विराटनगर । कोशीको प्रदेशसभामा सत्तारूढ गठबन्धनले दर्ता गरेको बजेट सम्बन्धि अध्यादेश अस्विकार सम्बन्धि सुचना फिर्ता भएसगै अध्यादेश प्रदेशसभाबाट स्वीकृत भएको छ ।
गत जेठ ३२ गते तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशमार्फत बजेट ल्याएका थिए । उक्त अध्यादेश असार १४ गते संसदमा पेश भएको थियो ।
अध्यादेशबाट आएको बजेट अस्विकारका लागि कांग्रेसले छुट्टै माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले संयुक्त रुपमा अस्विकारको प्रस्ताव दर्ता गरेका थिए । शुक्रबार बसेको प्रदेशसभा बैठकमा सत्तारुढ दुवै दलले बजेट सम्बन्धि अध्यादेश अस्विकारको प्रस्ताव फिर्ता लिएका हुन् ।
काङ्ग्रेसका तर्फबाट प्रमुख सचेतक भुपेन्द्र राई र माओवादी केन्द्रका सांसद नारायण बुर्जामगरले प्रदेशको समिकरण र परिस्थिति बदलिएका कारण अस्विकारको प्रस्ताव फिर्ता लिएको बताए ।अध्यादेश अस्विकारको प्रस्ताव फिर्ता भएपछि प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बाबुराम गौतमले बजेट सम्बन्धि दुई अध्यादेश संसदमा पेश गरेका थिए ।
मन्त्री गौतमले पेश गरेको `प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश´ र `आर्थिक बर्ष २०८०/८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम बिनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश´ स्वीकार गरियोस् भन्ने प्रस्तावलाई प्रदेशसभाले सर्बसम्मत रुपमा स्वीकृत गरेको छ ।
संसदमा अब अध्यादेशलाई यथाबत वा संसोधित रुपमा प्रतिस्थापन गर्ने दुई विधेयक सरकारले प्रदेशसभामा पेश गर्नेछ । भदै १० सम्ममा ती बिधेयक पास भैसक्नुपर्नेछ ।