विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीको आगमनको तयारीमा तेह्रथुमको गुराँसको जंगलमा सीसी क्यामरा जडान गरिएको छ ।
ओली बुधबार कोशी प्रदेश सरकारले आयोजना गरेको ‘पर्यटन वर्ष २०८२’ को उद्घाटन गर्न लालीगुराँसको राजधानी तीनजुरे जाने कार्यक्रम रहेको छ । कोशीको पर्यटन, वन तथा वातावरण मन्त्रालयले आरआर गार्डेनबाट पर्यटन वर्षको शुरूआत गर्दैछ ।
प्रधानमन्त्रीको शान्ति सुरक्षालाई मध्यनजर गर्दै मुलगेट, कार्यक्रमस्थल लगायत क्षेत्रमा सीसी क्यामरा जडान गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय वसन्तपुरका प्रहरी निरीक्षक जसबहादुर लिम्बुले मुख्य गेटमा क्यामरा जडान गरिसकेको र स्टेजमा प्राविधिकहरूले बिहानसम्म क्यामरा जडान गर्ने जानकारी दिए ।
कार्यक्रम स्थल आसपास करिब एक दर्जन स्थानमा सिसी क्यामेरा जडान गरेको सुरक्षा स्रोतले जनाएको छ। यद्यपि, सुरक्षा थ्रेट भने नरहेको प्रहरी निरीक्षक लिम्बुले बताएका छन् । ‘हामीले उच्च सुरक्षा अपनाएका छौं । पहिचानवादीको केही थ्रेट हुन्छ कि भन्ने चासो थियो । तर, प्रहरीले नै सीसी क्यामराबाट पनि निगरानी गर्ने भएकाले थ्रेट छैन’ एक उच्च प्रहरी अधिकृतले भने ।
यसअघि लालीगुराँस फुलाउन सरकारले दमकलबाट पानी लगाएपछि चौतर्फी आलोचना भएको थियो ।