अपांगता भएकाहरुलाई राहत वितरण

विराटनगर । गत चैत्र ११ गतेबाट जारी लकडाउनका कारण दैनिक छाक टार्न गाह्रो भएका विराटनगरका अशक्त नागरिकहरुलाई राहत प्रदान गरिएको छ ।

विराटनगरस्थित गुराँस पुस्तकालयका अध्यक्ष एवं युवा समाजसेवी दिपक चापाँगाईको नेतृत्वमा उनीहरुलाई राहत प्रदान गरिएको हो ।

अन्य समय जोगबनीबाट ह्वील चेयरमा उपभोग्य वस्तु खरिद गरि विराटनगरका खुद्रा पसले तथा व्यापारीहरुलाई बिक्री गरेर गुजारा चलाउने उनीहरुलाई लकडाउनले प्रभावित बनाएपछि राहत वितरण गरिएको हो । जारी लकडाउन कारण विराटनगर महानगरपालिकाद्धारा वितरण गरिएको राहत पनि सकिएपछि विराटनगरका ९ जना अशक्तहरुलाई राहत प्रदान गरिएको समाजसेवी दिपक चापाँगाईले बताउनुभयो ।

शारिरिक रुपमा अशक्त नागरिकहरुलाई २० केजी चामल, ३ केजी दाल, १ प्याकेट नुन, आधा लिटर तेल र मास्कलगायतका सामाग्रीहरु वितरण गरिएको थियो । महानगरपालिकाको राहत वितरणमा प्रदान गरिएको खाद्यान्न सामाग्रीको तुलनामा समाजसेवी चापागाँईले प्रदान गर्नुभएको खाद्यान्न सामाग्रीहरु गुणस्तरीय भएको उनीहरुले बताएका छन् ।

सोमबार, १५ बैशाख, २०७७, दिउँसोको ०४:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर