प्रदेश ५ का मुख्यमन्त्रीलाई प्रदेश १ का मन्त्रीको जवाफ

विराटनगर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा उत्पन्न विवादको शुक्रबार सम्पन्न स्थायी कमिटि बैठकले किनारा लगाएपनि नेताहरुबीच घोचपेच र दोसारोपण अन्त्य भइकेको छैन ।

नेताहरुको कार्यविभाजन, सरकारलाई पार्टी कमाण्डमा सञ्चालन गर्ने र महाधिवेशनमा जानेगरी बैठकले निर्णय लिएर विभाजनको डिलमा पुगेको नेकपालाई जोगाएको छ ।

बैठक सकिएपछि भने आफ्नो पक्षको अडान सहि रहेको दावी गर्दै अर्को पक्षलाई गलत रहेको सावित गर्ने प्रयासमा नेताहरु उत्रिएका छन् । सामाजिक सञ्जालमा सक्रिय रहने प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले त्यसको सुरुवात गर्नुभएको छ । पोखरेलले सहमति छोडेर प्रचण्ड समिकरणमा जान खोज्दा भएको भन्दै प्रचण्ड–नेपाल पक्षलाई व्यंग्य प्रहार गर्नुभएइको छ ।

पोखरेलले फेसबुकमा लेख्नुभएको ‘दुई पार्टीबीचको एकता समस्या थिएन र होइन । समस्या त सहमति छोडेर समिकरणमा जान खोज्दा भयो । हिजोको वैठकले पुनःएकताको वाटो रोजेको छ ।’ उहाँले प्रचण्ड–नेपाल समूहले समस्या पैदा गरेको भन्दै त्यसको बैठकबाट समाधान भएको दावी गर्नुभएको छ ।

पार्टी स्थायी समिति सदस्य रहेका पोखरेलको स्टाटसमा धेरैले कमेन्ट गरेका छन् । त्यसमध्ये अधिकांशले उहाँलाई प्रदेशको नामाकरण र राजधानी तोक्न नसकी केन्द्रको गुटबन्दीमा मात्र लागेको भन्दै आलोचना गरेका छन् । पोखरेललाई प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले भने फेसबुकबाटै जवाफ फर्काउनुभएको छ ।

पार्टी केन्द्रीय सदस्य आङ्बोले सहअस्तित्व, समानता र निश्चित सहमतिहरुको आधारमा संयुक्त गठबन्धन हुँदै पार्टी एकता भएको स्मरण गर्दै समान भूमिकाको सारथि र सहमति प्रधानमन्त्रीले भुलेको कारण समस्या आएको बताउनुभएको छ । प्रधानमन्त्री पुरानै बाटोमा एक्लै यात्रा गर्दा समस्या आएको भन्दै उहाँले स्थायी समिति बैठकले समस्याको पहिचान र निराकरण गर्दै फेरि पार्टी र एकता प्रक्रियालाई ठिक ठाउँमा ल्याएको बताउनुभएको छ ।

पार्टी निर्णय र सहमतिको दृढतापुर्बक कार्यान्वय गर्दै पार्टी र सरकारलाई गतिशिल बनाउनुपर्नेमा आङ्बोले जोड दिनुभएको छ । उहाँ लेख्नुहुन्छ, ‘कुरा त्यसो होइन कमरेड, सहअस्तित्व, समानता र निश्चित सहमतिहरुको आधारमा संयुक्त गठबन्धन हुँदै पार्टी एकता भएको थियो। समान भूमिकाको सारथि र सहमति भुलेर पुरानै बाटोमा एक्लै यात्रा गर्दा समस्या आएको हो, स्थायी समिति बैठकले समस्याको पहिचान र निराकरण गर्दै फेरि पार्टी र एकता प्रक्रियालाई ठिक ठाउँमा ल्याएको छ। अब निर्णय र सहमतिको दृढतापुर्बक कार्यवन्यन गरौ पार्टी र सरकारलाइ गतिशिल बनाउ ।’

आइतबार, २८ भदौ, २०७७, बिहानको ११:४९ बजे

प्रतिक्रिया

  1. तपाईहरुकाे विचार सुनिरहेकाे छु ।नेत्रित्वमा रहेको कमरेडहरुले सन्तुलित कुरा बाेल्नपर्छ । घाेचपेच र ब्यङ्ग त कलाकारले पाे गर्छन त ।

प्रतिक्रिया:

सम्बन्धित खवर