दुर्घटनामा मजदुरको मृत्यु प्रकरण

रबिनविरुद्ध सवारी ज्यान मुद्दामा पाँच दिनको म्याद थप, यस्तो हुनसक्छ सजाय

विराटनगर । सवारी ज्यान मुद्दाका आरोपी रोबिन भनिने रबिन कार्की विरूद्ध प्रहरीले ५ दिनको म्याद थप गरि अनुसन्धान सुरू गरेको छ ।

प्रहरीले सोमबार जिल्ला अदालत मोरङबाट ५ दिनको म्याद थप गरि अनुसन्धान सुरु गरेको हो । प्रहरीले ७ दिने म्याद थपको माग गरेपनि अदालतले ५ दिनकोे अनुमति मात्र दिएको हो ।

जेठ २० गते बिहीबार राती साढे ७ बजे कार्कीले चलाएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले दुई पैदलयात्रीलाई ठक्कर दिएको थियो । कारको ठक्करबाट ३५ वर्षीय भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको थियो भने मोरङको कटहरी गाउँपालिका– २ का २७ बर्षीय राजकुमार राजवंशी गम्भीर घाइते भएका थिए । राजवंशीको स्वास्थ्य अवस्थामा अझै सुधार आएको छैन् । उनको देबे्र हात, कुमको जोेर्नी, टाउको, अनुहार र छातीमा गम्भीर चोट लागेको छ । दुर्घटनामा पर्ने मृतक र घाइते विराटनगर–४ स्थित न्यु एभरेष्ट स्टिल उद्योगका कामदार हुन् ।

रबिन भने १ नं. प्रदेशसभा सदस्य बिन्दिया कार्कीका छोरा हुन् । उनले विराटनगर–५ स्थित होटल एडमायरमा मदिरा सेवन गरेर कार चलाएपछि दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले विभिन्न कोटबाट घटनाको सुक्ष्म अनुसन्धान गरिरहेको मोरङ प्रहरीका एस.पी सन्तोष खडकाले बताउनुभयो ।

कसुर पुुष्टि भएपछि यस्तो हुनसक्छ सजाय

रबिनसँग सवारी चालक अनुमति पत्र नभएको दाबी गरिएको छ । लाईसेन्स बेगरै सवारी चलाएर दुर्घटनामा परि कुनै व्यक्तिको मृत्यु भए, सवारी चालक र सवारी धनीमाथि ‘सवारी ज्यान मुद्दा’ दर्ता हुने कानुनी व्यवस्था छ ।

लाइसेन्स नहुने व्यक्तिको हकमा सो मुद्दाको १६१ को दफा २ र दफा ४ आकर्षिक हुने कानुनमा उल्लेख छ । उक्त कसुर पुष्टि भएको खण्डमा सवारी चलाउने व्यक्तिलाई कसूरको मात्रा अनुसार ३ देखि १० वर्षसम्मको कैद र ३० हजारदेखि १ लाख रुपैयाँसम्मको जरिवाना हुन्छ । सवारी चालक अनुमति पत्र नभएको हकमा पनि थप सजायको व्यवस्था छ ।

यस्तै कानुनमा सवारी ज्यान मुद्दाको दफा ४ मा सवारी चालक अनुमतिपत्र नभएका व्यक्तिले सवारी चलाई उपदफा ९१० वा ९२० बमोजिमको कसुर गरेमा निजलाई सोही उपदफा बमोजिम हुने सजायमा २ हजार रुँपैयाको जरिवाना समेत थप हुने व्यवस्था रहेको मोरङ प्रहरीका एस.पी खडकाको भनाई छ ।

यस्तै सोही मुद्दाको दफा ५ मा कुनै सवारीको धनी वा सवारीको जिम्मा लिएको व्यक्तिले सवारी चालक अनुमतिपत्र नभएको व्यक्तिलाई सवारी चलाउन दिई कुनै मानिसलाई किची, ठक्कर लागि वा दुर्घटना भई सो मानिस मर्न गएमा त्यस्तो सवारी चलाउन दिने व्यक्तिलाई २ वर्षसम्म कैद हुने व्यवस्था छ ।

हाल रबिन भने मोरङ प्रहरीको हिरासतमा छन् । प्र्रहरीले आवश्यक परे पुनः म्याद थप गरि घटनाको विस्तृत अनुसन्धान गरि दोषीलाई कारबाही गराई छाड्ने दाबी गरेको छ । थप अनुसन्धानका लागी दोश्रोपटक म्याद थप गर्नुपर्ने भए पहिलोपटक भएको म्याद थपको समयसीमा सकिनु अगावै प्रहरीले प्रतिवादीलाई अदालत उपस्थित गराउनुपर्ने कानुनी व्यवस्था छ ।

प्रहरीले सवारी ज्यान मुद्दाका प्रतिवादीलाई २५ दिनसम्म न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न पाउने व्यवस्था छ । सो अवधिभन्दा अगाडी पनि प्रहरीले अनुसन्धान प्रतिवेदन तयार पारी सरकारी वकीलको कार्यालयमा प्रतिवेदन बुझाउन सक्दछ । प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएपछि सरकारी वकीलको कार्यालयले अदालतमा अभियोग दायर गर्दछ ।

 

सोमबार, २४ जेठ, २०७८, साँझको ०७:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर