फोहरबाट मोहर बनाउन सिकाउँदै राई

विराटनगर । विचारको लडाइँमा एक्लै उभिनु त्यति सहज पक्कै हुँदैन तर विचारलाई अभियानमा ढालेर निरन्तर अघि बढाइरहनु महत्वपूर्ण पाटो हो ।

घरबाट निस्किएको फोहोर व्यवस्थापन र कौसी खेतीको अभियानमा होमिएकी विराटनगर–११ की मधु राई आफ्ना विचारहरु लेखमार्फत पनि पोख्ने गर्छिन् ।

सामाजिक विषयमा कलम चलाउँदै आइरहेकी मधु पेशाले शिक्षिका हुन् । घरैमा विद्यालय सञ्चालन गरेकी उनले विद्यार्थीलाई किताबी ज्ञानसँगै व्यावहारिक शिक्षा पनि दिँदै आइरहेकी छिन् ।

वातावरण प्रदूषणले गाँजेको शहरमा वातावरण संरक्षण अभियानमा लागेकी उनले मनै लोभ्याउने कौसी खेतीमात्र गरेकी छैनन्, आफ्नो घर र विद्यालयबाट निस्कने फोहोर पनि आफ्नै ढंगले व्यवस्थापन गर्दै आइरहेकी छन् ।
विषादीमुक्त तरकारी खानुपर्छ भन्ने विचारले एउटा अभियानको जन्म भएको बताउने उनी आफू बसेको छिमेकमा आफैँले सिकाएका धेरै जनाले कौसी खेती गर्न सुरु गरेको बताउँछिन् ।

भान्साबाट निस्किने फोहोर बन्छ मल

भान्साबाट निस्किएको फोहोर उनी न प्लाष्टिकको पोका बनाएर नहरमा फाल्छिन् न महानगरको गाडीमा नै हाल्छिन् । फोहोर व्यवस्थापनका लागि उनले भान्सामा दुई प्रकारको फोहोर फाल्ने भाँडा राख्ने गरेको सुनाउँछिन् । ‘मेरो भान्सामा दुईवटा बाल्टिन राख्ने गरेकी छु । एउटा पाकेको र अर्को काँचो,’ उनी भन्छिन्, ‘पाकेकोमा पाकेको खानेकुरा र काँचोमा सब्जीका बोक्रा फलफूलका बोक्रा कलेक्सन गर्ने गरेकी छु।’

पाकेको फोहोरलाई माटोमा मिसाएर मलिलो माटो बनाएर बोटबिरुवामा हाल्ने गरेको र हरियो फोहोर ‘डाइरेक्ट’ बोटबिरुवामा हाल्ने गरेको उनी सुनाउँछिन् । घरबाट निस्किने फोहोर व्यवस्थापन गर्न सके वातावरण प्रदूषण हुनबाट जोगिने उनको बुझाइ छ ।

भातभान्साबाट निस्किने फोहोर सदुपयोग गर्न नसके आसपासको वातावरण फोहोर हुन्छ तर यसको सदुपयोग कौसी खेतीमा नै हुने गर्दा लाभ दुवैतर्फ हुने उनी बताउँछिन् ।

यो प्रविधिका विषयमा तीनै तहको सरकारले चासो राखे वातावरण पनि जोगाउन सकिने र अर्गानिक सब्जी उपभोग गर्न सकिने उनको भनाइ छ ।

कौसी बाँझो नराखौँ भन्ने अभियानमा लागेकी उनी घरको फोहोर मल बनाएर त्यही कौसी खेतीमा प्रयोग गर्दा वातावरण प्रदूषण हुनबाट पनि जोगिने तर्क राख्छिन् ।

पुस्तकबिनाको शुक्रबार

विद्यालयबाट निस्किने कागजसमेत उनले हप्तामा एकदिन विद्यार्थीहरुलाई प्रयोगशालाको रुपमा सिक्न दिने गरेकी छन् । विद्यालयबाट निस्किएको कागजहरु पानी प्रयोग गरेर कलमदानी बनाउने गरेको उनको भनाइ छ ।

यसले विद्यार्थीहरुका लागि पनि सिकाइको विषय हुने र विद्यालय पनि वातावरणमैत्री हुने उनी बताउँछिन् । कपीको पानाबाट बनेको कलमदानी पेन्सिलहरु राख्न प्रयोग गर्न सकिने उनको भनाइ छ ।

त्यसो त उनले पेन्सिलबाट निस्किएको फोहोरलाई कपीको पानामा सुन्दर फूलको आकार दिएर ‘आर्ट’ गर्न विद्यार्थीहरुलाई सिकाउँदै आइरहेकी छन् । शिक्षा केवल पुस्तकको मात्रै नभएर व्यावहारिक पनि हुनुपर्नेमा जोड दिने उनी यो अभियान एकदिन सफल हुनेमा ढुक्क रहेको बताउँछिन् ।

बिहिबार, ०८ कार्तिक, २०८१, दिउँसोको ०१:१२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर