विराटनगर । विराटनगर महानगरपालिकामा कुनै अभिलेख नै नबुझाइ चेतना बोर्डिङ्ग स्कुलले माध्यामिक तहसम्मका कक्षाहरु सञ्चालन गरिरहेको पाइएको छ ।विराटनगर महानगरपालिका १८ स्थित चेतना बोडिङ्ग स्कुल विगत ११ वर्षदेखि महानगरपालिकालाई बिना जानकारी माध्यमिकसम्मको कक्षा संचालन गरिरहेको पाइएको हो ।
स्थानीय तहमा शिक्षा रहेपनि हालसम्म सो स्कुलले महानगरपालिकामा कुनै जानकारी नदिइ माध्यमिक तहसम्म संचालन गर्ने गरेको महानगरपालिको जनाएको छ ।विराटनगर महानगरपालिकामा एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीमा (ईएम आई एस)मा हालसम्म कुनै पनि जानकारी नदिएको महानगरपालिकाले जनाएको हो । महानगरपालिकाको नगर कार्यपालिकाको कार्यलय शैक्षिक प्रशासन महाशाखाका शिक्षा अधिकृत रमेश खड्काले चेतना बोर्डिङ्ग सञ्चालनमा रहेको कुनै अभिलेख महानगरमा नरहेको जनाएको छ । आर्थिक वर्ष २०७१÷७२ मा सबै विद्यालयलाई एकिकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीमा (ईएम आई एस)मा अभिलेख राख्न आग्रह गरेपनि सो स्कुलले हालसम्म प्रविष्ट नगराएको उनले बताए ।
अभिलेखमा विद्यार्थी संख्या, शिक्षकको विवरणसहित भौतिक संरचनाको विवरण बुझाउनु पर्ने हुन्छ । तर महानगरमा कुनै विवरण नपाइएको र त्यस्ता विद्यालय अवैध हुने अधिकृत खड्काले बताए । उनले भने ‘अब यो खारेजीको प्रक्रियामा जान्छ ।’
यस्ता विद्यालय अवैध हो उनले भने –‘ अवैधानिक रुपमा विद्यार्थीलाई शिक्षाको पहुँच भन्दा बाहिर राखेको बुझिन्छ । अनुमति लिएर सञ्चालन गरेपनि एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीमा (ईएमआईएस)
अभिलेख नभए स्वतः अवैध मानिने छ ।’
‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानवस्रोत विकास केन्द्रले एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीमा (ईएमआईएस)कै अधारमा रिर्पोट बर्षेनि सार्वजनिक गर्ने गरेका छन् ।
२०७० सालमा स्थापना भएको सो स्कुलले अहिले कक्षा १० सम्म सञ्चालन गरिरहेको पाइएको छ । तर, सो विद्यालयका सञ्चालक सन्तोष साहले कक्षा ८ सम्म मात्रै विद्यालय सञ्चालन गरिरहेको जिकिर गरे । यस वर्षदेखि ९ र १० कक्षाका विद्यार्थी आफ्नो विद्यालयमा नरहेको दाबी गरे । उनले जहादा स्थित दुर्गा माविमा आफ्नो विद्यालयका विद्यार्थीलाई पठाएको बताए । तर, स्थानीयका अनुसार साहले कक्षा १० सम्म सञ्चालन गरेर एसइई परीक्षामा भने दुर्गा माविवाट सहभागिता गराउँदै आएका छन् । साहले स्थानीय अभिभावकलाई भर्ना फ्रि मा गर्ने भन्दै अवैध स्कुलमा विद्यार्थीलाई भर्ना गराउने गरेको अभिभावकहरुको आरोप छ ।
सुरुमा भर्ना गर्न पैसा नलाग्ने बताए पनि पछि विभिन्न बहानामा पैसा असुली गर्ने गरेको एक अभिभावकले बताए ।
महानगरमा हालसम्म एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीमा (ईएमआईएस)मा जम्मा ९५ वटा बोडिङ्ग स्कुलहरु अभिलेखमा रहेको पाइएको छ । यस अघि विराटनगर १५ स्थित द लता वृन्दाबन मोन्टेश्वरी स्कुलले मोन्टेश्वरी सञ्चालनको अनुमति लिएर कक्षा तीनसम्मको विद्यार्थीलाई भर्ना गर्दे अध्यापन गराउँदै आएको थियो । हाम्रोमत दैनिकले समाचार प्रकाशित गरेपछि महानगरले अनुगमन गरी तत्काल बन्द गर्ने पत्रचार गरिसकेको छ ।
कानूनी तथा शिक्षा नियमावली अनुसार स्वीकृति लिए अनुसार नै विद्यालय सञ्चालन गर्नु पर्ने हो तर, पहुँचको भरमा गैरकानूनी रुपमा सञ्चालन गरेर बालबालिकाको भविष्यसँग खेलवाड गर्ने विद्यालयहरुलाई खारेजी गर्ने महानगरले तयारी गरेको बताइएको छ ।