विराटनगर । विराटनगर–५ बिजुली अफिसअगाडि मोटरसाइकलमा बसिरहेजस्तो देखिने तर, मृत्यु भइसकेका सुदर्शन न्यौपानको हत्या भएको हुनसक्ने आफन्तले आशंका गरेका छन् ।
को ४ प २३१६ नम्बरको मोटरसाईकलमा आज राती ८ः३० बजे विराटनगर–५ मुनालपथका ४८ वर्षीय सुदर्शन न्यौपाने मृत अवस्थामा भेटिएका थिए ।मृतकका भतिजा सन्तोष न्यौपानेले कसैले दुर्घटना गराएर मोटरसाइकल माथि राखिदिएको हुनसक्ने आशङ्का गरे । ‘मृतकको शरिरमा चोटपटक देखिएको छ । उनको कपडा च्यातिएको अवस्था छ । दाहिने हातमा चोट र रगतको टाटा देखिन्छ । पेन्ट पनि च्यातिएको अवस्थामा छ,’ प्रत्यक्षदर्शी सञ्चारकर्मी अनिल श्रेष्ठले भने, ‘आफन्तले हत्याको आशङ्का गरेका छन् ।’
मृतकको एक श्रीमती दुई छोरा र एक छोरी रहेको बुझिएको छ । घटनास्थलमा प्रहरी कार्यालय विराटनगर वडा (क)का डिएसपी दिपक कार्कीसहितको टोली पुगेको छ । घटना विषयमा थप अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ । मुचुल्कापछि मृतकको शव उठाउने तयारी भएको श्रेष्ठले जानकारी दिए । उनका अनुसार स्थानीयको सो स्थानमा ठूलो भीड लागेको छ । घटनास्थलमा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली पनि पुगेका छन् ।

