सुनसरीको गढी–६ मा जित निकाल्ने दाउमा माओवादी

एमालेकै नेता भन्छन् ‘यहाँ माओवादी चुनौती बनेर आयो’

विराटनगर । सुनसरीको गढी गाउँपालिकाको ६ नम्बर वडामा यहि मंसिर १६ गते वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । गढीका प्रमुख दलहरुले उपनिर्वानको प्रचारलाई तीब्र बनाइरहेका छन् । गढीमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेसलगायतका दलहरु चुनावी प्रतिस्पर्धामा छन् ।

२०७९ साल वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा उक्त वडामा नेकपा एमालेका सदानन्द उराँव झागर विजयी भएका थिए । उनको निधनपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।गएको निर्वाचनको मत परिणामलाई सरसर्ती हेर्दा गढी ६ मा नेकपा एमालेको जनमत तुलनात्मकरुपमा बलियो रहेको देखिन्छ । गत निर्वाचनमा नेकपा एमाले पहिलो, नेकपा माओवादी केन्द्र दोस्रो, नेपाली कांग्रेस तेस्रो, जनता समाजवादी पार्टी नेपाल चौथो, जनमत पार्टी पाँचौं र नेकपा एकीकृत समाजवादी पार्टी १२३ मतका साथ छैठौं स्थानमा थिए ।

एमालेका उम्मेदवारले ७१२ मत प्राप्त गरेका थिए भने नेकपा माओवादी केन्द्रका उम्मेदवार कुशेश्वर खेरवारले ४२४ मत प्राप्त गरेका थिए । नेपाली कांग्रेसका तिलेश्वर चौधरीले ४१६, जसपा नेपालका रामनारायण साहुले ३५६, जनमत पार्टीका राकेश रञ्जन यादवले २२४ मत प्राप्त गरेका थिए ।

साविकको छिटाहा गाविस हाल गढी गाउँपालिका ६ मा हुन लागेको उपनिर्वाचनमा यस पटक ३ हजार ६२२ मतदाताले मतदान गर्ने छन् । मुख्य गरेर झागर, यादव र साहु÷तेली समुदायको बाक्लो बसोबास रहेको गढीमा झाँगर समुदायबाट ११०० भन्दा बढी मतदाता छन् भने यादव समुदायबाट ८६० र साहु तेली समुदायबाट ५५० मतदाता छन् । बाँकी मुसहरलगायत अन्य जाति समुदायको बसोबास छ । त्यस वडाको निर्वाचनमा मुख्य गरेर प्रमुख तीन समुदायको मतले चुनावी परिणामलाई निश्चित गरिदिने स्थानीय जानकारहरु बताउँछन् ।
उपनिर्वाचनका लागि १४ जनाले वडाध्यक्ष पदमा मनोनयन दर्ता गराएकोमा नेकपा एकीकृत समाजवादी र स्वतन्त्र उम्मेदवार बधुलाल सरबरियाले उम्मेदवारी फिर्ता लिएपछि दुई स्वतन्त्रसहित विभिन्न १० राजनीतिक दलका १२ उम्मेदवारहरु मैदानमा छन् । नेपा एमालेबाट सन्तु उराँव, नेकपा माओवादी केन्द्र र जसपा नेपालबाट संयुक्त उम्मेदवार कुशेश्वर खेरवार, नेपाली कांग्रेसबाट तेतर साह, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शशीकुमार साह, जनमत पार्टीबाट सिताराम यादव, राप्रपाबाट कविताकुमारी उराँव, राप्रपा नेपालबाट बच्चालाल अरगरिया यादव उम्मेदवार छन् ।

उम्मेदवार र दलगत आधारमा उपनिर्वाचनको तयारी

झागर समुदायको बलियो उपस्थिति रहेको उक्त वडामा नेकपा एमालेको समग्र संगठन भने खासै बलियो छैन । तर समुदायगत उम्मेदवाका कारण एमालेले गएको निर्वाचन जितेको थियो । गत निर्वाचन परिणामलाई हेर्दा नेकपा एमालेको मुख्य आधार पनि झागर समुदाय नै हो । त्यहि भएर नेकपा एमालेले यस पटक पनि झागर समुदायबाटै वडाध्यक्षको उम्मेदवार अगाडि सारेको छ । नेकपा एमालेको प्रभाव यादव र साहु समुदायमा न्यून देखिन्छ । त्यसैले झागरबाट उम्मेदवारी दिँदा मात्र चुनाव जित्न सकिन्छ भन्ने निश्कर्षमा पुगेर सोही समुदायबाट एमाले सन्तु उराँवलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ । अर्कोतिर नेकपा एमालेलाई उक्त वडामा चुनाव जित्नै पर्ने चुनौती पनि छ । झण्डै २५० भन्दा बढी मतले चुनाव जितेको एमाले जसरी पनि चुनाव जित्ने दाउमा छ । तर उक्त वडामा नेकपा एमालेलाई चुनाव जित्न निकै चुनौती रहेको र बाँकी रहेको चार दिनमा ती चुनौतीहरु पार लगाउन सकेको खण्डमा मात्र चुनाव जित्न सकिने एमालेकै नेताहरु बताउँछन् ।

नेकपा एमाले गढी गाउँपालिका इन्चार्ज चितनारायण खेरवारले २०७९ को जस्तो सहज चुनाव जित्ने अवस्था अहिले नभएको बताए । उनले भने, ‘यसपटक अघिल्लो चुनावको जस्तो सहज अवस्था छैन, धेरै चुनौतीहरु छन्, ती चुनौतीहरु चिर्न सकियो भने एमालेले चुनाव जित्छ नत्र गाह्रो अवस्था देख्दैछु ।’

मुख्यगरेर अघिल्लो वडाध्यक्षको व्यवहारले झागर समुदाय नै नेकपा एमालेप्रति बढी नकारात्मक देखिएको छ । पहिले एकमुख भएर एमालेका सदानन्द उराँव झागरलाई मत दिएका उक्त समुदायका मतदाताहरु अहिले चारतिर फर्किएको स्वयं खेरवार नै स्वीकार्छन् । उनी भन्छन् ‘माथिबाट नेताहरु आएर सम्हाले भने एउटा कुरा हामी यहाँकै नेता कार्यकर्ताबाट उक्त समुदायलाई एक ठाउँमा राख्न सक्ने अवस्था छैन, तर पनि केही दिन बाँकी छ, हामी प्रयत्न गर्दैछौं ।’

एमालेले उक्त वडामा गत निर्वाचनहरुमा स्थानीय समक्ष गरेको बाचा अनुसार केही काम नगरेका कारण यस पटक एमालेको मत निकै घट्ने आशंका स्थानीय एमाले कार्यकर्ताहरुले नै गरिरहेका छन् । यद्यपि नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएर एमाले प्रवेश गरेका कारण उराव समुदायको केही मत आफैंमा रोक्ने प्रयत्न भने एमालेले गरेको छ ।

माओवादी नै चुनौती बन्नसक्छ –एमाले

उक्त वडामा दोस्रो प्रतिस्पर्धीको रुपमा रहेका नेकपा माओवादी केन्द्रका कुशेश्वर खेरवार नै यस पटक पनि उम्मेदवार बनेका छन् । २०५४ सालको स्थानीय तह निर्वाचनमा छिटाहा गाविसको अध्यक्ष भई निरन्तर सामाजिक कार्यमा संलग्न रहेका खेरवार यादव समुदायका परिचित नेता हुन् । अघिल्लो पटक चुनाव नजितेपछि यस पटक उनप्रति स्थानीयको सहानुभूति पनि देखिन्छ । त्यसैले २०७९ सालको निर्वाचनमा ३५६ मतसहित चौथो स्थानमा रहेको जनता समाजवादी पार्टी नेपालले यस उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रसँग चुनावी गठबन्धन गर्दै उम्मेदवारी दिएन । यी दुई दलको मत जोड्दा माओवादी केन्द्रका उम्मेदवारको पक्षमा ७८० मत हुन जान्छ । त्यस्तै नेकपा एकीकृत समाजवादीका उम्मेदवारले पार्टीसँग सल्लाह नगरी व्यक्तिगतरुपमा उम्मेदवारी फिर्ता लिएर एमाले प्रवेश गरेपछि उक्त पार्टीको सुनसरी जिल्ला कमिटीले प्रेस विज्ञप्ति जारी गरेरै माओवादी केन्द्रका उम्मेदवारलाई मतदान गर्ने जनाएको छ । उक्त पार्टीको अधिकांश मतसमेत माओवादी केन्द्रलाई जाने अवस्था रहेकोले उक्त वडामा माओवादी केन्द्र अहिले सबैभन्दा बलियो अवस्थामा रहेको देखिन्छ ।

नेकपा एमालेका उक्त वडाका इन्चार्ज चितनारायण खेरवार पनि यस पटक नेकपा माओवादी केन्द्रसँग नै प्रतिस्पर्धा हुने स्वीकार गर्दछन् । ‘अघिल्लो पटक कांग्रेससँग हाम्रो प्रतिस्पर्धा थियो तर यस पटक कांग्रेसको मत खासै बढ्ने अवस्था छैन जे छ त्यही रहने देखिन्छ तर माओवादी केन्द्रले झागर, यादव, साहु र मुसहर आदि समुदायबाट मत लैजाने अवस्था देखिएकोले माओवादी नै हाम्रो चुनौती बन्न सक्छ ।’

एतिहासिक जित निकाल्छौं–माओवादी

नेकपा माओवादी केन्द्रका उम्मेदवार कुशेश्वर खेरवार यादव यस पटक आफू चुनाव जित्नेमा ढुक्क देखिन्छन् । उनले भने ‘यसपटक मेरो जित निश्चित छ । अघिल्लो पटक नै स्थानीयहरु मेरो पक्षमा थिए तर नेकपा एमालेका नेताहरुको गलत आस्वासनमा परेका कारण जनताले एमाले उम्मेदवारलाई सघाए तर यस पटक उनीहरुले बुझे कि एमालेले जे भन्छ त्यो गर्दैन र चुनाव जितेपछि फर्केर हेर्दैन । त्यो विगत ३० महिनाको अनुभव हो । त्यतिमात्र होइन विजेता उम्मेदवारको व्यवहारबाट पनि जनताले यस पटक माओवादी उम्मेदवारलाई जिताउने खुल्लमखुला भनिरहेका छन् ।’

माओवादी केन्द्रको प्रभाव गढीको उक्त वडामा रहेका सबै समुदायमा देखिन्छ । सबै समुदायमा संगठन पुगेको र भएका उम्मेदवारहरुमध्ये सबैभन्दा प्रभावशाली, इमान्दार र सामाजिक व्यक्ति भएका कारणले पनि चुनाव जित्नेमा माओवादी केन्द्र ढुक्क रहेको कोशी प्रदेशका उपाध्यक्ष शिवकुमार डाँगीले बताए । उनले भने ‘हामी प्रतिस्पर्धी एमाले र कांग्रेस भन्दा धेरै अगाडि छौं, जुन समुदायमा नेकपा एमाले भर परेर बसेको छ उक्त समुदायको मुख्य नेता नै माओवादीसँग छ भने अरु समुदायबाट यस पटक माओवादीलाई जिताउन भरपूर प्रयत्न भइरहेकोले चुनाव जित्नेमा खासै चिन्ता छैन बरु कति फरकमा जित्ने भन्नेमा हामी मिहेनत गरिरहेका छौं ।’

गढी ६ को चुनावलाई प्रभाव पार्न सक्ने झागर समुदायका परिचित नेता रामु उराँव माओवादी केन्द्रको जातीय संगठन उराँव राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष छन् । उराव जातिको उत्थान, भाषा, संस्कृति र पहिचान संरक्षणमा मोर्चाले विभिन्न गतिविधि गर्दै आएको र उनी स्वयं माओवादी केन्द्रका उम्मेदवारलाई जिताउन दिनरात प्रयत्नशील रहेका कारण उराँव समुदायको अधिकांश मत माओवादी केन्द्रमै आउने उनी बताउँछन् । उनले भने ‘जसरी एमालेले उराव समुदायको मत लान्छ र जित्छ भनिएको छ त्यस्तो अवस्था छैन, एमाले पहिचान र समुदायको सांस्कृतिक विकासप्रति नकारात्मक दृष्टिकोण राख्ने पार्टी भएका कारणले हामी उरावहरुको आशा र विश्वास माओवादी केन्द्रसँगै छ र त्यो यस पटकको चुनावी परिणाममा देख्नुहुनेछ ।’
उराव समुदायबाटै अघिल्लो पटक वडाध्यक्ष बनेर पनि बिष्णुलाल उराव । अन्तलाल उरावको घर भत्काएर बिचल्ली बनाउन भूमिका खेलेका कारण त्यहाँका धेरै उम्मेदवारहरु यस पटक एमालेलाई मत नदिने पक्षमा उभिएको स्थानीय अजय उरावले बताए ।

गढी ६ मा जनमत पार्टीले पनि सम्मानजनक मत प्राप्त गर्ने स्थानीयको अनुमान छ । राप्रपा, रास्वपा आदि दलहरुले आफ्नो सामान्य उपस्थिति देखाउन बाहेक प्रतिस्पर्धामा आउने सम्भावना भने न्यून रहेको स्थानीय मतदाताहरुको बुझाइ देखिन्छ ।

बुधबार, १२ मंसिर, २०८१, बिहानको ०८:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर