
गोकुल पराजुली
नेपालका चर्चित टेलिभिजन पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पूर्जी जारी भएको घटनाले नेपालको लोकतन्त्रमा एउटा कालो अध्याय थपेको छ । पछिल्लो यो घटना एउटा प्रश्न गर्ने क्षमता भएका पत्रकारमाथिको आक्रमण मात्र नभएर सम्पूर्ण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथिको देखादेखि गरिएको प्रत्यक्ष हमला हो ।
पाठकले तीन साता अघि आफ्नो युट्युब च्यानलमार्फत हिल्टन होटल र कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरबारे प्रसारण गरेको समाचारको कारणले उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ पूर्जी जारी गरिएको भनिएको छ । जुन घटनाले राज्य शक्तिको चरम दुरुपयोग भएको प्रष्ट देखिन्छ भने सरकार जुनकुनै बेलामा नेपाली प्रेस र पत्रकारहरुमाथि आक्रमण गर्न उद्यत भन्ने संकेत गरिदिएको छ ।
पत्रकारले प्रश्न उठाएकै आधारमा उसलाई पक्राउ गरी कारवाही गर्ने यो कार्यशैली लोकतान्त्रिक मूल्य मान्यताविपरीत छ । पत्रकारले लेखेको समाचार सत्यमा आधारित नभए त्यसका विरुद्ध कारवाही गर्नकै लागि प्रेस काउन्सिल स्थापना गरिएको छ । तर, यस विषयमा उक्त निकायलाई बाइपास गरेर सिधै न्यायालयबाट पक्राउ पूर्जी लिएर कारवाही गर्ने प्रवृत्तिले राज्यको मनसाय र नियतलाई उजागर गरेको मात्र छैन राज्य संचालकहरुमाथि नै प्रश्न खडा गरेको छ ।
प्रधानमन्त्री केपी ओलीको व्यवहारमा देखिएका निरंकुश प्रवृत्तिहरूले यस घटनापछि झन् बढी आशंका गर्नुपर्ने अवस्था सिर्जना गरिदिएको छ । उनी नेतृत्वको सरकारले गरेको यो कामले हामी सम्पूर्ण पत्रकारहरुलाई थप गम्भीर बनाएको छ । संविधानविपरीत पटक पटक संसद विघटन गर्ने, अल्पमतमा पर्दा पनि सत्ता हस्तान्तरण नगर्ने, कानुनविपरीत संवैधानिक पदमा नियुक्ति गर्ने जस्ता कार्यहरूले उनको तानाशाही प्रवृत्तिलाई विगतमै प्रष्ट पारेकै थियो । पछिल्ला दिनमा उनले बोलिरहेको गर उनी नेतृत्वको सरकारबाट भइरहेको काम कारवाहीले उनको मनसाय र शुसुप्त अवस्थामा रहेको नियत टुसाउन थालेको आभाष हुन्छ ।
हालैमात्र प्रधानमन्त्रीले “आलोचनात्मक चेत समाजमा नकारात्मक दृष्टिकोण विकास गर्छ” भनि अभिव्यक्त गरेको वाक्यले उनी नागरिकहरुले गर्ने र गरिरहेका प्रश्नहरूप्रति कति असहिष्णु छन् भन्ने बुझ्न सहयोग गर्छ । यो अभिव्यक्ति आफैंमा लोकतान्त्रिक मूल्यमान्यताविपरीत छ किनभने आलोचना र प्रश्न उठाउनु लोकतन्त्रको मूल आधार हो । त्यसले कमजोरी सच्याउन, शासनलाई जनमैत्री बनाउन सहयोग गर्छ । तर उनलाई त्यस्ता प्रश्नहरु निको लागिरहेको छैन ।
केही समयदेखि प्रधानमन्त्री ओली पत्रकार र सञ्चारमाध्यमहरूसँग आक्रोशित पनि देखिन्छन् । मिडियाले पहिलेजस्तो उनका क्रियाकलापहरूको भजन नगाएर बेथिति र भ्रष्टाचारका विषयहरू उठाइरहेको छ । यसले सरकारलाई भित्रभित्रै पोलिरहेको छ । फलस्वरूप पत्रकारहरूमाथि उनीहरु आक्रोश ओकल्दै हिड्न थालेका छन् । भन्नका लागि त यो विषय प्रधानमन्त्रीलाई थाहा थिएन, उनले निर्देशन दिएको होइन भनेर भनिने नै छ । हिजो माधवकुमार नेपालविरुद्ध मुद्दा चलाउँदा पनि यो भाषा बोलिएकै हो । तर हाम्रो राज्य संयन्त्रहरु कसरी परिचालित हुन्छन् भन्ने बुझ्नका लागि दुई महिनाअघि पार्टी एकीकरण गर्ने दिनमै एउटा पार्टीका अध्यक्ष रेशम चौधरीको पक्राउको घटनालाई सम्झिए पुग्छ । हेर्दा संयोग देखिए पनि कुरा गहिरो छ भनेर आम मानिसहरु सोच्न बाध्य छन् । त्यसैले सुरक्षा निकायले शासकको भाषा बुझेर काम गर्छ भनिएको हो । जुँगा चल्यो कुरा बुझ्यो भन्ने उखान पनि त्यसरी नै प्रतिपादन भएको होला ।
नेपाल पत्रकार महासंघको भूमिका यस घटनामा निराशाजनक छ । प्रेस र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा अडिग भएर उभिनुपर्ने यो संस्था दलीय राजनीतिको छाया बनेको देखिन्छ । पत्रकारलाई जतिसुकै समस्या परे पनि महासंघ उदासीन रहने प्रवृत्तिले यसको प्रभावकारितामाथि प्रश्न खडा गरेको छ ।
यति ठूलो मुद्दा सार्वजनिक हुँदा पनि महासंघको केन्द्रीय नेतृत्वबाट कुनै प्रतिक्रिया नआउनुले यसको संवेदनशीलतामाथि शंका उत्पन्न गरेको छ । यसले महासंघ नेतृत्वमा पुग्नेहरूको मनसाय केवल लाभहानीको आकांक्षा मात्र हो भनेर किन नभन्ने ?
यी सम्पूर्ण घटनाहरू नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रत्यक्ष खतराको सूचक हुन् । प्रेस स्वतन्त्रतामाथिको आक्रमण लोकतन्त्रको गलामा छुरी हान्नु बराबर हो । जब पत्रकारहरूले प्रश्न उठाउन डराउने अवस्था आउँछ, त्यहाँ लोकतन्त्रको मृत्यु हुन्छ ।
यो घटनाहरुले हामी नागरिकहरूलाई हिटलरी शासनको पूर्व चेतावनीविरुद्ध आवाज बोलनका लागि सजग गराएको छ । यदि समयमै यस्ता प्रवृत्तिको विरोध गरिएन भने नेपालमा अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मूल्यमान्यता खतरामा पर्नेछ । राज्यले आफ्ना आलोचकहरूलाई चुप लगाउन कानुनको दुरुपयोग गर्ने यो प्रवृत्ति बढाउँछ ।
अन्त्यमा, दिलभूषण पाठकविरुद्धको यो कारवाही नेपालको लोकतन्त्रमाथिको भद्दा मजाक हो । यस्तो मजाक अब नगरियोस् भन्ने अपेक्षा राख्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सबै लोकतन्त्रप्रेमी नागरिकहरूले एकजुट हुनुपर्छ ।