विराटनगर । लगातारको झरीले धमिलिएको र उर्लेर आएको खोला बेतोडले बगिरहेको छ । जब खोला बढ्छ, वयस्कहरुले पनि खोला तर्न खुट्टा कमाउँछन् ।
बर्खामा हरदमजसो बाढी उर्लिरहने यो खोला जोखिमपूर्ण ढंगले पार गरेर कलिला नानीबाबुहरु स्कुल आउजाउ गरिरहेका छन् । खोलामाथि राखिएको सिञ्चाइको पाइप टेकेर स्कुल आउजाउ गर्ने कलिला स्कुलेहरुको यस्तो जोखिमयात्रा वर्षौंदेखि जारी छ ।
यो दृश्यको वर्णनले तपाइँलाई कुनै दुर्गम ठाउँको सम्झना गरायो भने त्यो गलत सावित हुनेछ । मुलुककै सुगम मध्येमा पर्ने मोरङ जिल्लाको बेलबारी नगरपालिकाभित्रको यो दृश्यले जो कोहीको मुटु काँप्न सक्छ । तल उर्लिरहेको खोला अनि माथि पाइपमा हात र खुट्टाले टेकेर वारपार गर्नुपर्ने बाध्यता बालबालिकाका लागि सकसपूर्ण बनेको छ ।
बेलबारी नगरपालिका वडा नम्बर ५ र ६ को सिमाना हुँदै बग्ने केसलिया खोलामा पुल नहुँदा वर्षायाममा विद्यार्थीदेखि सर्वसाधारणसम्म जोखिम मोलेरै खोला तर्न बाध्य छन् । नहरबाट सिञ्चाइका लागि राखिएको पाइप मार्फत विद्यार्थी तर्ने गरेका छन् । नहरबाट खेतीका लागि लगेको पाइपबाट ज्यान जोखिममा राखेर उनीहरू तर्ने गरेका छन् ।
बेलबारी वडा नम्बर ५ का ८० जना भन्दा बढी विद्यार्थी जोखिम मोलेर बेलबारी ६ को वीरेन्द्र माध्यमिक विद्यालयमा पढ्न जाने गरेका छन् । ज्यान नै जोखिममा राखेर विद्यार्थी विद्यालय आउने गरेको वीरेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक तीर्थबहादुर राईले बताए । ‘चिप्लेर नानीहरू खोलामा पसे भने बाँच्ने सम्भावना छैन,’ प्रधानाध्यापक राईले भने ‘तर अहिलेसम्म कुनै दुर्घटना भएको छैन ।’ पानी नपरेको बेला भने उनीहरु खोलावाटै वारपार गर्छन् ।
बेलबारी ५ को मोहनडाँगी तथा मटीयारी लगायतका टोलबाट वीरेन्द्र माध्यमिक विद्यालयमा पढ्ने जाने गरेका छन । यहाँका विद्यार्थी कक्षा ६ देखि वीरेन्द्रमा पढ्न जाने गरेका छन । आधारभूतदेखि ५ कक्षा सम्म भने जनता आधारभूत विद्यालयमा पढ्ने गर्छन । जनता आधारभूत भने वडा नम्बर ५ मै पर्छ । उनीहरूलाई सजिलो बाटो विद्यालयसम्म पुग्न दैनिक डेढ घण्टा जति बढी हिँड्नु पर्ने प्रअ राईले बताए ।
चुरेको फेदी हुँदै बग्ने केसलिया खोला पहाडमा पानी पर्नासाथ बढ्ने गर्छ । लोहन्द्रा खोलामा मिसिने सबैभन्दा ठूलो खोला हो केसलिया । बेलबारी हुँदै बग्ने ठूलो खोला हो लोहन्द्रा । स्थानीय बासिन्दाले प्रत्येक वर्ष जस्तो बाँस तथा काठहरू राखेर तर्ने अस्थायी पुल बनाए पनि खोला बढ्नासाथ बगाउने गरेको छ । ‘हुलाकी राजमार्गले बजेट छुट्टाएको छ भनेर अन्यत्रबाट बजेट पनि आउँदैन,’ बेलबारी नगरपालिका वडा नम्बर ६ का पूर्व वडा अध्यक्ष उदयबहादुर राईले भने ‘त्यहाँ व्यवस्थित पुल पनि बन्दैन ।’
वडा अध्यक्ष हुँदा स्थानीय बासिन्दाले श्रमदान गरेको र आफूले विद्यार्थीलाई सहज रुपमा हिँडडुल गर्नका लागि चाहिने बोरा, काठ तथा बाँस,तार लगायतका सामाग्री उपलब्ध गराएको बताए । दुई पटक आफ्नो कार्यकालमा अस्थायी पुल बनाउन सामाग्री दिएको उनले बताए । चुनाव आउनसाथ पुल अभाव देख्ने नेताहरु चुनाव जितेपछि भने नदेखेको जसरी हिँड्ने गरेको स्थानीयको भनाइ छ ।
एकपटक मात्र होइन हरेक वर्ष बर्खा लागेपछि बालबालिका र स्थानीयबासीले यस्तै नियति भोग्नुपरेको लामो समय भइसकेको छ । हुलाकी राजमार्गले काम गरिरहेको भनेर जनप्रतिनिधि तर्कने गरेको स्थानीय बासिन्दाको आरोप छ । ‘हुलाकी मार्ग कहिले बन्ने, त्यसपछि पुल कहिले । यो त अति भयो । मेयर,उपमेयर, वडाध्यक्ष र वडा सदस्यहरूलाई यो विषयमा अलिकति दया माया छ भने एकपटक त्यहाँ गएर अवलोकन गरी दिनुहुन अनुरोध गर्दछु’ स्थानीय मिलन लिम्बुले भने ।’ पक्की पुल नभए झोलुङ्गे पुल भए पनि हालिदिन स्थानीय बासिन्दाले अनुरोध गरेका छन् ।