बेलबारीका ५० स्थानमा फ्रि वाईफाई

मोरङ । कोरोना भाइरसका कारण विद्यार्थीहरुको पठन–पाठनमा असर पुगेपछि मोरङ बेलबारी नगरपालिकाले पठनपाठनलाई सहज बनाउन ५० स्थानमा फ्रि वाईफाई जडान गरेको छ ।

वैकल्पिक विधिबाट पठनपाठन गर्न लागि सहज होस् भन्ने उद्देश्यका साथ एउटा वडामा ४ ठाउँका दरले वाइफाइ जडान गरिएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । फ्रि वाईफाई जडान भएपछि इन्टरनेट पहुँचभन्दा बाहिर रहेका विद्यार्थीलाई पठनपाठनमा सहज हुने नगरपालिकाले विश्वास लिएको छ ।

नगरपालिकाका ५ वटा विद्यालयलाई भर्चुअल कक्षाको हब बनाएर पठनपाठन गरिने नगरपालिका शिक्षा शाखाका प्रमुख भुपेन्द्र कोइरालाले बताए । ५ वटा विद्यालयमा सबै विद्यालयका शिक्षक शिक्षिका भेला भएर अनलाइनको माध्यमबाट सिकाइने कोइरालाको भनाइ छ ।

अनलाइनको पहुँच नपुगेका विद्यार्थीहरुका लागि सियुजि सिम उपलब्ध गराइएको नगर प्रमुख सुवेदीले बताए । ससुवेदीका अनुसार उक्त सिमकार्ड मार्फत एक जना शिक्षकले ६ जना विद्यार्थीलाई एकै पटक पढाउन मिल्ने छ । उक्त सिमको प्रयोगबाट सामान्य खालका मोबाइलबाट समेत पठनपाठन गर्न मिल्ने नगरपालिकाको कार्यालयले जनाएको छ ।

सोमबार, ०४ साउन, २०७८, साँझको ०७:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर