दश लाख रुपैयाँ नगदै अदालतमा बुझाएर अञ्जला थुनामुक्त

विराटनगर । मोरङको धनपालथानस्थित उमागौरी सहकारी संस्थाको ठगी प्रकरणमा मुछिएकी सार्वजनिक लेखा समितिकी सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला १० लाख रुपैयाँ नगद नै बुझाएर धरौटीमा थुनामुक्त भएकी छन् ।

गत मंसिर २७ गते सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रूपैयाँ हिनामिना प्रकरणमा दोषी करार गर्दै जिल्ला सरकारी वकिलको कार्यालय मोरङले मुद्दा दायर गरेपछि फरार रहेकी अञ्जला बुधबार अदालतमा उपस्थित भएकी थिइन् ।

जिल्ला अदालतका न्यायाधीश उद्धबप्रसाद भट्टराईको इजलाशमा बयानपछि थुनछेक बहस भएको थियो । इजलाशले १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि उनले नगदै १० लाख रुपैयाँ धरौटी बुझाएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । अदालतको आदेश आउनसाथ अञ्जलाले धरौटी रकम जम्मा गरेकी थिइन् ।

अदालतमा हाजिर हुँदा अञ्जला पूर्वतयारीसहित पुगेकी थिइन् । त्यसैले आदेशलगत्तै उनले आफ्ना सहयोगीमार्फत १० लाख रुपैयाँ नगद नै धरौटी बुझाइन् । अदालतमा उपस्थित हुँदा बर्कोले अनुहार छोपेर पुगेकी अञ्जला धरौटी बुझाएर रिहा भएपछि पनि बर्कोले अनुहार छोपेर बाहिरिएकी थिइन् ।

थुनछेक बहस अगाडि अदालतमा बयान दिँदै अञ्जलाले कुनै दायित्व आफूसँग नरहनेगरि सहकारीको सञ्चालक समितिबाट राजीनामा दिएको तथा सञ्चालक समितिको कुनै पनि माइन्युटमा हस्ताक्षर नगरेको दावी गरेको आदेशमा उल्लेख छ । सहकारीबाट राजीनामा दिँदा कुनै दायित्व नहरनेगरि प्रतिवादी अञ्जालाले राजीनामा दिएकोले थुनामा राखेर पुर्पक्ष गर्नुपर्ने नदेखिएको आदेशमा उल्लेख छ ।

बुधबार विहान कार्यालय समय सुरु भएको केहि समयपछि करिब १०ः३० बजे सहयोगी कानुन व्यवसायीसँगै उनी अदालतमा सुटुक्क हाजिर भएकी थिइन् । लगत्तै अदालतले पेशी तोकेर उनको बयान लियो भने त्यसपछि थुनछेक बहस भयो । मुद्दा दायर गर्ने सरकारी वकिलको कार्यालयका एक जनाले बहस गर्दा अञ्जलाको पक्षमा बहस गर्ने कानुन व्यवसायीको लर्को थियो ।

हदम्याद जारी गरेको २१ दिनसम्म फरार रहेकी अञ्जला उपस्थिति भएलगत्तै अदालतले पेशी तोक्यो । न्यायाधीश उद्धबप्रसाद भट्टराईको इजलाशमा झण्डै २ घण्टा उनको बयान लिइयो ।

अदालतमा दिएको बयानमा अञ्जलाले भने आफू सञ्चालक समिति सदस्य पदमा रहेको र २०७८ माघ १५ गतेको दशौं साधरणसभाले आफूले दिएको राजीनामा स्वीकृत गरी पदमा रही काम गरेको समयमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरु र व्यक्तिहरुसँग भएका वित्तीय कारोबारहरुमा कुनै पनि दायित्व नरहने दाबी गरिन् । साधरणसभाको निर्णयपछि पाएको पत्र देखाउँदै अन्जलाले सहकारीको कुनै निर्णय लगायतका कुनै पनि कागजातमा सहीछाप समेत नगरेको दलिल पेश गरेकी थिइन् ।

बयानलगत्तै थुनछेक बहस सुरु भयो । बहसमा सरकारी वकिलको कार्यालयको तर्फबाट सहायक जिल्ला न्यायाधिवक्ता सुदर्शन निरौलाले बहस गरे । प्रतिवादी अञ्जलाको तर्फबाट भने ९ जना वरिष्ठ अधिवक्ता र ११ जना अधिवक्ताले बहस गरे ।

अञ्जलाको तर्फबाट वरिष्ठ अधिवक्ताहरु चुँडामणि आचार्य, शान्तिराम भण्डारी, रामप्रसाद भण्डारी, डिल्लीबहादुर कार्की, सिताराम राई, रमेश कोइराला, देवीबहादुर घिमिरे, गणेशराज लुइँटेल र हेमराज पन्तले बहस गरे । यस्तै, अधिवक्ताहरु साहस आचार्य, रिता दाहाल, अन्ताज हुसेन, सन्नीकुमार साह, विश्वराम भट्टराई, मुना वस्ती, हरिशंकर मण्डल, कला त्रिताल, रसिकलाल मण्डल, डिल्लीराम घिमिरे र विनोदकुमार तिम्सिनाले पनि उनको पक्षमा बहस गरेका थिए ।

बहसपछि अदालतले गरेको आदेशमा ‘निजलाई हाल थुनामा नै राखी कारबाही गरिरहने पर्ने नदेखिएको भन्दै १० लाख धरौटी लिएर तारेखमा राख्न आदेश दियो । ‘अञ्जला कोइरालाबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ बमोजिम रु. १०,००,०००।– (दश लाख रुपैयाँ) नगद धरौटी वा जेथा जमानत वा बैंक जमानत दिए लिई तारेखमा राख्नु । नदिए सोही कारण जनाई सोही संहिताको दफा ८० बमोजिमको थुनुवा पूर्जी दिई नियमानुसार सिदा खान पाउने गरी मुद्दा पर्पक्षको लागि थुनामा राख्न कारागार कार्यालय मोरङमा पठाईदिनू भनी सोही संहिताको दफा ७९ बमोजिम यो आदेश गरिदिएको छ’ अदालतको आदेशमा उल्लेख छ ।

सो प्रकरणमा धनपालथान–४ का पूर्ववडाध्यक्ष रोशन राजवंशीलाई भने अदालतले पुर्पक्षका लागि जेल चलान गरेको थियो । उनी नेपाली काँग्रेसबाट २०७४ मा वडाध्यक्ष निर्वाचित भएका थिए । सोही मुद्दामा नेकपा एमालेबाट निर्वाचित रंगेली नगरपालिका वडा नम्बर २ का बहालवाला वडाध्यक्ष सन्तलाल खवासलाई भने अदालतले ५ लाख रुपैयाँ धरौटीमा छाडेको थियो ।

सहकारी ठगी प्रकरणमा अध्यक्ष श्यामकुरमार रौनियारसहित २६ जनाविरुद्ध मुद्दा दायर भएकोमा २३ जना अझै फरार छन् । अभियोगपत्र अध्यक्ष रौनियार र सञ्चालक अञ्जलासहित लक्ष्मण साह रौनियार, आलम अनसारी मियाँ, शम्भुप्रसाद सिंह, आमोदकुमार मण्डल, जितमान ठाकुर, विजयकुमार यादव, सुरेन्द्रकुमार राजवंशी, अशोककुमार विश्वास, दिलमाया राई, अञ्जला कोइराला, उपासी राजवंशी, सोनु यादव, मोहम्मद नजाम उद्दिनलाई प्रतिवादी बनाइएको छ । यसैगरी अदालतमा दायर भएको अभियोग पत्रमा चम्पा गिरी, शम्भुप्रसाद सिंह, संतलाल खवास, लक्ष्मीदेवी कार्की राजवंशी, ज्योति बाँस्कोटा, सुमन लोहनी, मित्र प्रसाद सिवाकोटी, सरदराज सिंह, मो नसरुदिन, मनोज कुमार सोनी र यशोदा कुमारी राजवंशी फरार प्रतिवादीमा रहेको उल्लेख छ ।

दायर भएको अभियोग पत्रअनुसार प्रतिवादीहरूले बचतकर्ताहरूले लिने गरेको ऋणमा हेरफेर गरी पूरा ऋण प्रवाह नगरेको उल्लेख छ । उनीहरूलाई बढीमा ८ वर्ष कैद सजाय र हिनामिना भएको बिगो रकम असुल गर्नुपर्ने माग गरिएको छ ।

उमागौरी कृषि सहकारीमा ८ हजार ८ सय ४२ जना शेयर थिए । शेयर बापत ३ करोड ८ लाख ९० हजार रहेको खुलाइएको छ । सहकारीमा ७०७ जना ऋणीहरूका नाममा २४ करोड ३० लाख २२ हजार ८ सय रुपैयाँ ऋण परिचालन भएको उल्लेख छ । सहकारी अहिले बन्द छ ।

बुधबार, २४ पुष, २०८१, साँझको ०५:५५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर