विराटनगर । विराटनगर महानगरपालिकाको क्वारेन्टाइनमा रहेका १२ जनाको र्यापिड किटबाट कोरोना परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको छ ।
विराटनगर १९ बैजनाथपुरस्थित स्वास्थ्य उपचार केन्द्रको क्वारेन्टाइनमा रहेका शंकास्पद ८ जना र होम क्वारेन्टाइनमा रहेका ४ जनाको रिपोर्ट नेगेटिभ आएको महानगरपालिकाकाले जनाएको छ।
क्वारेन्टाइनमा रहेकाहरुलाई र्यापिड डायग्नोष्टिक टेष्ट गरिएको हो । महानगरपालिकाको जनस्वास्थ्य महाशाखाले निगरानी गर्दैै आएका १२ जनाको नतिजा नेगेटिभ आएको महाशाखा प्रमुख रमेशकुमार कार्कीले जानकारी दिनुभयो ।
रिपोर्ट नेगेटिभ आएपछि १४ दिनको क्वारेन्टाइन बसेका उनीहरुलाई एकसाता घरमै सजग र सुरक्षित रहनेगरि फिर्ता गरिएको छ । महानगरको बैजनाथपुर क्वारेन्टाइनमा रहेका सबै घर फर्किएपछि अब कोही पनि क्वारेन्टाइनमा छैनन् ।
महानगरले गत चैत्रमा विदेशबाट महानगरमा आएका ३ सय १८ जनाको र्यापिड किटबाट कोरोना परीक्षण गर्ने तयारी गरेको छ । महानगरलाई २ सयवटा आरडीटि किट प्राप्त भएको भएपनि पीपीई सेट कम भएकोले परीक्षणमा समस्या भएको स्वास्थय महाशाखाले जनाएको छ ।