दुर्गा प्रसाईं र उनका अंगरक्षक दीपक खड्का प्रहरी नियन्त्रणमा

विराटनगर । विवादित व्यवसायी दुर्गा प्रसाईं र उनका अंगरक्षक दीपक खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शुक्रबार विज्ञप्ति जारी गर्दै प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले प्रसाईं र खड्कालाई झापाको भद्रपुरबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि काठमाडौं ल्याइँदै गरेको बताएका छन् ।

चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको अगुवाइ गरेका प्रसाईलाई राज्यविरूद्ध तथा संगठित अपराधसम्बन्धी कसुरमा प्रहरीले पक्राउ गर्ने भएपछि उनी फरार थिए । उनलाई भारतको असामबाट भारतीय प्रहरीको सहयोगमा नियन्त्रणमा लिएर झापा ल्याएपछि प्रहरीले हिरासतमा लिएको छ ।

प्रसाईंलाई भारततर्फबाट निजी नम्बर प्लेटको स्कारर्पियो गाडीमा चढाएर नेपालतर्फ ल्याइएको थियो । उनलाई प्रदेश नम्बर १–०१–००२ च ३७९३ गाडीमा भारततर्फबाट ल्याइएको हो । प्रसाईंको सचिवालयले भने उनले बिहीबार आसाम प्रहरी समक्ष आत्ममसर्पण गरेको बताएको थियो ।

आसाम प्रहरीले सीमा क्षेत्रसम्म प्रसाईंलाई ल्याएर नेपाल प्रहरीलाई हस्तान्तरण गरेको बताइएको छ । नेपाल र भारतबीचमा सुपुर्दगी सन्धि नभएकाले एकअर्काको देशमा पक्राउ परेका आरोपितहरुलाई अनौपचारिक रूपमा लेनदेन गर्ने अभ्यास रहँदै आएको छ ।

प्रसाईलाई काँकडभिट्टास्थित मेची पुलबाट गाडीमा राखेर प्रहरीले भद्रपुर लगेको थियो । भारतबाट उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोलीले नियन्त्रणमा लिएको हो ।

प्रसाईंलाई काठमाडौँ पठाउनु अगाडि जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखिएको छ । उनलाई बुद्ध एयरको विमानमार्फत काठमाडौँ लैजाने तयारी छ ।

चैत १५ गते अपराह्नदेखि प्रसाईं फरार थिए । तीनकुनेमा भएको प्रसाई नेतृत्वको राजावादी प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो भने २० जना घाइते भएका थिए । त्यस क्रममा कयौं घर तथा सवारी साधानमा आजगनी, तोडफोड र लुटपाट भएको थियो । त्यसबीचमा दुई वटा भिडिओ सन्देश जारी गर्दै आफू नेपालमै रहेको दाबी प्रसाईले गरेका थिए ।

शुक्रबार, २८ चैत, २०८१, बिहानको ११:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर