काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनको अभियान रोक्न आफूमाथि घेराबन्दी र धम्की दिन खोजिएको बताएका छन् ।
गोरखामा आज आयोजित एक कार्यक्रममा श्रेष्ठले ठग, तस्कर र भ्रष्टाचारीका संरक्षकहरुले सरकारलाई अप्ठेरोमा पार्न खोजेको गुनासो गरे ।
मन्त्रीलाई धम्की दिएर, पख्लास् भनेर, घेराबन्दीमा राख्ने प्रयास भएको भएपनि उनीहरुको प्रयास सफल नहुने श्रेष्ठले बताए । ‘हामी पदका लागि गएका होइनौं, देश र जनताको सेवा गर्न गएका हौं’ उनले भने, ‘जुन दिनसम्म सरकारमा रहन्छौं, सुशासनको अभियान रोकिन्न ।’
सरकारको अभियानलाई भाँजो हाल्न सकिन्छ भनेर तस्कर तथा भ्रष्टाचारीका संरक्षकहरूले तैँ चुप मैँ चुप गर्न खोजेको भन्दै गृहमन्त्री श्रेष्ठले अब त्यो सम्भव नरहेको बताए । सरकार छाड्न तयार रहेको तर सुशासनको अभियानमा सम्झौता नगर्ने उनले स्पष्ट पारे ।