योगेन्द्र मण्डल पार्टीमा जानका लागि मतदातामाझ जनमत संकलन गर्दै

विराटनगर । मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डलले राजनीतिक दलमा जानका लागि मतदातासँग जनमत संकलन शुरू गरेका छन् । उनले आफू कुन पार्टीमा प्रवेश गर्ने भनेर १० वटा राजनीतिक दल र दुईवटा विकल्पसहित सर्वेक्षण गर्न थालेका हुन् ।

उनले जनमत लिनका लागि कागज नै तयार गरेका छन् । जसमा उनले नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी र नागरिक उन्मुक्त पार्टीको नाम राखेका छन् । साथै उनले ११ औँ र १२ औँ नम्बरमा नयाँ पार्टी र अन्यको विकल्प राखेका छन् ।
‘उल्लेखित कुन पार्टीमार्फत तपाईँहरू, देश र जनताको चाहना पूरा हुन्छ भन्दै उनले मतदातालाई प्रश्न गर्ने गरेका छन ? १२ वटा विकल्पमध्ये जनताले कुनै एउटामा टिक लगाउनुपर्ने हुन्छ ।

यसरी आफूले राजनीतिक दलबारे आफ्नो क्षेत्रमा जनताको धारणा बुझिरहेको सांसद मण्डलले बताए । राजनीतिक भविष्य सुरक्षित पार्नका लागि आफ्ना क्षेत्रका मतदातासँग छलफल शुरू गरेको उनको भनाइ छ । ‘म अहिले जनतासँग छलफल गरिरहेको छु, । स्वतन्त्र उम्मेदवार हुँदा मलाई जिताउन लागेका मेरा मतदाता र शुभचिन्तकहरूसँग एक–दुई पटक छलफल गरेको हुँ,’ उनले भने ।

२०७९ को निर्वाचनमा मण्डल नेकपा (एमाले)बाट विद्रोह गरेर ‘चापाकल’ चुनाव चिन्ह लिइ चुनावका उठेका थिए । गत निर्वाचनमा उनले २१ हजार ८२० मत ल्याएका थिए भने उनका निकटम् प्रतिद्धन्द्धी माओवादी केन्द्रका शिवकुमार मण्डलले १७ हजार ४८६ मत पाएका थिए । सो ठाउँमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन हुँदा पनि स्वतन्त्र उम्मेदवार मण्डलले जितेका हुन् ।

मोरङ–५ मा एमाले र जसपा नेपालले चुनावी समीकरण गरेका थिए । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको घर पनि यही क्षेत्रमा पर्छ । यो क्षेत्रमा एमालेले जसपालाई सघाएको हो । जसपालाई सघाउने एमालेको निर्णयको विरोध गर्दै मण्डलले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । उनि त्यति बेला एमाले कोशी प्रदेश कमिटीका सदस्य थिए । चुनाव जितेपछि एमालेले उनलाई कारवाहि गरेको थियो ।

जसपाका राजकुमार यादवले १७ हजार ३९० मत ल्याएका थिए । यस्तै राप्रपाले २ हजार ४७९ जनमतले २ हजार ३९५ मत पाएका थिए । यसैगरी समानुपातिकमा कांग्रेसले २४ हजार ६२९, जसपा नेपालले १२ हजार ७३१, एमालेले ९ हजार ४२८, माओवादी केन्द्रले ७ हजार २२३ र जनमत पार्टीले ३ हजार ६०४ मत ल्याएका थिए । यो क्षेत्रमा जसपा फुटको असर नदेखिएको विश्लेषणसहित मण्डलले छलफल गरिरहेको उनी निकट स्रोतले बताएको छ ।

यस्तै रास्वपाका नेताहरूसँग पनि उनले छलफल गरेको बुझिएको छ । सहकारी प्रकरण आउनुभन्दा अगाडि रास्वपाका तत्कालीन महामन्त्री मुकुल ढकालसहितको टोलीसँग उनले जीवन विकास समाजको कार्यालयमा दुई दिनसम्म छलफल गरेको स्रोतले बतायो । समाजका उनी संस्थापक अध्यक्ष पनि हुन् । हाल सो संस्थामा भने उनकी श्रीमती अध्यक्ष छिन् ।

सांसद मण्डलले हालसम्म दुई–चार सय जना मानिससँग छलफल गरिसकेको जानकारी दिए । जीवन विकास समाजमा धेरै महिला पनि जोडिएकाले उनीहरूसँग पनि छलफल गर्ने उनको भनाइ छ ।‘दुई–चार सय जति मान्छेसँग छलफल भएको छ,’ सांसद मण्डलले भने, ‘अहिले म सुझाव लिने काम गर्दैछु । अब अगुवा महिलाहरूसँग छलफल गरेर अगाडि बढ्छु ।’ आफूले पत्रकारहरूसँग पनि छलफल गरेको उनले बताए ।

नयाँ पार्टी खोल्ने सम्भावनालाई पनि खुला राखिएको मण्डलले बताएका छन् । अहिले भएका पार्टीहरूसँग कुरा नमिले नयाँ खोल्ने विकल्प रहेको उनको भनाइ छ । ‘कुनैमा नगएको अवस्थामा मसँग नयाँ दल खोल्ने विकल्प पनि छ । सबै विकल्प खुला गरेर शुभचिन्तकहरूसँग छलफल गरिएको हो,’ उनले भने ।

मण्डलले आफ्नो आगामी यात्राका सहज होस् भन्ने उद्देश्यले यस्तो सर्वेक्षण गरिएको बताए । यसले जनताको भावना पनि बुझ्न सजिलो भएको उनको भनाइ छ । ‘आफ्नो आगामी यात्राका सहज होस् भन्ने उद्देश्यले यस्तो सर्वेक्षण गरेको हुँ । यसले मतदाताको जनभावना बुझ्ने काम भएको छ,’ उनी भन्छन् ।

सबै सर्वेक्षण आइसकेपछि सार्वजनिक गरिने मण्डलको भनाइ छ । ‘पहिलो र दोस्रो चरणमा छलफल सकिएको छ । तोस्रो चरणमा अगुवा महिला र चौथो चरणमा शिक्षकहरूसँग छलफल गर्छु । आएका छलफलहरूलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्छु,’ उनले भने ।
जसपाले मन्त्री बनाउने आश्वासन दिँदासमेत आफू सो दलमा नगएको मण्डलको दाबी छ । यसर्थ आफू अहिले हतार गरेर कुनै दलमा प्रवेश गरिनहाल्ने, बरु सोचेर र जनताको अभिमत बुझेर निर्णय गर्ने उनको भनाइ छ ।

बुधबार, २३ असोज, २०८१, दिउँसोको ०४:५९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर