राजा फर्काउने प्रसाईको आन्दोलन छाडेर ज्ञानेन्द्र झापा पुग्नुको अर्थ

विराटनगर । व्यवस्था उल्ट्याएर राजतन्त्र फर्काउने भन्दै विवादित व्यवसायी दुर्गा प्रसाईको नेतृत्वमा काठमाडौंमा भइरहेको आन्दोलन बेवास्ता गर्दै पूर्वराजा ज्ञानेन्द्र शाह भने झापा पुगेका छन् ।

प्रसाईंका समर्थकहरू काठमाडौँका सडकमा ‘राजा आऊ, देश बचाऊ’ भनेर आन्दोलनमा रहँदा त्यो आन्दोलनप्रति सहानुभूतिको एउटा सन्देशसमेत जारी नगरी शाह झापा पुगेका हुन् ।

कतिपय राजनीतिक दल र बुद्धिजीवीहरुले प्रसाईको आन्दोलनमा सरकारले दमन गरेको भन्दै उनलाई आन्दोलन गर्न दिनुपर्ने मत व्यक्त गरिरहेका छन् । तर, पूर्वराजा शाहको पनि त्यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया सुनिएको छैन । बरु उनी त्यसलाई वेवास्ताको शैलीमा झापा पुग्नु संयोग मात्र नभएको विश्लेषण गर्न सकिन्छ ।

साह शुक्रबार झापा पुगेका हुन् । उनले आज बिर्तामोडस्थित एक कलेजमा पृथ्वीनारायण शाहको सालिक अनावरण गरे । त्यसअघि राप्रपाको अगुवाइमा झापामा राजतन्त्रको पक्षमा प्रदर्शन भएको थियो ।

झापा आएर धुलाबारीस्थित मेची क्राउन होटलमा बसेका शाहले विर्तामोडको पञ्चकन्यास्थित इकम कलेजमा पुगेर शालिक अनावरण गर्नुअघि राजावादीले प्रदशृन गरेका हुन् । कलेज पुग्नुअघि ७ हजार मोटरसाइकलको र्यालीसहित शाहको स्वागत गरेको राप्रपाले जनाएको छ । पूर्वराजा झापा आउँदा शक्ति प्रदर्शन गर्ने भन्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन एक सातादेखि त्यसकै तयारीमा झापामा थिए । पूर्वराजा ज्ञानेन्द्रका साथमा उनकी छोरी प्रेरणा र धीरेन्द्रका छोरी शीताष्मा पनि छन् ।

पूर्वराजा ज्ञानेन्द्रसँगै दुर्गा प्रसाईंको फोटो बोकेर काठमाडौँमा भेला भएका हजारौँ नागरिकलाई सम्बोधन नगरि शाह झापा आउनुलाई प्रसाईंप्रतिको अविश्वासको रुपमा राप्रपाको नेतृत्वले लिएको छ । गत वर्षको फागुन १ मा यिनै प्रसाईंले ‘नागरिक बचाउ महाअभियान’ झापाबाट सुरु गर्दा उद्घाटन समारोहमा पूर्वराजपरिवार नै मञ्चमा उपस्थित थियो । पूर्वराजा ज्ञानेन्द्र, उनकी पत्नी कोमल र छोरा पारस उपस्थित भएर सुरु गरिएको अभियानको अर्को कार्यक्रम मंसिर ७ को काठमाडौँ प्रदर्शन भनिएपनि त्यसलाई शाहले वेवास्ता गरेका हुन् ।

प्रसाईंले बिहीबारको प्रदर्शनका क्रममा सकेसम्म पूर्वराजा ज्ञानेन्द्रलाई नै मैदानमा उतार्न चाहेका थिए । प्रसाईं निकटस्थहरूका अनुसार आफै उपस्थित हुन नसके ‘एक चिर्कटो सन्देश’ भए पनि दिनुपर्ने उनको अडान थियो । तर, ज्ञानेन्द्र शाहले उनको आग्रह र अपेक्षाको वास्ता गरेनन् ।

आफ्ना समर्थकले लाठी–मुंग्री खाँदा पनि मौन बसेका शाह राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाको कार्यक्रममा सहभागी हुन झापा पुगेपछि प्रसाईं बेचैन बनेका छन् । प्रसाईं र लिङ्देनबीच को ठूलो राजावादी हुने भन्ने अघोषित प्रतिस्पर्धा छ ।

फागुन १ मा पूर्वराजपरिवारलाई मञ्चमा राखेर प्रसाईंले अभियानको उद्घाटन गरेपछि त्यसको केही दिनमै इलाम पुगेर लिङ्देनले कडा टिप्पणी गरेका थिए । लिङ्देनले प्रसाईंको नामै लिएर ‘बैंकको ब्याज नतिर्ने, ऋण नतिर्ने अहिले त्यसले राजा ल्याइदिन्छ, हिन्दु राष्ट्र ल्याइदिन्छ भनेर मान्छे कुद्छन्’ भन्दै प्रसाईप्रति रोस व्यक्त गरेका थिए ।

प्रसाईंले पनि लिङ्देनलाई ‘ओलीको असली धर्मपुत्र’ भएकाले उसले राजतन्त्र नल्याउने जवाफ फर्काएका थिए । ‘केपी ओलीले जे भन्यो त्यही गर्नुहुन्छ उहाँ, राजा ल्याउने भन्यो, गणतन्त्रमा गएर मन्त्री खाइहाल्यो । त्यस्ताको विश्वास गर्नुहुन्न’ उनले भनेका थिए ।

राजा फर्काउने एउटै उद्देश्य भएपनि प्रसाईंको काठमाडौँ प्रदर्शनलाई राप्रपाले औपचारिकरूपमा समर्थन गरेन । केही नेताले अभियानमा समर्थन गर्नुपर्छ र पार्टी सहभागी हुनुपर्छ भन्दा पनि अध्यक्ष लिङ्देनले वास्ता गरेनन् । बरु उनी उस्तै प्रकारको अर्को कार्यक्रमको तयारीका लागि झापा हान्निए । रवीन्द्र मिश्र, ज्ञानेन्द्र शाहीलगायतले व्यक्तिगत रुपमा मात्र सहभागिता जनाए ।

बिहीबार बल्खुको प्रसाई नेतृत्वको प्रदर्शन अनियन्त्रित हुँदा प्रहरी र युवा संघका कार्यकर्तासँग झडप भएको थियो । त्यसपछि शुक्रबार तीनकुनेमा प्रदर्शन गर्ने प्रसाईले घोषणा गरेको भएपनि अनुमति नलिएको भन्दै प्रशासनले उनलाई प्रदर्शन गर्न दिएन । तीन दिनसम्म गर्ने भनिएको कार्यक्रम लगभग पहिलो दिनमै तुहिएको बेला लिङ्देनले झापामा प्रदर्शन गरे ।

पूर्वराजा ज्ञानेन्द्रले प्रसाईंको अभियानबाट पार लाग्दैन भन्ने निष्कर्ष निकालेकोले उनको आन्दोलनलाई वेवास्ता गरेको स्रोतको दावी छ । प्रसाईको विवादास्पद व्यक्तित्व र छविले पनि आफ्नो महत्वकांक्षा पुरा नहुनेमा पूर्वराजा सचेत रहेको स्रोत बताउँछ ।

हाल जनतामा व्याप्त निराशा र शासकीय अक्षमताको लाभ आफूलाई हुनसक्छ भन्ने अपेक्षा भने पूर्वराजाको रहेको बताइन्छ । तर, आफ्नै विवादित विगत र भरपर्दो सहयोगी नभएको कारण उनी कसरी अगाडि बढ्ने भन्ने निक्र्यौल गर्न नसकेको अवस्थामा देखिन्छन् ।

शनिबार, ०९ मंसिर, २०८०, बिहानको ११:१२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर