विराटनगर । कोशी प्रदेशसभाको शुक्रबारको बैठक डेढ महिना पछि बसेको थियो । बैठकमा सांसदहरुले शून्य समय लिएर जनताका आवाज बोल्ने प्रयास गरे । तर, दलहरुले भने विशेष समय लिएरै संसदको आयु घट्न सक्ने संकेत गरे । अर्थात् उनीहरुले प्रदेशसभा विघटनको संकेत गरे ।
नेकपा एमालेका कोशी प्रदेशसभा सांसद राम राना मगरले त प्रदेशसभाको आयु ५÷७ महिना मात्रै हुनसक्ने पनि बताए । उनले प्रदेशसभा छिट्टै विघटन हुनसक्ने संकेत गरेका थिए । ‘हाम्रो आयु लामो छैन । ५÷७ महिना होला,’ आफ्नै आयु कम हुने आत्मविश्वासका साथ उनले भनिरहेका थिए । अझै उनले थपे, ‘यो प्रदेशको स्थायीत्वतर्फ गम्भीर ध्यान दिन सकिएन भने हाम्रो आयु मात्रै होइन प्रदेश संरचनाकै आयु लामो छैन ।’
उनले मात्रै होइन प्रदेशसभामा अध्यादेशबाट बजेट अस्वीकृत गरियोस् भन्ने प्रस्ताव फिर्ता लिन पुगेका काँग्रेसका सांसद भुपेन्द्र राईले पनि त्यही संकेत गरे । ‘म सबैलाई अनुरोध गर्न चाहन्छु । अब हामीले प्रदेशको जिम्मेवारी निर्वाह गर्दै गर्दा जति जबर्जस्ती गर्यौं गर्यौं । अब नगरौं । अब यहाँभित्र ख्याल ठट्टा गर्ने विषयहरु बाँकी रहेन । त्यो न सत्तापक्षलाई न प्रतिपक्षलाई मौका छ,’ उनले भने, ‘अब ख्याल ठट्टा गर्नुभनेको र जबर्जस्ती गर्नु भनेको प्रदेशसभाको काल निम्त्याउनु मात्रै हो । प्रदेशसभाको अन्त्य गर्न खोज्नु मात्रै हो ।’
उनले सबै जिम्मेवार भएको खण्डमा मात्रै प्रदेशसभाले ५ वर्षको पूरा अवधि विताउन पाउने पनि बताए । ‘अब सत्तापक्ष पनि र प्रतिपक्ष पनि उत्तिकै जिम्मेवार बन्नुपर्छ । त्यसो भयो भने मात्रै प्रदेशसभालाई ५ वर्ष पुरा आयु लम्ब्याउन सक्छौं । र नागरिकले चाहेको समृद्धि दिन कोशिस गर्न सक्छौं,’ उनले भने ।
दुवै सांसदको कुरालाई संकेत गर्दै मुख्यमन्त्री उद्धब थापाले पनि यस्तै भयको संकेत गरे । ‘उहाँहरुबाट पनि स्पष्ट कुरा आएको छ । प्रदेशमा गठबन्धनको सरकार भन्दा पनि सहमतीय सरकार बनाएर जानुपर्छ भन्ने उहाँहरुको कुरा हो । प्रदेशभित्रको राजनीतिलाई स्थिरता बनाएर जाने भन्ने हाम्रो कुरा हो,’ उनले प्रतिपक्षी दल एमालेतिर संकेत गर्दै भने, ‘यदि त्यो गर्न सकेनौं भने प्रदेशका माननीयहरुको आयु घट्ने देखिन्छ ।’
दल, सांसद र मुख्यमन्त्रीसम्मले प्रदेशसभाको आयुको विषयमा कुरा गरिरहँदा उनीहरुमा गम्भीरता भन्दा ‘देखावटी भय’ सिर्जना गरेर सत्ता टिकाउने दाउ देखिन्छ । यसअघिका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पनि विश्वासको मत लिने सन्दर्भमा यस्तै ‘भय’को कुरा गरेका थिए । उनले आफूलाई विश्वासको मत दिए त्यो संकट टर्न सक्ने बताएका थिए । तर, उनले विश्वासको मत पाएनन् । अहिले गठबन्धन दलका तर्फबाट मुख्यमन्त्री बनेका थापालाई पनि विश्वासको मत लिनुपर्ने आवश्यकता छ । उनीहरुले त्यही कुरालाई मध्यनजर गर्दै विपक्षीले सहयोग गरे वा विश्वासको मत दिए आयु बढ्ने बताउँछन् । दुवैको स्वार्थी कुराले साँच्चै प्रदेशसभा विघटनको डिलमा नभएको भने होइन । किनकी प्रदेशसभामा सत्ता गठबन्धन र विपक्षी गठबन्धनलाई प्राप्त मत नै यस्तै छ ।
कोशी प्रदेशमा सत्ता गठबन्धन र विपक्षीले एक अर्काको सम्भावित कदमलाई लिएर काउन्टर जवाफ दिने तयारीमा छन् । विपक्षी एमाले उपसभामुखलाई राजीनामा गराएर प्रदेशसभाध्यक्ष सत्तापक्षलाई नै जिम्मा दिने दाउमा छ । सत्तापक्ष भने उक्त जिम्मेवारी पन्छाउने उपायाको खोजीमा छ । सोही उपाया अनुसार गठबन्धनले काँग्रेस सांसद तथा प्रदेशसभाका जेष्ठ सदस्य गयानन्द मण्डललाई राज्यमन्त्रीमा नियुक्ति गरिसकेको छ । त्यसो हुँदा पनि एमालेले आफ्ना जेष्ठ सदस्यजति सबै सांसदलाई अनुपस्थित गराउने रणनीति बनाएको स्रोतको दाबी छ ।
कोशी प्रदेशमा एमालेको ४०, कांग्रेसको २९, माओवादी केन्द्रको १३, राप्रपाको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ सांसद गरी ९३ सांसद छन् । बहुमतका लागि कम्तीमा ४७ सांसद आवश्यक पर्छ । एमाले र राप्रपा एकातिर हुँदा पनि ४६ र इतर दलका सबै सांसद जोड्दा ४७ सांसद छन् । काँग्रेस, माओवादी, नेकपा एस र जसपा सम्मिलित गठनबन्धनले उद्धब थापाको नेतृत्वमा सरकार बनाएको छ । उक्त सरकारले भदौ १३ गतेभित्र विश्वासको मत लिनुपर्नेछ । विश्वासको मत लिने समयमा प्रदेशसभाको सभाध्यक्ष सत्ता गठबन्धनले गर्नुपर्ने परिस्थिति निर्माण भएको अवस्थामा भने बहुमत (४७) पुर्याउन १ सांसद अभाव देखिन्छ । यही रस्साकस्सीले प्रदेशसभाको आयु छोटिनसक्नेतर्फ दल तथा सांसदहरु जानकार भएपनि गम्भीरताका साथ त्यसलाई छल्न छलफलमा भने जुटेका छैनन् ।