वनको काठमा तस्करको नजर

जङ्गलमा टिपर हुलेर तस्करी

काठ तस्करीमा मिल सञ्चालहरु नै संलग्न हुने गरेको पाइएको छ । मोरङको हरैचाबाट सालको काठसहित मिल सञ्चालक पक्राउ परेका छन् ।

विराटनगर । चाडपर्वमा वन क्षेत्रको कमजोर सुरक्षा प्रबन्धको मौका पारेर काठ मिल सञ्चालकहरु नै जंगलबाट काठ चोरी तस्करीमा संलग्न भएको तथ्य सार्वजनिक भएको छ । शनिबार बिहान मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित एक काठ मिलबाट चोरीको काठसहित मिल सञ्चालकसमेत पक्राउ परेपछि चाडवाडको बेलामा कोशी प्रदेशका वन क्षेत्रबाट व्यापक काठ तस्करी भएको आशंकालाई थप बल पु¥याइदिएको छ ।

सामुदायिक तथा साझेदारी वन क्षेत्रमा यस अवधिमा चोरी तस्करी बढी भएको अनुमान वन क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुले गरिरहेका छन् । त्यसमा पनि तस्करीमा काठ मिल संचालक र ढुंगागिटी ढुवानीमा संलग्न टिपर संचालकहरुको संलग्नता देखिनुले वन क्षेत्रमा व्यापक चोरी बढेको दाबी गरिएको छ ।

तस्कर समूहले घना जंगलभित्र टिफर प्रवेश गराएर रातिको समयमा सालको काठ चोरी–तस्करी हुने गरेको पाइएको हो ।

सशस्त्र वन सुरक्षा सलकपुरको टोलीले शनिबार बिहान मोरङको सुन्दरहरैंचा नगरपालिका– १ स्थित हरैंचाबाट चोरी गरेर काठ मिलसम्म पु¥याएको २ लाख मूल्य भन्दा बढीको काठ बरामद गरेको थियो । टिपरमा लोड भएको ठूलो परिमाणको सालको काठ बरामद गरेपछि तस्करीमा गिरोह नै संलग्न रहेको रहस्य बाहिरिएको हो ।

सशस्त्र वन सुरक्षाको टोलीले केराबारी गाउँपालिका ९ र सुन्दरहरैंचा नगरपालिकाभित्र पर्ने लोहन्द्रा केराबारी साझेदारी वनबाट चोरी तस्करी भएर आएको पाँच वटा सालको टुना (३८.९ क्यूफिट) मध्यराति १ बजे बरामद गरेको सव डिभिजन वन कार्यालय सलकपुरका सहायक वन अधिकृत लालबहादुर माझीले जानकारी दिए । वन सुरक्षा टोलीले टुना बोकेको को १ ख ४४२८ नम्बरको टिपर र हरैचास्थित नेहा स–मिलका संचालक बिन्धेश्वर साहलाई पक्राउ गरेको थियो ।

तस्करहरुले योजनावद्ध रुपमा वन क्षेत्रबाट स–मिलसम्म काठ तस्करी ल्याएका थिए । तर पूर्व सूचना पाएको वन रक्षकहरुको सुझबुझपूर्ण सुरक्षा रणनीतिका कारण तस्करीमा संलग्नलाई पक्राउ गर्ने सफलता मिलेको थियो । ‘राती जंगलमा टिफर हुलेर काठ चोरी–पैठारी भइरहेको र शुक्रबार राति ९ देखि १० बजेको बिचमा टिपरमा काठ लोड भई वनबाट बाहिरिरहेको विशेष सूचना हामीले पाएका थियौं । हामीले सुरुदेखि नै फलो गर्दै गयौं र मिलमा अनलोड गर्न थालेपछि टिपर र मिल संचालकलाई नियन्त्रणमा लिन सफल भएका छौं,’ वन अधिकृत माझीले भने, ‘टिपर चालक फरार भएका छन् । हामीले खोजीकार्य तीव्र बनाएका छौं ।’ वनको काठ चोरी पैठारीमा संलग्न सबैलाई कारवाहीको दायारमा ल्याउने डिभिजन वन कार्यालय मोरङका प्रमुख डिभिजन वन अधिकृत विष्णुलाल घिमिरेले बताए । ‘अहिले मिल संचालकलाई नियन्त्रणमा लिएका छौं । वनको काठ चोरी–पैठारीमा संलग्न सबै कारवाहीको दायरमा आउनेछन् । अहिले अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘थप अनुसन्धानपछि संलग्न सबै कानुनी फन्दामा पर्नेछन् ।’ मिल संचालक साह पक्राउ परेपछि डिभिजन वन कार्यालयले मिल पनि शिलबन्दी गरी अनुसन्धान अगाडि बढाएको उनले बताए । ‘अनुसन्धानको प्रक्रियाभर यो मिल संचालन हुने छैन,’ उनले भने, ‘अनुसन्धान प्रक्रिया पूरा गरेपछि मात्र मिलको बारेमा आवश्यक निर्णय हुनेछ,’ माझीले भने ।

पक्राउ परेका मिल संचालकलाई डिभिजन वन कार्यालयले वन ऐन अन्गर्तत मुद्दामा म्यादथप गरी अनुसन्धान अगाडि बढाउने जनाएको छ ।

पछिल्लो समय वन रक्षकहरूको अभावका कारण पनि केराबारी, सुन्दरहरैंचा, बेलबारी र कानेपोखरी क्षेत्रको बनबाट काठ तस्करी बढ्दै गएको पाइन्छ । तस्करहरूले काठे मिल र फर्निचर उद्योगसँग मिलेमतो गरेर काठ तस्करी र बिक्री गर्ने गरेको पाइएको छ ।

सव डिभिजन कार्यालयले चोरी तस्करी बढेको जनगुनासो आएको जनाएको छ । सर्वसाधारण नागरिकले नै सम्बन्धित निकायसमक्ष वन क्षेत्रमा काठ तस्करी बढेको गुनासो गरिरहेको र सव डिभिजन वन कार्यालयहरुले त्यस्तो गुनासो बढेको स्वीकार गर्नुले वन क्षेत्रमा पछिल्लो समय तस्करहरुको आँखा लागेको सहज अनुमान गर्न सकिन्छ । राष्ट्रिय सम्पत्तिको रूपमा रहेको वन क्षेत्रको संरक्षणमा सबै लाग्नु पर्ने कार्यालयको भनाइ छ ।

काठ मिल सञ्चालकसँग मिलेर काठ तस्करी भएको यो पहिलो घटना होइन । यसअघि पनि कानेपोखरी गाउँपालिकाभित्र पर्ने सामुदायिक वन क्षेत्रबाट यस्तै विधिबाट काठ चोरी हुने गरेको तथ्य सार्वजनिक भएको थियो । चोरी तस्करी भएर मिलमा पु¥र्याएको काठ अगाडि पनि अन्य मिलहरुबाट बरामद भएको थियो । कानेपोखरी गाउँपालिकाभित्र तीन वटा सामुदायिक वन रहेका छन् । त्यहाँका ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समिति क्षेत्र नं. १, २, र ३ नं. छन् । यी तीन वटै सामुदायिक वनबाट रातको समयमा सालको काठ तस्करी गर्ने गिरोह सक्रिय रहेको पाइएको हो ।

राति ८ बजेपछि र बिहानीपख तस्करी धन्दामा लाग्ने गिरोह चारकोशे जंगलभित्र प्रवेश गरेर सालको काठ तस्करी गरी स्थानीय काठ मिल र फर्निचरमा पुर्याउन सक्रिय हुने गरेका छन् । तस्करहरूले रूख काट्ने, काटेको ठाउँबाट ढुवानी गरी अर्को ठाउँमा पु¥याउने र गन्तब्यसम्म पु¥याउने तीन छुट्टाछुट्टै समूह प्रयोग गर्ने गरेको यस अवधिको अनुसन्धानबाट खुलेको छ ।

यसरी सामुदायिक वनभित्रबाट चोरी भएको ४४ क्यूफिट सालको काठ केही महिना अगाडि बरामद भएको थियो ।

कानेपोखरी ४ र ६ मा पर्ने सामुदायिक वन क्षेत्रबाट सालको काठ चोरी गरी स्थानीय काठ मिलमा बिक्री गरेको सूचनाको आधारमा उपभोक्ता समितिका सदस्य, वनका कर्मचारी र सशस्त्र प्रहरीको टोलीले ४४ क्यूफिट सालको काठ कानेपोखरी ५ र ६ नं. वडाबाट बरामद गरेको हो ।

यसअघि पनि ग्रामीण सुधार सामुदायिक वनबाट चोरी तस्करी भएर गएको काठ उपभोक्ता समिति र प्रहरीले बरामद गरेको थियो ।

सामुदायिक वनको आन्तरिक समस्याका कारण ग्रामीण सुधार वनबाट पाँच वर्षदेखि जंगलभित्र लडेका रूखहरूको घाटगद्दी हुन सकेको छैन । लडेका रूखहरू जंगलभित्र रहँदा चोरी तस्करी धन्दामा पल्किएको समूहको नजर सालको काठमा परेको स्थानीयवासी बताउँछन् । ग्रामीण सुधार सामुदायिक वनभित्र अधिक मात्रामा सालको काठ छ ।

आइतबार, ०३ मंसिर, २०८०, बिहानको ०९:१३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर