको उम्मेदवारी घोषणामा जिल्ला इञ्चार्ज घिमिरे, लेखा समिति सभापत पोखरेल, महानगर इञ्चार्ज बस्नेतसहितको उपस्थिति थियो । उनीहरुले पार्टीको बहालवाला अध्यक्ष रहेकोले कोइराला अध्यक्ष हुनु स्वभाविक र न्योचित हुने भन्दै जिल्ला अधिवेशनको गुट महानगरले स्वीकार नगर्ने चेतावनी दिएका थिए ।

ढकाल समूहबाट यसअघि मिनकुमार आचार्यलाई अध्यक्षको उम्मेदवार बनाउने चर्चा थियो । तर, संस्थापन पक्षका नेता एवं मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग पनि निकट सम्बन्ध रहेका गिरीलाई उम्मेदवार बनाइएको छ । सो समूहबाट उपाध्यक्षमा सुरज न्यौपाने, सचिवमा विज्ञान शर्मा चपागाई र उपसचिवमा हमित हाजाजको उम्मेदवारी निश्चित भएको छ । महिला उपसचिवमा हिमा मैनाली पोख्रेल उम्मेदवार बनाइएको छ ।

जिल्लाको परिणाम आफ्नो पक्षमा पारेको ढकाल समूहले विराटनगर महानगरमा आफ्नो पक्ष बलियो भएकोले जित निश्चित रहेको दावी गरेको छ । उता संस्थापन पक्षले भने बहालवाला अध्यक्ष नै उम्मेदवार रहेकोले उनकै समितिका सचिवसँगको प्रतिस्पर्धा खासै चुनौतिपूर्ण नहुने जिकिर गरेको छ ।

आफू संगठन कमिटिको अध्यक्ष मात्र भएकोले पूर्ण कार्यकाल काम गर्नेगरि अध्यक्षको उम्मेदवार भएको कोइरालाले बताएका छन् । छोटो समयमा महानगरमा पार्टीलाई चलायमान बनाएकोले आफूलाई सर्वसम्मत गरेर एकताको सन्देश दिन प्रस्ताव गर्दा अर्को पक्षले जबरजस्ती प्यालन खडा गर्न खोजेको भन्दै उनले कार्यकर्ताले आफूलाई जिताउने दावी गरे ।

कोइरालाले अधिवेशनमा आफ्नो र सागर थापाको प्रतिस्पर्धा हुने दावी गर्दै आफ्नै संगठनका सचिव गिरीसँगको प्रतिस्प्रर्धा नभएको बताएका छन् । ‘अहिलेको प्रतिस्पर्धा सागर थापासँगको जस्तो देखियो,’ उनले भने, ‘मेरो नेतृत्वमा गिरी पनि अटाएर सर्वसम्मत गर्न सकिने भएपनि त्यसो हुन थापासहितले दिएनन् ।’

एमाले महानगरको अध्यक्षमा सागर थापा हुँदा कोइराला सचिव थिए । विराटनगरकै मानगढ खानेपानी उपभोक्ता समितिको चुनावको विषयलाई लिएर थापालाई एमालेले कार्वाही गरेपछि कोइरालालाई संगठन कमिटिको अध्यक्ष बनाइएको थियो । थापा कार्वाही मुक्त भएपछि जिल्ला उपाध्यक्ष निर्वाचन भइसेका छन् ।

अध्यक्षका अर्का दाबेदार गिरीले महानगर पार्टीको कामको गतिलाई अझै तीब्रता दिनको लागि आफूले उम्मेदवारी दिन लागेको बताएका छन् । सचिवको रुपमा त्यसअघि पनि महानगरमा आफूले उत्कृष्ट रुपमा भूमिका निर्वाह गरेकोले कार्यकर्ताले नेतृत्वमा आउन माग गरेकोले आफू अगाडि बढेको उनको भनाइ छ । ‘अहिलेको गतिले महानगरमा एमाले स्थापित हुन सक्दैन’ उनले भने, ‘कामको गति बढाउने र पार्टीलाई थप सुदृढ बनाउन मैले उम्मेदवारी दिन लागेको हो ।’

एमाले महानगर कमिटीको दोस्रो अधिवेशनमा १९ वटा वडाबाट २२० जना प्रतिनिधि चुनिएका छन् । त्यस्तै जनसंगठनहरूबाट ७९ जना प्रतिनिधि चयन भएको जनाइएको छ । थप १५ जना प्रतिनिधि मनोनित गरेर जम्मा ३१५ मतदाता हुनेछन् ।
हालसम्म मोरङमा एमालेको १२ वटा पालिकाको अधिवेशन सम्पन्न भइसकेको छ भने ४ वटा पालिकाको मिति तोकिएको छ । लेटाङ नगरपालिकाको अधिवेशनको भने मिति निश्चित भएको छैन ।

मङ्गलबार, ०२ बैशाख, २०८२, बिहानको ०९:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर