विराटनगर ।कुनैबेला थियो पहाडबाट पढ्नकै लागि भनेर विद्यार्थी तराई झर्थे । स्कूल र कलेज नहुँदा धेरै विद्यार्थी तराईका सहरमा थुप्रिन्थे । तर, अहिले समय फेरिएको छ । पढ्नकै लागि भनेर तराईका विद्यार्थी पहाड उक्लिने क्रम बढेको छ ।
गतवर्ष एसईईमा ‘ए’ ग्रेड ल्याएपछि सप्तरीको शम्भुनाथ नगरपालिका–४ का देवेन्द्र साहले आफ्ना बाबुसँग सिभिल इन्जिनियर पढने इच्छा राखे । पाँचथरको कुम्यायक गाउँपालिका–२ यासोकको सिद्ध मावि तिङदेनमा शिक्षण पेसामा आबद्ध बाबु चतुर्नारायणले छोराको इच्छा त पूरा गरिदिने भए तर सर्तसहित ।
पहाडमै बसेर शिक्षण गरिरहेका उनले ताप्लेजुङको सिनाम माविमा गएर पढ्न सुझाए । चतुर्नारायणले कम खर्चमै पढ्न सकिने र उस्तै परे गाउँपालिकाले दिने छात्रवृत्ति पनि पाइने भएकाले छोरालाई सिनाममै भर्ना गरिदिए । मधेसका देवेन्द्र पहाडको सिनाममा पाँचथर फिदिमका सौरभ ढुंगानासँग एउटै कोठामा बसेर पढिरहेका छन् ।
मोरङको लेटाङ नगरपालिका–९ जाँतेकी प्रशंसा खड्कालाई सिनाममा भर्ना भएर पढ्दाका सुरुवाती दिनमा घर कहाँ भनेर कसैले सोधिहाल्यो भने संकोच लाग्थ्यो । उनले मोरङ भन्नेबित्तिकै साथीभाइले भन्थे, ‘आम्मै मधेसबाट किन पहाड आएको ?’ सिनाम माविबाट १२ पास गरेकी उनी अब स्नातक सकेर मात्रै पहाड छाड्ने सुरमा छिन् ।
सदरमुकाम फुङलिङबाट करिब ६५ किलोमिटर दूरीमा रहेको सिनाम बहुमुखी क्याम्पस तथा सिनाम नमुना माविले पछिल्ला वर्षहरूमा तराई मधेसका विद्यार्थी पनि आकर्षित गरिरहेको छ । पहाडका विद्यार्थी पढ्नलाई तराई झर्ने पुरानो चलन तोड्दै यतिबेला मधेसका विद्यार्थी सिनामतिर उक्लिरहेका छन् ।
प्रधानाध्यापक महेन्द्रप्रकाश गौतमका अनुसार यहाँ प्रदेश १ का १४ मध्ये १३ जिल्लाका विद्यार्थी पढाइका लागि आएका छन् । अहिलेसम्म ओखलढुंगाबाट आएका छैनन् । प्रदेशबाहिर सिरहा, सप्तरी, रौतहट र महोत्तरीका विद्यार्थी पनि छन । प्रशासन शाखासमेत हेर्ने विद्यालयका शिक्षक तुलसी पोख्रेलका अनुसार बाहिर जिल्लाका विद्यार्थी दुईदेखि २१ जनासम्म छन् । यहाँ प्राविधिकतर्फ तीनवर्षे डिप्लोमा इन एग्रिकल्चर र डिप्लोमा इन सिभिल इन्जिनियरिङ पढाइ हुने गरेको छ ।
प्रधानाध्यापक गौतमका अनुसार तराईबाट आउने विद्यार्थी पहिला पहाडतिर शिक्षण पेसा वा कुनै रोजगारी गरेका व्यक्तिका छोराछोरी र आफन्त धेरै छन् । बिहान र दिउँसो गरी कक्षा व्यवस्थापन गरिएकाले प्राविधिक विषय पढ्नेले अरु विषय पनि पढ्न पाउँछन् । बाहिरका विद्यार्थी आउनुको कारण एकैपटक प्राविधिक र अन्य विषय पढ्न पाउने भएकाले हो । ‘प्राविधिक र नियमित विषयको कक्षा समय फरक बनाएका छौं,’ पोख्रेलले भने, ‘प्राविधिक पढ्नेले नियमित विषय पनि पढ्न पाउँछ, उनीहरूको कोर्स पूरा गर्न र सहज बनाउन विशेष कोचिङ कक्षाको पनि व्यवस्था गरेका छौं ।’
विद्यालयले कोचिङ कक्षाको शुल्क लिँदैन । प्राविधिक विषयको पढाइ सक्दा ११ देखि सुरु गर्नेले १२ र माथिल्लो कक्षाको भए स्नातक पनि सँगसँगैजसो उत्तीर्ण गर्ने पोख्रेलले बताए । गौतमका अनुसार यहाँको विद्यालय प्रशासनले छात्रवृत्ति दिलाउनका लागि सहजीकरण गर्ने गरेको छ । दुई वर्ष यता कृषिका २९ र सिभिल इन्जिनियरिङका १८ गरी ४७ जनाले कोर्स सकिँदा ५० हजारका दरले छात्रवृत्ति पाएका छन् । विपन्न लक्षित कार्यक्रमका २६ ले ४८ हजारका दरले पाएका छन । यो गाउँपालिका मार्फत पाउने छात्रवृत्ति हो ।
सिनाममा २०७४ वाट तराईका विद्यार्थी आउन थालेका हुन । ०७४÷७५ मा आईएसईएजी ०७७÷७८ मा सिभिल इन्जिनियर आएपछि तराईवाट विद्यार्थी आउन थालेको तथ्यांकमा उल्लेख छ । १८ महिने सिभिल इञ्जिनियरिङ र जेटिएको पढाई यहाँ ३२ हजार पाँच सय रुपैंयाँमा पुरा हुन्छ । ११ र १२ का सबै विद्यार्थीको शुल्क गाउँपालिकाले तिरिदिन्छ । निवर्तमान पालिका अध्यक्ष टीका गुरुङका अनुसार आधारभूत तहको ५ कक्षासम्मका सबै विद्यार्थीलाई मासिक २ हजारका दरले गाउँपालिकाले छात्रवृत्ति दिन्छ । यो सुविधा भने पालिकाभरिका सबै विद्यार्थीले पाउँछन् । यही क्याम्पसमा पढ्ने दलित र विपन्न विद्यार्थीले स्नातक तहको शुल्क पनि गाउँपालिकाबाट पाउँछन् । विपन्नका लागि निश्चित मापदण्ड बनाइएको छ ।
बाहिर जिल्लाबाट आएका र पालिकाका आधा विद्यार्थी संख्या यही विद्यालयमा भएपछि गाउँपालिकाले तीन सय विद्यार्थी अट्ने छात्रवास निर्माण सुरु गरेको छ । पालिकाले ६ करोड बजेट छुट्याएर ठेक्कामार्फत काम गरिरहेको निवर्तमान पालिका अध्यक्ष गुरुङ बताउँछन् । भारतीय दूतावासले ३० कोठाको दुईवटा भवन बनाइदिएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष उर्मिला थेबे विद्यार्थीलाई मार पर्ने गरी कसैले पनि डेरा भाडा लिन नपाउने गाउँमा नियम नै बनाइएको बताउँछिन् । एउटा कोठाको बढीमा मासिक पाँच सय रुपैयाँभन्दा बढी नलिने सहमति भएको छ ।