करोडौं राजस्व छल्ने धरानका बाबुछोराविरुद्ध मुद्दा

धरान । करोडौं रुपैयाँ राजश्व छली गरेको अराोपमा सुनसरीको धरानका दुई व्यापारी विरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दर्ता गरेको छ।

विभागले ८ करोड ९४ लाख भन्दा बढीको बिगो असुलउपर गरी जरिवाना र कैद सजायको माग गर्दै उनीहरुविरुद्ध मुद्दा दर्ता गरेको जनाएको छ।

धरान १२ बस्ने ग्लोबल इम्पेक्स इन्टरनेशनलका सञ्चालक किसनकुमार अग्रवाल र उनका बुबा एसएन इन्टरनेशनलका सञ्चालक रामनिवास अग्रवाल छन्। झुट्टा तथा नक्कली मूअकर विजक प्रयोग गरी ४ करोड ४२ लाख ७ हजार ६ सय ७४ रुपैयाँको राजस्व चुहावट गरेको आरोप किसन अग्रवालमाथि विभागले लगाएको छ । यस्तै ४ करोड ५२ लाख ४२ हजार ७ सय ५३ रुपैयाँ राजस्व चुहावट गरेको आरोप रामनिवास अग्रवालमाथि छ ।

विभागले दुबै जनालाई सोही बमोजिम बिगो असुल गरी जरिवाना र कैद मागवादी गर्दै गत आइतबार उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो। मुद्दा दायर गरिएका एसएन इन्टरनेशनलका सञ्चालक रामनिवास अग्रवालको भने निधन भइसकेको छ ।

२०७७ पुस १६ गते धरान १२ मा रहेको अग्रवाल बाबुछोराको राम निवासमा राजश्व अनुसन्धान कार्यालय इटहरीले छापा मारेर सिल गरेको थियो। राजश्व छली भएको सूचना पाएको राजश्व अनुसन्धान कार्यालय इटहरीले आवश्यक कागज, विल विजक माग गरेको थियो। आवश्यक कागज तथा विल विजक देखाउन नसकेपछि उनीहरूले सञ्चालन गरेको हार्डवेयर सिल गरिनुका साथै सोही दिन किसन कुमार अग्रवाल र किसन कुमार अग्रवालका छोरा अग्रिम खेतान अग्रवाललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो।

अग्रवाल बाबुछोराले धरानमा करोडौँ रुपैयाँको कारोबार गर्ने गरेका थिए । धरानमा २० हजार जनाको निजी धारा जडान गर्दा चाहिने पानीको मिटर र पाइप उनीहरुले नै बिक्री गरेका थिए ।

बुधबार, २६ जेठ, २०७८, दिउँसोको १२:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर