विराटनगर । कोशी प्रदेश सरकारले बुधबार उद्घाटन गरेको ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ मा प्रतिपक्षी दलहरु सहभागी भएनन् ।
बुधबार तेह्रथुमको तिनजुरे क्षेत्रमा आयोजित पर्यटन वर्ष उद्घाटन कार्यक्रममा माओवादी केन्द्रसहित प्रतिपक्षी दलका प्रतिनिधिहरु कोहि पनि सहभागी थिएनन् ।
प्रदेश सरकारले भ्रमण वर्ष उद्घाटन कार्यक्रमलाई ‘एमाले र कांग्रेसको कार्यक्रम’ बनाएकोले आफूहरु सहभागी नभएको विपक्षी दलहरुले जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भनेर प्रचार गरिएको कार्यक्रममा प्रधानमन्त्री ओली नआएपछि उपप्रधानमन्त्री प्रकाशमान सिंहले उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रममा सत्तारुढ एमाले र कांग्रेस नेताहरूको मात्रै सहभागिता थियो । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले सरकारको गौरवको योजना भनिएको महत्वाकांक्षी कार्यक्रमबारे सरकारले कुनै छलफल र समन्वयको आवश्यकता नै नठानेको बताए ।
पर्यटन वर्षको बजेट भातृ संगठन र सरकार निकट व्यक्तिबाट अपारदर्शी रुपमा खर्च गरिएको आरोप पनि विपक्षी दलको छ । ‘सरकारको कार्यक्रमलाई एमाले–कांग्रेसको दलीय कार्यक्रम जस्तो बनाउन खोजियो अति राजनीतिकरण गरियो,’ आङ्बोले भने, ‘पर्यटन वर्ष जस्तो कार्यक्रमको बजेट भ्रातृ संगठन र निकटहरूमार्फत परिचालन गरी सुशासनको धज्जी उडाउने काम गरियो ।’
मुल आयोजकबाट दलहरूलाई औपचारिक र संस्थागत रुपमा निमन्त्रणा पनि नआएकोले कार्यक्रममा सहभागी नभएको विपक्षी दलहरुले बताएका छन् । कार्यक्रममा एमाले र काँग्रेसका सांसदहरु पनि सहभागी थिए । तर, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपासहित विपक्षी दलका सांसदहरु कार्यक्रममा थिएनन् ।
पछिल्लो समयमा सरकार हरेक सरकारी कार्यक्रमलाई दुईदलीय बनाउनतिर अग्रसर भएको देखिएको विपक्षी दलले आरोप लगाउँदै आएका छन् । कोशी प्रदेश सरकार सञ्चालन गर्नको लागि एमाले नेता शेरधन राईको नेतृत्वमा नेपाली काँग्रेस र एमालेले दुईदलीय संयन्त्र बनाएका छन् ।